बिद्या निर्दोष पहाडी

यहाँ खेतको खोजीमा खेताला लाग्छ 

र डेराको खोजिमा डेरावाला लाग्छ 


हामीले भने संजीवनी बुटी सम्झीयौं 

जुन भासणले यो देशमा पखाला लाग्छ 


आज हजुरको घाँटीको मालालाई के बुझौं 

राष्ट्रिय दिवसमा सालिकमा माला लाग्छ 


आउनुस हजुरले पनि कुल्चेर जानुस 

ज जसलाई यो छाती रंगशाला लाग्छ 


~ बिद्या निर्दोष पहाडी ~

Bidhya Nirdosh Pahadi

विनायक अधिकारी

सुत्नु अघि र उठ्नु अघि ओखती चाहिन्छ 

उनलाई श्रीमान अनि मलाई श्रीमती चाहिन्छ


तपाईहरुले गलत बुझ्नु हुन्छ मलाई थाहा छ 

अनुहार हेरेरै भन्न सक्छु कसलाई कति चाहिन्छ  


~ विनायक अधिकारी  ~

Binayak Adhikari


सिद्धि विनायक अधिकारी

Australia

उपेन्द्रबहादुर 'जिगर'

 दिल फगत् मैले चढाए थेँ नजर होला भनी

यो दरदले त्यो दर्दमा क्यै असर होला भनी ।


निर्दयी झैँ झन् हृदय टुकडा गर्यौस तरवारले

थाहा थिएन दर्दले तडपी हृदय रोला भनी।


एक म छु कि जुल्म सब हाँसी हाँसी सहिरहेछु

एक तिमी छौ कि दया गरछौ दगा होला भनी ।


एक म छु कि नजरको आँसु पनी साँचिरहेछु

एक तिमी माया बगाउने विरहको खोला बनी ।


फूलको काँढा पनि भमराको निम्ति चिज छ

छैन दृष्टि यो नजरमा विरहले छोला भनी ।


आँसु तक हुन्न निगाह हेर मेरो दुर्भाग्य यो

आँसुको जलले ‘जिगर’को विरह क्यै धोला भनी ।


~ उपेन्द्रबहादुर 'जिगर' ~

Upendra Bahadur Jigar



उपेन्द्रबहादुर 'जिगर'

‘एक सय एक गजल’ (वि.सं. १९९६)

बहादुर सिंह बराल

गोर्खाली नाउँ हेर बद्नाम होई नजाओस 

पुर्खा को यो फुलबारी मसान होई नजाओस 


कौन जातिको हामि कस्तो भई रहनु पर्छ 

बिर्सेर आफ्नो गौरब अन्जान होई नजाओस 


बराल छ यस्तो जाली मित्र लाई दिन्छ गालि 

गोर्खाली चाल छाडी बदनाम होई नजाओस 


~ बहादुर सिंह बराल ~

Bahadur Singh Baral

 

बहादुर सिंह बराल

जन्म: १८९० अप्रिल २७ हिमान्चल प्रदेश, भारत 

बरालको आँसु (गीत, गजल, र भजन संग्रह, सन् १९३४)

सदाब हलवाई

चमन चमन सुमनहरु फुलाउँदै अघि बढौं 

उठौं तरुण मनहरु हँसाउदै अघि बढौ 


महानगर या उपमहानगर गली शहर शहर 

यो देशलाई स्वर्ग झैं सजाउँदै अघि बढौं 


~ सदाब हलवाई ~ 

Sadab Halwai

Nepalganj

मुना बोहोरा

तिमि भन्छौ सिन्दुर चुरा गाजल ल्याउने 

म भन्दैछु जिन्दगिमा फेरबदल ल्याउने 


के कमि छ के कुरा गर्नु छ ए जमाना 

के जरुरि पर्यो म जस्तो पागल ल्याउने 


सम्पति देखाएर अन्तिम कोशिस गरि हेरौं  

मुर्दा घरका लासहरुमा हलचल ल्याउने 


~ मुना बोहोरा ~ 

Muna Bohora


हरि गिरी

सिमाना बनायो आफ्नै परिधि बनायो 

उसले घर घेरेर आफैंलाई कैदी बनायो 


बिग्रेको कुरा कति मिठो हुने रहेछ 

साथिले बिग्रेको दुध बाट रसबरी बनायो 


दुखमा सबै भन्दा बाँसले दिने रहेछ 

फेदले लास बोक्यो टुप्पोले मुरली बनायो 


जिन्दगि के हो भनि सोधिएको प्रश्न पत्र 

उत्तर कर्ता ले जला एर सबै खरानी बनायो

 

