सरगम गजमेर

तिमि गए सँगै मेरा खुशीहरु यसरि गयो 

जसरि हाँगा बाट छुटेर फूल, मन्जरी गयो 


मैले यी आँखामा कैद गरि राखेको थिएँ 

आज आँसुहरुमा बगेर मनको चरी गयो 


प्रिया ! तिम्रो मन राख्नलाई के के गएन 

बुबाको औँठी र आमाको तिलहरी गयो 


म जिन्दगी भर किनार बनेर पर्खिएर बसें 

नदी जस्तै उ कहिल्यै नफर्कीने गरि गयो 


~ सरगम गजमेर ~

Sargam Gajmer 

 

सरगम गजमेर 

बालुवाड़ी-८, झापा

हाल: साउदी अरबिया

विनोद बिम्बित

 भयो भन्छौ जमाना याद ताजै छन्

अझैसम्मन् पुराना याद ताजै छन्


एकै पुस्तक लिने गर्थ्यौँ दिने गर्थ्यौँ

गजब हुन्थ्यो बहाना याद ताजै छन्


सुकेको फूल पुस्तक माझमा भेटेँ

दुरुस्तै छन् निसाना याद ताजै छन्


~ विनोद बिम्बित ~

Binod Bimbit

अनन्त लम्साल

ओ हो लजाउनु त त्यसरी पो लजाउनु अनि पो लजाए जस्तो 

गाला यस्ता हुन्थे आफ्नै मुटु निचोरेर  लगाए जस्तो 


साथमा लस्कर गला भरि माला अनि निधार भरि अबिर त छ 

बिजयको नाद कहाँ र बाले काँध थपथपाए जस्तो 


उनको शर्त सहित आएको प्रस्ताब स्वीकारे सी यस्तो लाग्यो 

जस्तो शिर सुम्पेर पाएको तक्मा छाती भरि लगाए जस्तो 


~ अनन्त लम्साल ~

Ananta Lamsal

गणेश साउद अछामी

नमिसाउनु भनेको थिए धत के मिसायौँ ?

भन कर्ममा पसिना वा रगत के मिसायौँ  ?


कसैले नदेख्ने गरि माया गर्छु भन्छौं ?

मायामा धोका वा नफरत के मिसायौँ ? 


न त भुल्न सकेको छु न पाए तिमीलाई ?

प्रिय नसा जस्तै नशामा आदत के मिसायौँ ? 


यसरी किन ठुलो रुप लियो तिम्रो घृणाले ?

झिल्को भयो आगोमा परिणत, के मिसायौँ ?


~ गणेश साउद अछामी ~

Ganesh Saud Aachhami

मुम्बई

क्षितिज समर्पण

के के बनाउछौ सिमा मान्छेहरुलाई 

मान्छे बनाउ कम्तिमा मान्छेहरुलाई


याद गर्छु मन्दिर छेउको भट्टी पसल   

न एकादशी न पुर्णिमा मान्छेहरुलाई 


~ क्षितिज समर्पण ~

Kshitiz Samarpan 


राम कुमार शाही

Ram Kumar Shahi

कृष्ण जंग राणा

जिन्दगीको दौडमा यो तन पुरानो भो 

मन पुरानो हुन्न भन्छन तर बिरानो भो 


नाम हुन्छ धनको धेरै ब्यक्तिको थोरै 

ब्यक्तिको पहिचान केवल अब फलानो भो 


जिन्दगीको मुल्य के छ यस धरातलमा 

प्रेमको बगिया सुकेछ फुल स्यानो भो 


~ डा. कृष्ण जंग राणा ~

Dr. Krishna Jung Rana

धनराज गिरी

नजाउ बागमा एक्लै सरमले फूल झर्नेछ 

कसैले मार्गमा सानु समाई सिउँदो भर्नेछ 


मुलायम केश रासीले गुलाबी गाला छोइँदा 

मदिरा बन्छ रे पानी पिएमा धितो मर्नेछ 


निदाउँ काखमा तिम्रो हराउँ स्वप्नलोकैमा 

इसारा पाईमा आजै यो पागल बात गर्नेछ 

 

