लक्ष्मण सङ्गम

दुईटा डुङ्गामा दुईटा खुट्टाले उभिनुपर्छ।
यसरी पनि समयको चित्त बुझाइदिनुपर्छ।

बृद्धाश्रम जाँदा काँडा टिप्दै गइन् आमा।
सोचिहुन् छोराले यही बाटो फर्किनुपर्छ।।

आँखामा बस्न पाए आँसु बनिदिन्थेँ।
मलाई सम्झेर रुन्छौ मैले पोखिनुपर्छ।

जलाउँछु भन्छौ जलाऊ तर विचार गर।
दाउराभन्दा अगाडि काँटिसकिनुपर्छ।

यही सम्झेर मैले फूल भनिनँ तिमीलाई ।
जीवनमा हरेक फूलहरूले ओइलिनुपर्छ।

एउटै नदीका दुई किनार बनेर हिँडिरह्यौँ हामी ।
र, भनिरह्यौँ नदी सकिएपछि भेटिनुपर्छ ।

~ लक्ष्मण सङ्गम ~
Laxman Sangam


नाम : लक्ष्मण प्रसाद उपाध्याय (Laxman Prasad Upadhyaya)
ठेगाना : ढकारी गा.पा.१, अछाम
माता पिता : नन्नकला/लोकराज उपाध्याय
शिक्षा : शास्त्री( संस्कृत व्याकरण) नेपाल संस्कृत विश्वविद्यालय।
एम्. ए.( नेपाली ) त्रिभुवन विश्वविद्यालय ।
एल्.एल्.वि. ( अध्ययनरत) त्रिभुवन विश्वविद्यालय ।
पेसा : निजामती सेवा
लेखन आरम्भ : २०६८ सालतिर
प्रथम प्रकाशित रचना : 
विद्यागत योगदान : गजल, कविता, मुक्तक लेखन ।

प्रकाशित कृतिहरू
*गजल इन्देणी-२ (संयुक्त बहरबद्ध गजल सङ्ग्रह) , 
*महफिल-२ (संयुक्त गजल सङ्ग्रह)

सम्मान/पुरस्कार : 
*मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानद्वारा २०७३ सालमा सम्मान ।
*साहित्य सङ्गम नुवाकोटद्वारा सङ्गम साहित्य सम्मान तथा पुरस्कार , २०७९ 
*धौलागिरी कला तथा साहित्य मञ्च, बाग्लुङद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगिता, २०७५ मा प्रथम
*रोल्पा साहित्य उत्सव,२०७५ मा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा द्वितीय 
*सदाबहार साहित्य समाज कञ्चनपुरद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगितामा द्वितीय 
*नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय गजल प्रतियोगिता, २०८१ मा प्रथम

आवद्धता
*पूर्व सहसचिव, अछाम गजल मञ्च, अछाम 
*सम्पादनात्मक  पत्रपत्रिका  : अछाम गजल मञ्चको सहसचिव हुँदा उषाकिरण नामक गजल प्रधान पत्रिकाको सह सम्पादक भई काम गरेको ।


थप गजलहरु 

गजल १

नरोक्नुस् मुख छोपेर बोल्न दिनुहोस्।
उसलाई दिल खोलेर बोल्न दिनुहोस्।

आफैलाई चिन्न नसकेर परिचय गर्छ।
बच्चालाई ऐना हेरेर बोल्न दिनुहोस्।

देशद्रोही पनि देशसँग गुनासो गर्छ।
कुनै सभामा राखेर बोल्न दिनुहोस्।

राजधानीमा आएर कर्णालीका मान्छे।
कैल्यै बोलेका थिए र ? बोल्न दिनुहोस्।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल २ 

सम्झिनेले धेरैपछि सम्झियो थोरै समय ।
युगौँ भइदियो मेरा लागि यो थोरै समय ।

यो जिन्दगीको बसाइसराइ सर्ने क्रममा ।
 तिम्रो दिलमा पनि बसियो थोरै समय ।

राहत लिन दुई दिनमै राजधानी पुग्नुछ।।
नपुग्दै पो सकिन्छ कि यो थोरै समय ।

बहुत सङ्घर्ष गरेर देश बचाउनेहरूको ।
चोकमा शालिक राखियो थोरै समय ।

कसरी सुनाऊँ पीडाहरूको महाभारत ।
 मलाई बोल्न भनेर दिइयो थोरै समय ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ३ 

जीवन भनेको आखिर केही पला रहेछ ।
बुझ्दा सबै समयको त फैसला रहेछ ।।

शिखर चुमेको भ्रममा बाँचे म आजसम्म ।
म उभिएको ठाउँ केवल भुइँतला रहेछ ।।

मञ्चन नगर्न सक्नु त कमजोरी हो हाम्रो ।
हाम्रो जीवन त एउटा सुन्दर कला रहेछ ।।

पीडा, खुसी जीवनका पाटाहरू रहेछन् ।
जीवन यिनै कुराको पो शृङ्खला रहेछ ।।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ४ 

दुखाउने उदेश्य नहुँदा पनि दुख्छ।
म काँडा हुँ मैले छुँदा पनि दुख्छ।

अन्तको जस्तो हुँदैन आँखाको घाउ।
रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ ।

पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ।
याद गर्नुस् छाती त पिउँदा पनि दुख्छ ।

मन हो तिमीले मात्र दुखाउन सक्ने।।
यो शरिर त सुइ लगाउँदा पनि दुख्छ ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ५ 

जीवनमा एउटा यस्तो चमत्कार गर्ने मन छ।
आगो बोकेर मटितेलको नदी पार गर्ने मन छ।

रगत पिउनेहरूको बस्तीबाट बचेर आएको छु।
फेरि तिमी भन्छौ रगतले शृङ्गार गर्ने मन छ।

जहाँ सजिलै हुने गर्छ मान्छेहरूको व्यापार।
मलाई ती बजारहरूको व्यापार गर्न मन छ।

सबथोक लेखिएको तिम्रो नाम नलेखिएको।
मेरो निधार त त्यसलाई केरकार गर्ने मन छ।

दुबै हात काटेर कसैलाई नसोध्नू अन्तिम इच्छा।
उसले भनिदिन सक्छ सबैलाई नमस्कार गर्ने मन छ।

~ लक्ष्मण संगम ~
Laxman Sangam