लडाकुले शत्रुको खुट्टा भाँचेको बन्दुकलाइ 

आफ्नो खुट्टा भाँचीए पछि बैसाखी बनायो 


~ हरि गिरी ~

Hari Giri


सुधा शाही

दिल जलाई जलाई लेखि रहेछ 

एउटा चिट्टी मलाई लेखि रहेछ 


स्वतन्त्रता र समानताका कुरा 

उ सरकारलाई लेखि रहेछ 


आफ्नै घरमा आगो लगाएर 

बाहिर भाई भाई लेखि रहेछ 


शब्दहरुले अघाएको हुनु पर्छ 

कबि खाँदै नखाई लेखि रहेछ 


~ डा. सुधा शाही ~ 

Dr. Sudha Shahi

नबराज सुब्बा

तिमीलाई मायाँ गर्दा म त रित्तो प्याला बनेंछु 

हराई जाने बाटोमा म त बन्द ताला बनेछु 


~ डा. नबराज सुब्बा ~ 

Dr. Nawaraj Subba

ज्ञानु विद्रोही

बिछाएर आँखा म पर्खि रहेछु 

भन्यौ तिमीले र म फर्की रहेछु 


कतै भोकमा छु कतै शोकमा छु 

हिजो भन्दा झन् आज चर्की रहेछु 


शिरानी छ साथि म झस्कन्छु राती 

ओभना छन् आँखा म दर्की रहेछु 

चलेकै छ मनमा उही भुँईचालो 

छु एक्लै शहरमा र थर्कि रहेछु 


~ ज्ञानु विद्रोही  ~

Gyanu Bidrohi

हुकुम धड्कन

ए जिन्दगी तिमी पिर नगर त्यसरी हुँदैन 

यो बादलले पनि आकाशलाई नछोडी हुँदैन 


तिमी म भित्र छौ भन्नु मिथ्या हो भ्रम हो 

ऐनाको भित्र पट्टि को हुन्छ कोही हुँदैन 


हजुरको धर्म काट्नु हो काट्न नछोड्नु 

हाम्रो गर्धन थाप्ने बानि छ नथापि हुँदैन 


चुडाल्नु पर्ने त दाम्लो हो बाँचेरै चुँडालिन्छ 

तिमीले चाहे जस्तो आजादी मरे पनि हुँदैन 


~ हुकुम धड्कन  ~

Hukum Dhadkan

सुरेश सुबेदी

तिमी आँसु गाना गबेलीहरुमा 

बग्यौ छलकिंदै परेलीहरुमा 


यही झुपडीमा म बस्ने छु एक्लै 

तिमी हाँस्नु आफ्ना हवेलीहरुमा  


~ सुरेश सुबेदी ~

Suresh Subedi



अनाम मण्डली

त्रुपक

मुसफिर थें मुसफिर छु मुसफिर भै रहन्छु म 

तिमि बस्नु सँधै थिर भै र अस्थिर भै रहन्छु म 


तिमि हुन्छ्यौ हराएकि कहीं टाढा मायाँ भन्दै 

यता तिम्रो नयन बस्ने त तस्बिर भै रहन्छु म 


~ त्रुपक ~

Trupak

केशब भट्टराई

म देख्दै छु उनको सबारी हुँदैछ 

मेरै मुटु चोर्ने तयारी हुँदैछ 


जहाँ चाह्यो उनको त्यहीं छुन सक्छ 

अहो यो हावा अत्याचारी हुँदैछ 


न हाँस्ने छ आज्ञा न रुने इजाजत 
यति सम्मको खबरदारी हुँदैछ 

जुधेथ्यो नजर लाग्छ बर्षौं पहिले 
अचेल पो यो मान्छे बिमारी हुँदैछ 

 ~ केशब भट्टराई ~
Keshab Bhattarai

कविराज भट्ट

अहो प्यार धेरै गरेछौ चरामा 

बसालेर नानाथरि पिंजरामा 


तिमी को कहाँ के भनि कोहि नसोध्नु 

कथा लेख्छु साथि कुटोले गह्रामा  


 ~ कविराज भट्ट बिलौना ~

Kabiraj Bhatta Bilauna

बरुण लामिछाने

फूल बेचेर मन्दिर अघि जल बेचेर 

कोहि बाँची रहेछ जवानी पल पल बेचेर 


वहाँ आज वातावरणको बिज्ञ हुनु भएछ 

हिजो अस्ति हिन्नु हुन्थ्यो बनजंगल बेचेर 


तपाईं उधारो खाए पछि तिर्न कहिले नजान्ने 

बिचरा साउजी किन नहिनोस त पसल बेचेर 


 ~ बरुण लामिछाने  ~

Barun Lamichhane

भुवन निस्तेज

भयो आगो टिपी हाल्ने झुलो जस्तै 

गजल कस्तो बना यौ बारुलो जस्तै 


कडा क्वामित हरुलाई नपच्ने भो 

कुरो कोमल बनाऊ जाउलो जस्तै 


ठुला हात्ती हरुको त्रास जंगल मा 

भुवन सानो छ सानो किर्मुलो जस्तै 


चुह्यो रे श्रोत साधन बीच बाटो मै 

व्यवस्था मा कतै होला दुलो जस्तै 


सँधै एउटै गुनासो श्रीमती ज्यु को 

चुलो कहिले हुने होला चुलो जस्तै 


~ भुवन बोहोरा निस्तेज ~
Bhuwan Bohora Nistej

मुक्त उदास

दुख नभाको पिर नभाको मान्छे को छ र 

जन्मिदै खुशी लिएर आको मान्छे को  छ र 


जति भए पनि पुग्दै नपुग्ने रैछ आमा 

धन सम्पतिले अघाको मान्छे को छ र 


~ मुक्त उदास  ~

Mukta Udas

गणेश गौतम

छिमेकीले अन्तरिक्षमा यान पठाउँछ 

मेरो देशले खाडीमा जवान पठाउँछ 


बिहे पछि भर्खर विदेश गएको छोरोले 

आमा बिर्सन्छ श्रीमतीलाई समान पठाउँछ 


~ गणेश गौतम ~

Ganesh Gautam

Australia

गणेश भट्ट अणु

जस हुँदो हो अपजस हुँदो हो 

त्यसैले यति धेरै बहस हुँदो हो 


हर बिदामा बच्चाले यस्तो ठान्छ 

आज पनि कुनै बिबश हुँदो हो  


 ~ गणेश भट्ट अणु ~

Ganesh Bhatta Anu

राम बहादुर पहाडी

मनमा फुराउ भाका जुराउ, मेरो गजल यो गाऊ है प्रिय 

खै फेरी भेट होला नहोला, दिएर चिनो जाउ है प्रिय 


देख्छु म एक्लै सबलाई त्यहाँ, एक म आएँ एक्लै छु यहाँ 

न त रुख एउटा न छन् चरा नै, आँगन मेरो सजाउ है प्रिय 


भन्छन सबैले माथि छ स्वर्ग, आकाश मात्रै देख्छु म माथि 

जहाँ छ नेपाल स्वर्ग त्यहीं छ, देशको किरिया खाउ है प्रिय 


ढुंगाको इश्वर बोल्यो कहिले, मन्दिरको ढोका खोलो कहिले 

उपदेश दिने त पण्डित धेरै छन्, खुशी खबर सुनाउ है प्रिय 


आउँ कसोरि तिम्रो बिहामा, कसले पठायो निम्तो मलाई 

निम्तो त एकदिन आउँछ अबस्य, मेरो मलामी आउ है प्रिय 


~ राम बहादुर पहाडी ~

 Ram Bahadur Pahadi


लोकेश जलन

बा आज चप्पल किनी दिनु पर्छ चप्पल छैन 

बाबु पैसा यत्ति हो साँझ खाने चामल छैन 


हाम्रो प्रेमको भबिश्य बाणी कसरि गरौँ प्रिय 

मलाई आफ्नै जिन्दगिको त अड्कल छैन 


तिर्थ जाने इच्छा नगर्नुस हजुर आमा 

आज भोलि देबस्थल जस्तो देबस्थल छैन 


हाम्रो गरि खाने भाँडो त्यै आरन त्यै घन हो  

म सँग सिप छैन बाको पाखुरीमा बल छैन 


~ लोकेश जलन  ~

Lokesh Jalan

डिल्ली प्रसाद छत्कुली

उ हिटलरको छोरो हो खुन सँग खेल्छ 

कानुनको पहरेदार कानुन सँग खेल्छ 


परिवारको खुशी देख्न विदेश हिँडेको हो 

दिनमा सुर्य त रातमा जुन सँग खेल्छ 


~ डिल्ली प्रसाद छत्कुली भाबुक ~

Dilli Prasad Chhatkuli Bhabuk

बाबु त्रिपाठी

साहुजी नुन मसला तेल कम कम राखी दिनुस 

घरमा बच्चाहरु छन् सिसा कलम राखी दिनुस 


दुख देखे मात्र पनि उसले दुख बुझ्नेछ 

उसको अगाडी दुखको अल्बम राखी दिनुस 


मेरो देश छैन भनेर युवाहरु बरालिए 

तेरो देश छँदै छ भनेर यहाँ भ्रम राखी दिनुस

 

भगवान छन् भने देखि भगवानलाई भन्नु छ 

गरिबको झुपडीमा पनि कदम राखी दिनुस 

***

कुनै ग्यारेन्टी छैन यो बिरामी अस्पताल पुग्छ 

एम्बुलेन्स भन्दा अगाडी दौडेर काल पुग्छ 


लोग्ने स्वास्नीको झगडामा पुगेको त ठिकै हो 

घाट जस्तो पवित्र ठाउँमा पनि दलाल पुग्छ 


~ बाबु त्रिपाठी ~

Babu Tripthi


बाबू त्रिपाठी

बा (२०६६),

शालिकहरुको देश (२०६९), 

कैफियत संयुक्त संग्रह (२०७०), 

कैफियत-२(२०७३)

कृष्णहरि बराल

मान्छेहरूको आफ्नै चाहना खराब छ

भन्न त भन्दछन् सब जमाना खराब छ


तीर हुन् की हुन् ती दृष्टि यो छातीमा गढ्दछन्

देख्दै छु आँखाहरू कै निशाना खराब छ


बाहिर हेर्दा एउटा भित्र छ अर्कै रूप

बुझ्नै छ गार्हो गार्हो बहाना खराब छ


शंका छ पिरतीमा शंका जता जतै 

मिलौं सकिन्न मिल्न सिमाना खराब छ 


~ कृष्णहरि बराल ~ 

Krishnahari Baral

डा. कृष्णहरि बराल 

Dr. Krishnahari Baral

गजल: सिध्दान्त र परम्परा (२०६५)