~ धनराज गिरी ~

Dhanraj Giri


धनराज गिरी

चितवन 

गजलामृत (२०६०) 

ढल्दैन स्वाभिमान कसै गरे पनि (२०६४)

अनुपमा करारा

उसको आँखामा हेर्छु सँधै धिर हुन्छ 

खै कसको कसको अथाह पीर हुन्छ 


सब भन्दा उचाईमा छ चन्द्र सुर्य जन्माउछ 

तर पनि यो आकाश कति गम्भीर हुन्छ 


कति पहुँच होला उसको अनि कति विज्ञता 

भन्छन जहाँ हुँदैन रबि त्यहाँ कबि हुन्छ 


~ अनुपमा करारा बिवस ~

Anupama Karaka Biwas 

शम्भु भट्टराई

नजाने कसोरी भयो रात मीठो 

व्यथा चोटका खातका खात मिठो

 

सजिलै जवानी कतै सुम्पिएर 

भन्यौ कालको हालको लात मिठो 


मजाले भिजेका परेली लुकाई 

तिमी भन्दछौ रातको बात मिठो 


~ शम्भु भट्टराई ~

Shambhu Bhattarai 

शाश्वत ढुंगाना गोबिन्‍द

आँखाले राम्रा राम्रा झलक खोज्दै छन् 

निधारले विलक्षण शिक्षक खोज्दै छन् 


भबिष्यको मन्त्री छोरो तुहिएर जान्छ 

नारी बच्चा मिल्काउने हक खोज्दै छन् 


बिज्ञापन मै टाँगिएर बेश्याको बैंश गयो 

हजारौं भनि दोबाटोमा ग्राहक खोज्दै छन्  


~ शाश्वत ढुंगाना गोबिन्‍द ~

Shashwat Dhungana Govinda 

वियोगी बुढाथोकी

गाउँमा थिएँ म बजारमा तिमि 

खोज्दा खोज्दा भेटें बल्ल हजारमा तिमि 


तिमि सित बातहरु धेरै गर्नु छ 

एकछिन पर्ख पर्ख कति हतारमा तिमि 


श्रुङ्गार गरेकी हुँदै होइनौ 

तर पनि कति सुन्दर मुहारमा तिमि 


हुन्छ नि छैन हुन्न पनि छैन 

फँसेकी कि पो होउ कि कतै दोधारमा तिमि 


~ वियोगी बुढाथोकी ~

Biyogi Budhathoki 


वियोगी बुढाथोकी 

आफन्तका चोटहरु (२०५२)

जून चाहेको रात (२०६०)

गजल तिम्रो नाम होइन (२०६३)

अतीत मनु

गयौ तिमी सबै भुली हतारमा

दुरी बढ्यो वियोगको बजारमा 

~ अतीत मनु ~
Atit Manu 

राज पाखे

आज आफैँ व्यथामा ऊ जलेको छ

प्रीतको त्यो कथामा ऊ जलेको छ ।

~ राज पाखे ~
Raaj Pakhe

शैलेन्द्र अधिकारी

यी वेदना छन् सहेको हेर्ने भए आज आऊ

त्यै दुःख साथी भएको हेर्ने भए आज आऊ ।

~ शैलेन्द्र अधिकारी ~
Shailendra Adhikari 

शैलेन्द्र अधिकारी

दिन रोएपछि (गजल सङ्ग्रह, २०६४)

हिउँमाथिको जून (गजल सङ्ग्रह, २०६६)

निर्वेद (उपन्यास, २०७६)

ब्रह्मास्त्र (कथा सङ्ग्रह)

अर्हत् (उपन्यास, २०८१)

