मोतीराम भट्ट

दुई आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो

~ मोतीराम भट्ट ~

Motiram Bhatta


मोतीराम भट्ट (वि.सं. १९२३ - १९५३ )

मोती मण्डल

पुस्तक:  सङ्गीतचन्द्रोदय (वि. सं. १९६९ / 1912 AD)

 
थप गजलहरु 

इ सानै उमेर् देखि मन् हर्न लागे

इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को

रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले

कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्

बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा

सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका

नजर्देखि 'मोति' पनि झर्न लागे


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·


यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें।



~ मोतीराम भट्ट ~ 
Motiram Bhatta