मिलन नाविक

छापिन्छन् मनका भावना मानौ समाचार हुन्
मान्छेका अनुहार अनुहार होइनन् अखबार हुन्

मान्छे बनें कि म पनि यस्तो चाहना राख्छु
कोही नहुन आफ्नो अघि, पछि हजार हुन्

भित्ताले हैन बिश्वासले घरलाई घर बनाउँछ
गरिबका झुपडी हुन् या राजाका दरबार हुन्

पसिनाले मात्र बन्दैन गजल आँसु नै चुहिनुपर्छ
मेरा गजल मेरा कहाँ हुन् उनकै उपहार हुन्

~ मिलन नाविक ~
Milan Nabik

 

मिलन लम्साल 'नाविक' 

Milan Lamsal Nabik

झापा, दमक 

हाल: एरिजोना, अमेरिका

संलग्नता: नेपालीगजल.कम 


थप गजलहरु 

गजल १

यो यात्रा हो, बाटाहरु सोधिंदै खोजिंदै जान्छन 
जोडिने जोडिंदै जान्छन, छोडिने छोडिंदै जान्छन

दुश्मनले कसैलाई हाम्रो यो भेद सुनाएर पठायो 
थोरै माया देखाए पुग्छ, मिलनहरु पोखिदै जान्छन 

लाग्छ उनको अनुहार मै पनि एउटा स्पिड ब्रेकर छ 
जो जो जान्छन छेउ बाट, सबै रोकिदै जान्छन 

मदिराको मात हुनु पर्छ अनि उनको साथ् हुनुपर्छ 
बोल्नु हुने नहुने कुरा, सबै बोलिंदै जान्छन

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल २ 

दुःख त सहनु नै छ, अरु सबैले सहे जस्तो
तर देखिनु पनि छ, दुःखनै नभए जस्तो

म यत्ति मै खुशी छु, कम्तिमा जीवन त छ
तिमी सोध्छौ जिन्दगी किन भएन सोचे जस्तो

मेरो भरोसाको ईज्जत तिमीले यसरी राखेको छौ-
तिमी साथ हुँदा लाग्छ साथ कोही नभए जस्तो

परेलीमा अडिएको छ तिम्रो नामको आँसु
कर्कलाको पात माथि शित जमे जस्तो

सम्मोहन होस यस्तो कि दुश्मनकै पनि वाह भनौं
मेरो अँगालोमा तिमीलाई उसैको याद आए जस्तो

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ३ 

हुन त उ सँग फ़िर्केर बोल्ने पनि मन छैन 
तर लडाईं नै गर्ने आफ्नो परिस्थिति झन छैन 

मैले कुनै बाध्यताले आफ्नो स्वरुप बदलेको हुँ
भित्रै बाट हेर ममा कुनै परिबर्तन छैन 

तिमी जस्तो देखिनछौ, उस्तै भनेको हुँ तिमीलाई 
हाम्रो तिर धेरै भूमिका बाँध्ने चलन छैन 

शुभचिन्तक, साथीभाई, आफ्ना सारा छन् तिमीसंग 
फेरी केको गुनासो गर्छौ कि साथमा मिलन छैन 


~ मिलन नाविक ~
Milan Nabik

नरेन्द्र बिहानी

परदेशीले पठायो सिर्फ बाडुली घरमा 

रुपियाँ पठाऊछ भन्थे घरमुली घरमा 


दाईजोमा के के आयो पछि थाहा होला 

भर्खरै भित्रि एकि छन बेहुली घरमा 


छन त घर छेउ मै बिजुलीको पोल छ 

तर पनि बलेको छैन बिजुली घरमा 


धुरीमा चढे पछि यस्तो आभाष हुन्छ 

मेरो पनि रहेछ एउटा हिमचुली घरमा

 

हजार सबाल सोधेर हैरान बनाउछन् 

बच्चा हरुले देख्नै हुन्न माऊसुली घरमा 


~ नरेन्द्र बिहानी ~

Narendra Bihani

नरेन्द्र बिहानी

सुदुर पश्चिम 

कैफियत२ संयुक्त गजलसंग्रह

उदाएका कलमहरू -सयुक्त गजलसंग्रह २०६९

प्रवासका अक्षरहरू २०७१

प्रदीप रोदन

मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ 

कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ 


अरु कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने

मैले कुखुरा छोडेको देखेर, मकै सुकाएको छ !


केही नखाईकन कस्ले काम गर्छ र यहाँ ?

तिम्रो मायाले पनि त मेरो मुटु खाएको छ !


सोच्नै नसक्ने ठाउँमा हुँदो रहेछ खुशी पनि

उसले घरको चाबी जुत्तामा भेटाएको छ !!


~ प्रदीप रोदन ~

Pradip Rodan


प्रदीप पाण्डे
गोरखा

प्रकाशित कृति:
मफलर (२०७९)

पुरस्कार:
छायाँदेवी–चेतनाथ गजल पुरस्कार (मफलर)

उद्धब मिशन

सुखका अबसरहरु जिवनमा पलपल हुदैनन्।
काफलको रूखमा बाह्रैमास काफल हुदैनन्।

पसलमा झुन्ड्याएका सल डोरी भैदिन्छन्।
किन घाँटीमा बेरिएका डोरी सल हुदैनन्।

जग हल्लाएर जानेलाई यत्ति कुरा भन्न मन छ।
पहाडहरु भत्किदैमा बाटाहरु समथल हुदैनन्।

बग्न त बग्छन प्रेममा कैयौं प्रेमी प्रेमीकाहरु।
जति बगे तापनि आमा जति तरल हुदैनन्।

जुनको पर्खाइमा बस्दाबस्दै बिहान भैसक्यो।
एकोहोरिएका आँखा किन हलचल हुदैनन्?


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

बरु सकिन्छ धार लगाएको छुरा गर्धनमा राख्न 

तिमि फुटेको शिशा रैछौ सकिन धड्कनमा राख्न 


क्रिम पाउडरको बजारमा दौडी रहेछ यो दुनियाँ 

चालिस कटेको मुहारलाई बचपनमा राख्न 


~ उद्धब मिशन ~

Uddhab Mission


उद्धब ओड

बुढिनन्दा १, बाजुरा 

हाल:- युएई

जनक रसिक

उज्यालोमा उज्यालो नै छरेको कत्ति मिल्दैन 

यी फूलले फूल कै चर्चा गरको कत्ति मिल्दैन  


नदी हरदम बगेकै छ हावा हरदम चलेकै छ 

तिमीले बन्द छन् बाटा भनेको कत्ति मिल्दैन 


~ जनक रसिक ~

Janak Rasik

धनगडी 

संगीता थापा

जवाफ आएन सबाल खेर गयो 

ऊ तिम्रो प्रेममा पागल बनेर गयो 


रुन त रोएको हो त्यो मैन घरि घरि 

कस्तो हो उसको आँसु जमेर गयो 


हामीले साँटेको रुमाल जस्तै भो 

हाम्रो सम्बन्ध पनि फाटेर गयो 


~ संगीता थापा ~

Sangita Thapa

दिनेश राज पुरी

थाहा छैन म हिडेको बाटो कता छ 

काँडामा पैताला धारमा गला छ 


कस्तो नशा छ मदिरामा त्यो हिसाब छोड 

कसैको एउटै तस्बिरमा त्यति नशा छ 


नदेखाऊ सपना आकाशमा गुडको 

चरीलाई जिन्दगि हाँगा मै मजा छ 


बिन्ति मेरी प्रियाको मन नाच्यातिदिनु 

त्यहाँ मेरो आधा जिन्दगिको कथा छ 


~ दिनेश राज पुरी ~

(Dinesh Raj Puri)