विभोर बराल

बेकारमा मैनझैँ गल्दै छ यो जिन्दगी

थोपा बनी पग्लँदै ढल्दै छ यो जिन्दगी ।

~ विभोर बराल ~
Bibhor Baral 

रश्मि असफल

जिन्दगीको अर्थ खोज्ने रीत सम्झेँ दिक्क लाग्यो

प्रेमको यो र्व्यर्थ गाथा गीत सम्झेँ दिक्क लाग्यो ।


~ रश्मि असफल ~

Rashmi Asafal 



निर्मल ढुङ्गाना

उदास भए उमङ्ग सबै तिमी नहुँदा

हराउँदछन् कि रङ्ग सबै तिमी नहुँदा ।


~ निर्मल ढुङ्गाना ~

सप्रेम अर्चना

जिन्दगीको अर्थ खोज्दै हिँड्छु म

निष्ठुरीको साथ रोज्दै हिँड्छु म ।


~ सप्रेम अर्चना ~

Saprem Archana

प्रभाती किरण

पराई मन हरी आफ्नो बनायौ ख्याल ख्यालैमा 
म ढुंगा थें तिमीले नै गलायौ ख्याल ख्यालैमा 

हुरी आए सरी आयौ म टोलाएँ  र बोलाएँ 
म डुब्दै थें तिमीले नै समायौ ख्याल ख्यालैमा 

थियो यात्रा निकै लामो र थाकेको थिएँ ज्यादै 
म निन्द्रामा हुँदा मस्तै जगायौ ख्याल ख्यालैमा 

बहर: हजज (१२२२.१२२२.१२२२.१२२२) 

~ प्रभाती किरण ~
Prabhati Kiran

अर्जुन अधिकारी
Arjun Adhikari

नारायण निरासी

हुरीमा दीपझैँ धिप्धिप् बलेको जिन्दगी प्यारो

मलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो ।


~ नारायण निरासी ~

Narayan Nirashi 



नारायण निरासी

तुसारोमा फुलेका फूलहरू (२०६४)

खनाल मेघनाथ 'बन्धु'

वसन्तैमा तिमी फुल्नू 

दिँदै माया अझै खुल्नू ।



~ खनाल मेघनाथ 'बन्धु' ~

Khanal Meghnath "Bandhu" 



सरोज काफ्ले

खराब छ यो सबै दुनियाँ अरूसँग क्यै नबोल्नु प्रिया

दिएर मनै अरूकन लौ कुरा दिलका नखोल्नु प्रिया ।


~ सरोज काफ्ले ~

Saroj Kafle


अधरामृत

युवराज भण्डारी

जे गरे नि हुने यहाँ छुट धेरै भयो 

कानुन कै अघिल्तिर लुट धेरै भयो 


पहिले एक थिए आज अनेक छन् 

कहाँ बाट आयो खै मुकुट धेरै भयो 


पहिचान हराउँछ कि भन्ने भो डर 

हाम्रै बिचमा गुट उपगुट धेरै भयो 


अचेल साँचो बोले पनि भर लाग्दैन 

आश्वाशनको नाममा झुट धेरै भयो 


गरिब संग जिउ ढाक्ने लुगा नि छैन 

महलमा पल्टिने संग सुट धेरै भयो 


~  युवराज भण्डारी ~

Yubaraj Bhandari 


युवराज भण्डारी

तनहुँ

हाल: क्यानडा

नवीन घिमिरे

हर कोही यहाँ कसैको गुणगानमा छ ! 

अरे के छ त्यस्तो जो यो सम्मानमा छ ! 


शंकाहरू निर्धक्क आराममा होलान्,

विश्वासको भरोसा चै अनुमानमा छ ! 


खै कुन साइतमा सुरु गरिएछ कथा, 

यौटा कहानी अझैसम्म उठानमा छ ! 


यौटा भूल जो शंकाको  सुविधामा छ , 

यौटा क्षमा अझैसम्म  आव्हानमा छ ! 


शंकाको सुविधामा बाँचेकाहरूसंग,

नवीन सधैं भरोसाको अनुमानमा छ !