बसन्त ओली बसन्ती

हाँसो म बाट खोसी पिडा फरार हुन्छ 

यस्तै भएर यो दिल जहिल्यै बिमार हुन्छ 


एउटा जवान ढल्दा सब सकिए नसोच्नु 

यो बीरको मुलुक हो अर्को तयार हुन्छ 


वर्षा गरि नजरको दिल भित्र पस्न सक्छौ 

एकै छिटाले मेरो रातो मुहार हुन्छ 


बर्षौं पछाडी आयौ किरिया बसेको बेला 

तनले नछोए के भो आँखाले प्यार हुन्छ 


बदनाम गर्नु पहिले एउटा उपाय सोचे 

बन्दि बनाए मात्र छोरो कुमार हुन्छ 


गोर्खेको खुन छ मेरो पुरै नशा नशामा 

गिद्दे नजरले हेर्ने उल्टै शिकार हुन्छ 


छाला निकाल मेरो आमाको सल बनाउ 

टुक्रा बचे नफाल्नु बाको ईजार हुन्छ 


~ बसन्त ओली बसन्ती ~

Basanta Oli Basanti


छायाँदेवी–चेतनाथ गजल पुरस्कार: २०७८ (वसन्त ओली वसन्ती – बोई)

कृष्ण प्रसाद अर्याल

उसले निदाउनुको मजा सुनाई रह्यो 

श्रोता भने पल पल निदाई रह्यो 


विदेश गएको छोराले अझै पनि 

चिट्ठी पठाए न पैसा पठाई रह्यो 


आमाले बुच्चे कानले सुनी रहिन 

रेडियो सुनको बिज्ञापन बजाई रह्यो 


~ कृष्ण प्रसाद अर्याल ~ 

Krishna prasad Aryal

निरज भट्टराई

सिङ्गै आकाश पिंजडामा राख चरा रमाउदैन 

चराले आकाश होइन पिंजडा मन पराउदैन  


पानीमा डुबेर मरी रहेछन यहाँ माछाहरु 

उसले पनि देखि रहेछ तर उ पत्याउदैन 


जसले यो गीत सुनेको छ त्यो बहिरो भएको छ 

तैपनि यो गीत नसुनी यहाँ कोहि निदाउँदैन 


~ निरज भट्टराई ~ 

Niraj Bhattarai

डा. निरज भट्टराई

घनश्याम पथिक

तिम्रो एक नजरमा यो दील बदलिन्छ 

तिमी आयौ भने मात्रै महाफील बदलिन्छ 


तिम्रो सुन्दरताको बयान यस्तो गर्न सक्छु 

तिम्रो सामु जस्तो सुकै कुटिल बदलिन्छ 


~ घनश्याम पथिक ~  

Ghanshyam Pathik

सानु थपलिया

फूलको कर्तब्य हो फुल्छ हिलोमा पनि भिरमा पनि 

बाँकी उसको भाग्य सजिन्छ पाउमा पनि शिरमा पनि 


तिमी हजार कि नोट थियौ महंगा महंगा ठाउँमा मात्रै रह्यौ 

म सिक्का थिएँ ठाउँ पाएँ चिहानमा पनि मन्दिरमा पनि 


त्यहि सानो कुराले तिमीलाई जिन्दगी भर दूर लग्यो म बाट 

बहुत तागत हुँदो रहेछ नाथे एक धर्के अबिरमा पनि 


~ सानु थपलिया ~

Sanu Thapaliya

बिर्तामोड, झापा

हाल: कतार 

रुपक अलंकार

रुपमा त अप्सरा देखियौ तिमी  

भित्र हेर्छु मन्थरा देखियौ तिमी  


देख्नमा रमाईलो पुग्न दुर्गम 

भिर बीच कन्दरा देखियौ तिमी  


~ रुपक अलंकार ~
Rupak Alankar


सुशीला श्रेष्ठ

उ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि 

अब कसले दागबती देला चितामा आमाको लागि 


~ सुशीला श्रेष्ठ ~

Sushila Sharestha


अन्जु स्मारिका

भन्न पाईन धेरै कुरा हतारमा हजुरलाई 
लेखाउन मन छ यो निधारमा हजुरलाई 

किनाउनु छ रातो चुरा सजाउनु छ भाग्य 
हात समाई लान्छु आज बजारमा हजुरलाई 

कहिले जुन देख्छु कहिले फूल देख्छु 
देख्छु म थरि थरि आकारमा हजुर लाई 

~ अन्जु स्मारिका ~
Anju Smarika

जितेन्द्र मल्ल

न हावामा न धर्तीमा, न पानीमा छ अल्झेको
मेरो यो जिन्दगी यस्तो, कहानीमा छ अल्झेको

यता कोही उता कोही , जमानीमा छ अल्झेको ।
ल भन्नुस् को कहाँ कस्को, लगानीमा छ अल्झेको

जलायो क्रोधमा शायद, सोच्यो के कुन्नि फुर्सदमा,
अझै त्यो प्रेमको आगो, खरानीमा छ अल्झेको

शयनमा सम्झियो होला, नयनमा बर्सियो होला,
टलक्कै टल्कने मोती, सिरानीमा छ अल्झेको

जमाना सोच्छ जे सोचोस्, फरक पर्दैन केही नि,
सदा ऊ कृष्ण राधाको , रुमानीमा छ अल्झेको

~ जितेन्द्र मल्ल ~
Jitendra Malla

जितेन्द्र मल्ल 

घर : तल्कोट,  डोटी

हाल : सिड्नी, अस्ट्रेलिया

संयोजक/संस्थापक : मुशायरा परिवार, अस्ट्रेलिया


थप गजलहरु: 

बा आमा व्यस्त छन् दुनियाँ सँग कुरा गर्न 
बच्चाहरु बिवस छन् गुडिया सँग कुरा गर्न 

ए भित्ताहरुहो किन जिस्काउँछौ घरि घरि 
रहर नै त कहाँ हो र तकिया सँग कुरा गर्न

~ जितेन्द्र मल्ल ~
Jitendra Malla

लक्ष्मी प्रसाद देवकोटा

दील कचौरा यो उचाली खान्छु हिरा मर्न देउ
रित्तो कर को यो भिखारी बर्छ आँसु झर्न देउ

~ महाकवि लक्ष्मी प्रसाद देवकोटा ~
Laxmi Pd Devkota


साभार: नेपाली गजल फेसबुक पेज 


रुपक बनबासी

सकिएन यो समस्याको हल पत्ता लगाउन 

आमाको छातीको क्षेत्रफल पत्ता लगाउन 


सिकेको छ मेरो घरमा गाई बस्तुले पनि 

आमाको आइजाई चहल पहल पत्ता लगाउन 


~रुपक बनबासी ~

Rupak Banwasi

रुपेश अन्जान

होलान चाहना होलान गुनासाहरु 

भएर पनि बोल्न सक्दैनन् ढुंगाहरु 


किन चुँडीन्छन फूलहरु बारम्बार 

किन गर्दैनन् प्रतिकार गमलाहरु 


कि जाकुँ यी आदम खोरहरुलाई 

कि जलाउँ कानुनका पिंजडाहरु 


के लिएर जानु हुन्छ जाँदा तपाईं 

के लिएर गए राजा महाराजाहरु 


आज पनि आकाशमा बादल छैन 

आज पनि मर्ने छन् चराहरु 


एउटा यस्तो सपना देख्नु छ अब 

त्यसपछि देख्नु नपरोस सपनाहरु


भोक मात्र लागे बच्चा रोई दिन्छ

चोट लाग्दा पनि रुँदैनन आमाहरु 


बुझ्न खोज्छन सबैले सबैका कुरा 

कसले बुझ्छ र कसका बाध्यताहरु 


कि छ भन कि छैन भन मायाँ 

भो बाँधी रहनु पर्दैन भूमिकाहरु 


तिमि बिना कसरि बाँच्न सक्छु र म 

के पानी बाँच्छन र माछाहरु  


हरेक दिन जन्मिन्छन यहाँ अन्जान 

हरेक दिन मर्छन यहाँ प्रतिभाहरु 


~ रुपेश अन्जान ~ 

Rupesh Anjan

रोमाकर आचार्य कपिलबस्तु हाल: भारत

ऋषि सुदामा

गएछन जानेहरुले अवस्था नाजुक छोडेर गएछन 

जान्न भन्नेहरुले पनि त मुलुक छोडेर गएछन 


खालै बाट स्वाहा पारे महारथीहरुले यो देश 

कुन प्रभुले कुन समयमा कस्तो सुख छोडेर गएछन 


मध्य रातमा बास माग्न आएका थिए पुजारी 

जाँदा घरको ढोकामा बन्दुक छोडेर गएछन 

            ***

कुनै बेला एउटै मुटु बन्नेहरु कहाँ होलान 

तँ बिना त बाँच्दैन म भन्नेहरु कहाँ होलान 


आज गोलार्धमा एक्लै एक्लै बसी सोच्दै छु म 

सँगै बसी हातका औंला गन्नेहरु कहाँ होलान 


को को भए होलान यात्री, को पुगे हो गन्तब्यमा 

पहिलो पटक प्रेम पथ खन्नेहरु कहाँ होलान  


~ ऋषि सुदामा ~

Rishi Sudama

हिमाल सरोबर ठकुरी

आज हिसाब गरौँ दिलको क्षति भएछ 

पिडा कसको कम कसको बढी भएछ 

याद आए तस्बिर हेर्नु भन्थिन उनले 

तस्बिर कुरा बुझ्ने कहिले देखि भएछ 


~ हिमाल सरोबर ठकुरी ~

Himal Sarobar Thakuri

कृष्ण बिरही

न खबर छ बाटोको न खबर छ गाडी आउने 

उही पुरानै खबर छ फेरी गाउँमा बाढी आउने 


मेरो जस्तै छ घाइते मुटु तिम्रो जस्तै छ चुलेसी 

को पागल छ यसरि बीच बाटोमा छाडी आउने 


यो पागल दुनियाँमा कुन पागलले पागल बनायो 

कुनै समय म पागल पनि विद्वान सँग बस्थें 


~ कृष्ण बिरही अटल ~

Krishna Birahi Atal

लक्ष्मण आजाद

त्यति कठोर कहिल्यै हुँदीनन आमा 

तिमीले आमा लेख्नु हुन्थेन ढुंगामा 


चुलोमा आगो सल्काउदै गर सिकिन्छ बाबु 

भोलि आगो लगाउनु पर्छ मेरो चितामा 


ठुलो भयो बिर्सियो सोच्दा हुन् काँडाहरु

अचेल मैले चप्पल लगाई रहँदा खुट्टामा 


~ लक्ष्मन आजाद ~ 

Laxman Aazad

Laxma Raj Budha, Dailekh

रावत

आहा यार तिम्रो त घर पनि बजार जस्तो 

कोहि किनिन कोहि बेचिन तयार जस्तो 


यो बाटोमा जसले मुठ्ठी उठाएर हिड्न सक्छ 

एक्लै पर्ला उ तर देखिन्छ हजार जस्तो 


~ रावत ~

 (Rawat)

रसिक राज

जिन्दगी प्रेमको खेल खेलेर यसरि फर्कियो 

भएको सबथोक दियो र आफु खाली फर्कियो 


तिमीलाई पर्खदा पर्खदै म चिता सम्म पुगें 

र तिम्रै पाउमा टाँ सिएर मेरो खरानी फर्कियो 


तिमि हराएको बर्षौं पछि तिमि भेटिए झैं लाग्यो 

जब तिम्रो ठेगाना नभेटी एर मेरो चिट्टी  फर्कियो 


बाँचु न्जेल केहि पाईन भनि मरेको मान्छेको 

मलामी बनेर जीवन भरको उपलब्धि फर्कियो 


~रसिक राज ~

(Rasik Raj)

भीमनिधि तिवारी

चन्द्रमा आफैँ छँदैछौ पर्छ पाउडर लाउनु ?

ओठ मानोँ रक्त खस्ला पर्छ लाली लाउनु ?


क्या छ सुन्दर, क्या मनोहर क्या रसीलो भाविलो

नक्कले तिर्छी नजरमा पर्छ गाजल लाउन ?


रूप जसको छैन उसले गर्दछे शृङ्गार उति

अप्सराजस्ती तिमी छौ पर्छ टीका लाउनु ?


हार हीरा मात गर्ने दाँत-पंक्ति देख्तछु

कानमा व्यर्थ झुलाई पर्छ यारिङ् लाउनु ?


देहकै पसिना छ तिम्रो खुश्बू चल्ने मगमगी

भित्री चोलीको कुनामा पर्छ, अत्तर लाउनु ?


घुम्दछन् भौँरा सदा आए र जसका मुखमा

फूलको रङ्गी-बिरङ्गी पर्छ गुच्छा लाउनु ?

------

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा

र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।


नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा

र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा


नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा

र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा


नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा

र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा


नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा

र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।


~ भीमनिधि तिवारी ~

Bhimnidhi Tiwari


भीमनिधि तिवारी 

बयासी र बीस गजल-मेरी (वि.सं. १९९३)

देबी नेपाल

मलाई सुर्यले लाली छरेको देश चाहिन्छ 

मलाई काखमा चौरी चरेको देश चाहिन्छ


चमेली फुलमा कैहिल्यौ नआओस बारुदी गन्ध 

मलाई बुद्धले मायाँ गरेको देश चाहिन्छ 


फुटेको जिर्ण ऐनामा सयौं छायाँ नहोस माटो 

मलाई पूर्ण ऐनामा सरेको देश चाहिन्छ 

*** 

म हारें रुपमा तिम्रो जुनेली रात तिम्रै हो 

- रचना: डा. देबी नेपाल , स्वर/संगीत: सुबास अगम 


~ डा. देबी नेपाल ~

Dr. Devi Nepal

प्रदीप मैनाली

के लत बस्यो मलाई कहिले सुधार हुन्छ 

एक दिन तिमि नबोल्दा यो दिल बिमार हुन्छ 


साथी रहेछ दुःख हरपल सवार हुन्छ

सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ


पानी परेर धर्ती आकाश हुन्छ सुन्दर

धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ रु


खोला नदी समुन्द्र जे नाम होस् न आखिर

अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ


~ प्रदीप मैनाली ~ 

Pradip Mainali


डा. प्रदीप कुमार मैनाली 

Dr. Pradip Kumar Mainali

पुरुषोतम ढुंगेल

ऊ जितेर गई या हारेर गई 

नतिजा आफैं तिर पारेर गई 


हिजो निम्ता दिई बस्न दिलमा

आज काडेतारले बारेर गइ


प्रितीको यौटा फूल थियो बगैचामा

आकाशबाट असिना झारेर गई


बाच्दै त थिएँ घायल नै भए पनि 

मुस्कानको छुरा रोपी मारेर गई


रोपेर प्रेमको फूल यो मेरो मनमा

हुर्काई अन्तै सारेर गई


पर्खिए मनको ढोका ऊघारि 

भो भोलि भन्दै टारेर गई


~ पुरुषोत्तम ढुंगेल ~

Purusottam Dhungel


माया निर्भिक

तब देखि दुनियाँमा मलाई कसैको भर लाग्दैन
जब आमा भन्छिन आफ्नै छोरा सुन्दर लाग्दैन

कालो टिका लगाएकी बहिनि बलात्कारमा परिन 
समाज भन्छ कालो मोसो लगाएमा नजर लाग्दैन

~ माया निर्भिक ~
Maya Nirbhik

अनुराग बम छेत्री

 मन छ हँसाउ मन छैन रुवाउ आँखामा राखेर 

कति हेर्छौ आँसु को तलाऊ आँखामा राखेर 

मनको घनत्व नाप्न सकिन्न म रुमाल बनौंला 

सारा पिडा पोख्नलाई आउ आँखामा राखेर 

भित्ताको तस्बिर हेर्न पनि भित्ता पुग्नु पर्छ 

छुट्टिदा एउटा तस्बिर लैजाउ आँखामा राखेर 


~ अनुराग बम छेत्री ~

Anurag Bam Chhettri

मुगु 

लोकेन्द्र बन्जारा

अलिकति कमाउन देउ नकमाई घरबार चल्दैन
तिमीलाई हेरेरै मात्र पनि त यो संसार चल्दैन

दुई दिन सँगै बसेको सबुतले के गर्छौ जबकि
आँखा कै आँशुमा आँखाको अधिकार चल्दैन


~ लोकेन्द्र बन्जारा ~
Lokendra Banjara

अमला अधिकारी

कम्ति इच्छा बोल्दैन कम्ति रहर बोल्दैन 

जिब्रो बोल्दा भाग्य बोकेको खप्पर बोल्दैन 


गाँस काटी काटी ब्याट्री नकिनौं न बा हामी 

यो रेडियोले हाम्रो घरको खबर बोल्दैन 


मेरा सयौं शेर कण्ठ सुनाउँछ मासु पसले 

एक शेर मासु उधारो माग्छु दिनभर बोल्दैन 


~ अमला अधिकारी ~

Amala Adhikari

घनश्याम 'परिश्रमी'

छ के के लुकेको सजल ती नयनमा
म देखी रहेछु गजल ती नयनमा

तलाउ कहाँ धाउनु फूल खोज्दै
फुलेकै छ सुन्दर कमल ती नयनमा

बहर: मुतकारिब मुसम्मन सालिम


~ घनश्याम 'परिश्रमी' ~
Ghanshyam Parishrami


डा. घनश्याम न्यौपाने 'परिश्रमी' 

Dr. Ghanshyam Neupane Parishrami

यो मौसम ( २०५०) 

घामको छहारी ( २०५२)

जून चुहेको रात (२०६०)

रवि प्राञ्जल

नभेटे ‘नि भेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

युगौँदेखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।


जति भुलूँ भन्छु उति ताजा हुन्छन् यादहरू,

भित्र कतै रेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।


किन कोरें हत्केलामा मैले अर्को नयाँ रेखा ?

रेखा सबै मेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।


चिहाएर त्यो आँखामा हेर्न खोज्छु ‘रवि’ लाई,

बादलुले छेके जस्तो लाग्छ जब तस्बिर हेर्छु ।


 ~ रवि प्राञ्जल ~

Rabi Pranjal 


रबि प्राञ्जल 

तारिदेउ न माझी दाइ (२०४८)

उही बाढी उही भेल 

घामका झुल्काहरु

ईश्वर दाहाल

तिमी भन्छौ अन्जुली भित्रै सिंगो सागर चाहिन्छ 

यार सपना पनि आफ्नो हैसियत बराबर चाहिन्छ 


म उडेको नजिक बाट देख्नलाई मात्र भए पनि 

मेरा गोडा काट्नेहरुलाई अग्लो घर चाहिन्छ 


मुस्किलले भेटिएकी हौ तिमी घृणा नै गरि राख्नु 

एउटा दुश्मन त मलाई पनि जिन्दगी भर चाहिन्छ 


~ ईश्वर दाहाल ~

Ishwor Dahal

 

ईश्वर दाहाल

पाख्रिबास, धनकुटा

हाल: कोरिया 

खगेन्द्र अटल

चिया बाँकी नै रह्यो चिया बोटमा अझै 

रगत निर्यात हुन्छ एयरपोर्टमा अझै 


सम्झिँदा मन पोल्छ निन्द्रा लाग्दैन मलाई 

बहिनि निदाउछे गाउँको छाउ गोठमा अझै  


~ खगेन्द्र  अटल ~

Khagendra 'Atal'


खगेन्द्र प्रसाद आचार्य

Khagendra Prasad Acharya

शीतल कादम्बिनी

सिंगारी पटारी सबेरै सबेरै 

कहाँको सवारी सबेरै सबेरै 


निशाना बनाई छ ताक्दै मलाई 

अरे यो शिकारी सबेरै सबेरै 


मिठो चाहनाको सँधै फुक्छ शंख 

हरे यो पुजारी सबेरै सबेरै 


न कोहि छ देख्ने न कोहि छ सुन्ने 

नयनका जुवारी सबेरै सबेरै 


तिमी टोक्न थाल्यौ नरम ओठ आफ्नै 

बनाई सुपारी सबेरै सबेरै 


शीतल कादम्बिनी ~
Shital Kadambini

 
शीतल गुरुङ
Shital Gurung
विधा: गजल, गीत

संलग्नता
सचिव- गीतकार सङ्घ, नेपाल
संयोजक- गीत, गजल र शीतल

जय गौडेल

अतितको त्यो मधुर कहानी, तिमीले बिर्स्यौ मलाई थाहा छ 

सँगै सहेको त्यो घामपानी, तिमीले बिर्स्यौ मलाई थाहा छ 


मिलनको त्यो पहिलो रात बारे, नपत्याए चन्द्रलाई सोध 

कुरै कुरामा भाथ्यो बिहानी, तिमीले बिर्स्यौ मलाई थाहा छ 


हजुरको मनलेके भन्छ सुन्छु, भनि भुसुक्कै निदाई हाल्थ्यौ 

मेरो छातीको को त्यो सिरानी, तिमीले बिर्स्यौ मलाई थाहा छ 


~ जय गौडेल ~

Jay Gaudel

आवाज शर्मा

लौन आजै आँटौँ साईंला, लर्के जोबन साटौं साईंला

गाउँमा हल्ला चलि सक्यो, झट्टै डाँडा काटौँ साईंला

सैसाथीले चियो गर्छन, छिमेकीले आँखा तर्छन 
हैन भनि छैन भनि, अझै कति ढाँटौँ साईंला

घरमा माग्ने आई सके, लगन टुंगो लाईसके 
आजै राती भाग्नु जाती, के बहाना छाटौँ साईंला

~ आवाज शर्मा ~ 

Aawaj Sharma

नाम: वाला अधिकारी / आवाज शर्मा

इन्द्रेणी (२०७४) (छायाँदेवी–चेतनाथ गजल पुरस्कार बिजेता)

आशा साँकी बलायर

महलले नसिकाए पनि सिक्नुस झुपडी सित 

जस्तो कि प्रेम सिक्न सकिन्छ कलिला नानी सित 


रगत भन्दा पनि महँगो सिन्दुरले सिउँदो भरेर 

म अन्मिएँ घाँटीमा दाम्लो हातमा हतकडी सित 


हिजो पनि जलेका थिए हिजो पनि नंग्याईएका थिए 

आज पनि एक फरिया बगेर आयो नदी सित 


~ आशा साकी बलायर ~

Aaasha Shaki Balayar

अनन्त अनुराग

कुन फूल टिपी पठायो लौ त्यो पठाउनेले 

बिर्स्यो सियो र धागो माला बनाऊनेले 


बाँकी सबै बुझेको नाटक गरिरहेछन 

यात्रा बुझेछ केवल खुट्टा गुमाउनेले 


~ अनन्त अनुराग ~

Ananta Anurag
धनकुटा

कमल संघर्ष

के का लागि यो मरिहत्ते के छ तिमीसँग 

मृत्यु बाहेक अर्को सत्य के छ तिमीसँग 


दुनियाँ आफ्नो बनाउन दुईटा कुरा चाहिन्छ 

रुपियाँ र योबन मध्ये के छ तिमीसँग 


~ कमल संघर्ष ~

Kamal Sangharsh

कमल प्रसाद भण्डारी

प्रकाशित कृतिहरु: 

खुडी गजलसङ्ग्रह (२०८०)

सडक गजलसङ्ग्रह (२०७३)

बिपिन किरण

नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई


~ बिपिन किरण ~
Bipin Kiran


ज्ञानुवाकर पौडेल

मिल्दैन विचार आफ्नो त घरमा
पुरानै छ संस्कार आफ्नो त घरमा ।

बन्ने हो भने यो मरुभूमिको कवि
पाक्दैन परिकार आफ्नो त घरमा ।

छुटेदेखि भएको त्यो एउटा जागिर
हुँदैन सत्कार आफ्नो त घरमा ।

पछ्याउँछ खाली सपनाहरूले पनि
लिँदैन आकार आफ्नो त घरमा ।

केसित खानु खै मनको लड्डु ?
विपन्न परिवार आफ्नो त घरमा ।

फेरि त्यै पिउने पिलाउने कुरा
चल्दैन यार आफ्नो त घरमा ।

~ ज्ञानुवाकर पौडेल ~ 
Gyanuwakar Paudel

ज्ञानुवाकर पौडेल

खण्डहर नयाँ नयाँ (२०४९)

ललिजन रावल

भैगो छाड तिम्रा कुरा नाना भाँती 

झुटो बोल्नु भन्दा नबोलेकै जाती 


बेग्ला बेग्लै बाटा कति बने कति 

एक पल्ट हेरौं कमिलाको ताँती  


~ ललिजन रावल ~

Lalijan Rawal

 

ललिजन रावल

केही गजलहरु (२०४२)

विरानो यो ठाउँमा (२०४६)

समकालीन नेपाली गजल ( २०४७), 

सिरानीमा आँसु, 

प्रतिनीधी नेपाली गजल (२०६५) (सम्पादन)

एउटा बन्द खाम 

टहटह जून  

इन्द्र लम्साल

यो भिंडलाई हाम्रो कहानी भन्न मन थियो 

चल्छ तिम्रो मात्र मनोमानी भन्न मन थियो 


म ढलेको बाटो हुँदै तिमी आउनु दुर्भाग्य हो 

अरु कोहि आएको भए पानी भन्न मन थियो 


फूल दिए पछि फूल जस्तै छौ भनेर फर्किएँ 

फूल जस्तै ओइलीन्छ जवानी भन्न मन थियो 


~ इन्द्र लम्साल ~

Indra Lamsal

सुमन स्मारिका

यो भिंड उही हो यो जमात उही हो 

देशको सलामीमा उठ्ने हात उही हो 


तानीएर घरि घरि खिचिन्छ पछाडी 

मान्छेहरुको रहरको मात उही हो 


सिधालाई सिधा बाङ्गोलाई बाङ्गो देखाउँछ 

जसरि हेरे पनि ऐना बात उही हो 


उहिले पनि चाहान्थें अहिले पनि चाहन्छु 

म उही हुँ मेरो औकात उही हो 


~ सुमन स्मारिका ~

Suman Smarika


लक्ष्मण सङ्गम

दुईटा डुङ्गामा दुईटा खुट्टाले उभिनुपर्छ।
यसरी पनि समयको चित्त बुझाइदिनुपर्छ।

बृद्धाश्रम जाँदा काँडा टिप्दै गइन् आमा।
सोचिहुन् छोराले यही बाटो फर्किनुपर्छ।।

आँखामा बस्न पाए आँसु बनिदिन्थेँ।
मलाई सम्झेर रुन्छौ मैले पोखिनुपर्छ।

जलाउँछु भन्छौ जलाऊ तर विचार गर।
दाउराभन्दा अगाडि काँटिसकिनुपर्छ।

यही सम्झेर मैले फूल भनिनँ तिमीलाई ।
जीवनमा हरेक फूलहरूले ओइलिनुपर्छ।

एउटै नदीका दुई किनार बनेर हिँडिरह्यौँ हामी ।
र, भनिरह्यौँ नदी सकिएपछि भेटिनुपर्छ ।

~ लक्ष्मण सङ्गम ~
Laxman Sangam


नाम : लक्ष्मण प्रसाद उपाध्याय (Laxman Prasad Upadhyaya)
ठेगाना : ढकारी गा.पा.१, अछाम
माता पिता : नन्नकला/लोकराज उपाध्याय
शिक्षा : शास्त्री( संस्कृत व्याकरण) नेपाल संस्कृत विश्वविद्यालय।
एम्. ए.( नेपाली ) त्रिभुवन विश्वविद्यालय ।
एल्.एल्.वि. ( अध्ययनरत) त्रिभुवन विश्वविद्यालय ।
पेसा : निजामती सेवा
लेखन आरम्भ : २०६८ सालतिर
प्रथम प्रकाशित रचना : 
विद्यागत योगदान : गजल, कविता, मुक्तक लेखन ।

प्रकाशित कृतिहरू
*गजल इन्देणी-२ (संयुक्त बहरबद्ध गजल सङ्ग्रह) , 
*महफिल-२ (संयुक्त गजल सङ्ग्रह)

सम्मान/पुरस्कार : 
*मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानद्वारा २०७३ सालमा सम्मान ।
*साहित्य सङ्गम नुवाकोटद्वारा सङ्गम साहित्य सम्मान तथा पुरस्कार , २०७९ 
*धौलागिरी कला तथा साहित्य मञ्च, बाग्लुङद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगिता, २०७५ मा प्रथम
*रोल्पा साहित्य उत्सव,२०७५ मा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा द्वितीय 
*सदाबहार साहित्य समाज कञ्चनपुरद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगितामा द्वितीय 
*नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगिता, २०८१ मा प्रथम

आवद्धता
*पूर्व सहसचिव, अछाम गजल मञ्च, अछाम 
*सम्पादनात्मक  पत्रपत्रिका  : अछाम गजल मञ्चको सहसचिव हुँदा उषाकिरण नामक गजल प्रधान पत्रिकाको सह सम्पादक भई काम गरेको ।


थप गजलहरु 

गजल १

नरोक्नुस् मुख छोपेर बोल्न दिनुहोस्।
उसलाई दिल खोलेर बोल्न दिनुहोस्।

आफैलाई चिन्न नसकेर परिचय गर्छ।
बच्चालाई ऐना हेरेर बोल्न दिनुहोस्।

देशद्रोही पनि देशसँग गुनासो गर्छ।
कुनै सभामा राखेर बोल्न दिनुहोस्।

राजधानीमा आएर कर्णालीका मान्छे।
कैल्यै बोलेका थिए र ? बोल्न दिनुहोस्।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल २ 

सम्झिनेले धेरैपछि सम्झियो थोरै समय ।
युगौँ भइदियो मेरा लागि यो थोरै समय ।

यो जिन्दगीको बसाइसराइ सर्ने क्रममा ।
 तिम्रो दिलमा पनि बसियो थोरै समय ।

राहत लिन दुई दिनमै राजधानी पुग्नुछ।।
नपुग्दै पो सकिन्छ कि यो थोरै समय ।

बहुत सङ्घर्ष गरेर देश बचाउनेहरूको ।
चोकमा शालिक राखियो थोरै समय ।

कसरी सुनाऊँ पीडाहरूको महाभारत ।
 मलाई बोल्न भनेर दिइयो थोरै समय ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ३ 

जीवन भनेको आखिर केही पला रहेछ ।
बुझ्दा सबै समयको त फैसला रहेछ ।।

शिखर चुमेको भ्रममा बाँचे म आजसम्म ।
म उभिएको ठाउँ केवल भुइँतला रहेछ ।।

मञ्चन नगर्न सक्नु त कमजोरी हो हाम्रो ।
हाम्रो जीवन त एउटा सुन्दर कला रहेछ ।।

पीडा, खुसी जीवनका पाटाहरू रहेछन् ।
जीवन यिनै कुराको पो शृङ्खला रहेछ ।।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ४ 

दुखाउने उदेश्य नहुँदा पनि दुख्छ।
म काँडा हुँ मैले छुँदा पनि दुख्छ।

अन्तको जस्तो हुँदैन आँखाको घाउ।
रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ ।

पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ।
याद गर्नुस् छाती त पिउँदा पनि दुख्छ ।

मन हो तिमीले मात्र दुखाउन सक्ने।।
यो शरिर त सुइ लगाउँदा पनि दुख्छ ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ५ 

जीवनमा एउटा यस्तो चमत्कार गर्ने मन छ।
आगो बोकेर मटितेलको नदी पार गर्ने मन छ।

रगत पिउनेहरूको बस्तीबाट बचेर आएको छु।
फेरि तिमी भन्छौ रगतले शृङ्गार गर्ने मन छ।

जहाँ सजिलै हुने गर्छ मान्छेहरूको व्यापार।
मलाई ती बजारहरूको व्यापार गर्न मन छ।

सबथोक लेखिएको तिम्रो नाम नलेखिएको।
मेरो निधार त त्यसलाई केरकार गर्ने मन छ।

दुबै हात काटेर कसैलाई नसोध्नू अन्तिम इच्छा।
उसले भनिदिन सक्छ सबैलाई नमस्कार गर्ने मन छ।

~ लक्ष्मण संगम ~
Laxman Sangam

पुष्प आचार्य पिडित

धनिको महल हुन्छ महात्माको कुटी हुन्छ 

तैपनि जम्मै मान्छेलाई धनि बन्ने हुट हुटि हुन्छ 


तिमीलाई अर्कैको बिस्तारामा सर्बाङ्ग नदेख्नु थियो 

कहिले काहीँ आँखाहरु बाट पनि त्रुटी हुन्छ 




~ पुष्प आचार्य पिडित ~
Pushpa Acharya Pidit


महेश के भट्टराई

 बन्नै लागेको सपनाको महल भत्किएर गयो 

परीक्षा दिन जानेले कलम घरमै बिर्सिएर गयो 


मैले हाम्रो हबिगत सम्झिए त्यो दृश्य देखेर 

एक्ला भए किनारहरु जब तुईन चुहिएर गयो 


शायद गरिब थियो मलाई छोडी जाने मान्छे 

केहि दिन सकेन जाबो धोका दिएर गयो 


~ महेश के भट्टराई ~

(Mahesh K Bhattarai)


घनेन्द्र ओझा

चढ्नलाई पो गार्हो हुन्छ झर्नलाई भन्दा 

बाँच्न अझै गार्हो रैछ मर्नलाई भन्दा 


एउटा मुटु वारि पट्टि अर्को मुटु पारी हुँदा 

वारि बस्न गार्हो पारी तर्नलाई भन्दा 


~ घनेन्द्र ओझा ~

Ghanendra Ojha


खगेन्द्र अधिकारी अमृत

हुन्छ कि हुँदैन उन्नति गजल लेखेर 

हुन त कसैको हुदैन दुर्गति गजल लेखेर 


चोर्नु पर्दैन ढाँट्नु पर्दैन र ठग्नु पर्दैन 

के जोडिएला खै सम्पति गजल लेखेर 


~ खगेन्द्र अधिकारी अमृत ~

Khagendra Adhikari Amrit

मोतीराम भट्ट

दुई आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो

मोतीराम भट्ट (1866-1896)

मोती मण्डली


थप गजलहरु 

इ सानै उमेर् देखि मन् हर्न लागे

इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को

रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले

कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्

बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा

सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका

नजर्देखि 'मोति' पनि झर्न लागे


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·


यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें।


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

दिनको पचास त के हजार पटक कती समझाउनु ।
म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू ।।

रिसमा थियौ कि खुशी थियौ मत केही जान्दिन के थियौ ।
कि यसो थियौ कि उसो थियौ मनमा कसोरि बुझाउनू ।।

न त आ भनुँ न त जा भनुँ म यसो भनूँ कि उसो भनूँ ।
तिनीको मिजाज म के भनु कतिसम्म विन्ति चढाउनू ।।

वय सोर्हजको मन साठ्ठीको छ र पो गजब जति प्यारिको ।
मुखको रबाबछ चन्द्रको ननिको छ मिस्सि लगाउनु ।।

मनसुव पुग्नु परै रहोस् दरसन पनि छ कठिनजहाँ ।
अब बाँचन्याछु मता कहाँ तिनीलाई यति सुनाउनु ।।

तिमिबिर्सिहाल त क्यै जनी म त सम्झदो छु अझै पनि ।
मुख भित्र पान चपाउनु अलि हाँसि हाँसि हँसाउनु ।।

मणि हो भनूँ त न झल्कने बिजुली भनूँ त न चम्कने ।
अइना भनूँ त न टल्कन् उपमा कसोरी जुराउनू ।।

तिमी पख भनी भनी कन जानु फेरी नआउनू ।
खपि सक्नु छैन मलाइ ता तिमीले यसोरि छकाउनु ।।

सुन है सबै हरिको हुकुम भनुकि भनूँ जुलम ।
अघि जो भयो उत भै गयो तर फेरी मोति नलाउनू ।।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·


जसै बङ्गको रंग छाडेर आयें।
तसै फागुको रंगमा म हरायें।।१।।

विनोदको अहा आज खोज्दैछु माला।
नपायेर सार्है दुखी भै करायें।।२।।

उठ्यो झोक जसै योग साघूँ कि भन्ने।
तसै फागु खेलूँ भनी मन डुलायें।।३।।

अबीरको पनी रंग कच्चै रहेछ।
दसेक धार्निमा केहि बढ्तै घसायें।।४।।

ठुलो एक झ्याँगा भरी रंग थियो।
लुगा साथ पसी रंग पक्का जमायें।।५।।

पर्यो फेरि झोक्का अबीरको उ माथि।
अबीर ह्वैन मानो विभूती रमायें।।६।।

लिये झेलि ‘मोती’ अबीरको विभूती।
विनोदी भयी मन्त्र मैले जगायें।।७।।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।

फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये।

म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये।

न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये।

म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये।

जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए।

अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये।


~ मोतीराम भट्ट ~ 
Motiram Bhatta