~ नवीन घिमिरे ~

Nabin Ghimire 

नसद कादरी

तिमि नै त मेरो ज्यान थियौ रुठी यौ किन 

तिमि नै त मेरो शान थियौ रुठी यौ किन 


तिम्रो सहारा पाएर आकाश छोए थिए 

तिमि नै मेरो उडान थियौ रुठी यौ किन 


~ नसद कादरी ~

Nasad Kadri 

अन्सर नेपाली

को थियो रात मेरो सपनामा 

तिम्रो सुन्दरता जस्तो गहनामा 


किन लजाउँछ मेरो मायाँमा 

आउनु होस् मनको अगंनामा 


मेरो छाती जली रहेको छ 

आज अन्सर कसैको चाहनामा 


~ अन्सर नेपाली ~

Ansar Nepali 

दिलु थापा मगर

जे चाह होइन त्यो नै अक्सर दियौ ठिकै छ 

चाहेको फूल मैले पतकर दियौ ठिकै छ


एउटै थिएँ म पहिला ऐले हजार भा छु 

यो काँचलाई फुट्ने अवसर दियौ ठिकै छ


बाटोको फूललाई झैं लुछिने त्रास कम भो 

लाली गुरासलाई अक्कर दियौ ठिकै छ


मजबुत अझै हुने छन् खुट्टाहरु सफरमा 

हर मोडमा सँधै भर ठक्कर दियौ ठिकै छ 


~ दिलु थापा मगर ~ 

Dilu Thapa Magar 

बूँद राना

निराशा न कुण्ठा न त्रासमा छु 

म नेपाल फेरिन्छ यो आसमा छु 


म जस्तो ज्याद्रो यहाँको छ होला 

छु जिउँदो सँधै कालको गाँसमा छु  


~ बूँद राना ~

Boond Rana 

धिरेन्द्र प्रेमर्षी

मेरो मनको धरहरा गर्ल्याम गुर्लुम ढाल्यौ किन 

मुटु नै अँध्यारो पारी दियो दियो चाहिँ बाल्यौ किन 


बत्ति न हो बल्दै जाँदा त्यस्तै पनि निभी हाल्थ्यो 

जान्दा जान्दै थपि थपि दियोमा घिउ हाल्यौ किन 


गजलका धुन मेरा सुन्थ्यौ गुन्थ्यौ गुनगुनाउँथ्यौ 

आज तेस्कै खिशी गर्दै भजन गाउन थाल्यौ किन 


~ धिरेन्द्र प्रेमर्षी ~

Dhirendra Premarshi   

जीत कार्की

निशाना कलेजी मै लगाई तिमी भाग्यौ 

र ऐया मरें भन्नै नपाई तिमी भाग्यौ 


कतिन्जेल दियो बन्दै म बल्थें मझेरीमा 

बतासै बनि आयौ निभाई तिमी भाग्यौ 


म स्निग्ध आँखामा हराएँ डुबें भन्थ्यौ 

अचम्मै इनै आँखा छलाई तिमी भाग्यौ 


अहंको घडा उस्तो कि तिम्रो कला यस्तो 

रिसायौ र यो ऐना फुटाई तिमी भाग्यौ 

 

~ जीत कार्की ~

Jeet Karki

जीत कार्की

आस्थाका हिउँचुलीहरु (२०६४)

लाल काजी श्रेष्ठ

के भन्नु हुन्छ हुन्न, जुत्ताहरुको गन्ति 

शिर कै अगाडी हुन्न, खुट्टाहरुको गन्ति 


त्यागुँ म साथ कसरि, सँगै रहुँ के कारण 

बेसीको छेउ हुन्न, पाखाहरुको गन्ति 


सरकार हेरी मैले, यस अर्थ मन बुझाएँ 

टपरी बनाए हुन्न, सिन्काहरुको गन्ती 


~ लाल काजी श्रेष्ठ ~

Lal Kaji Shrestha 

मणि भट्टराई

कसले भन्यो तिमीलाई खुसि खेर गएको छ
हाँसो होइन आँखा बाट आँशु बगेर गएको छ

भन्थ्यौ नि जिन्दगी छोटो छ त्यसै बिताउनु हुँदैन
किन बिताउँथें र त्यसै तारा गनेर गएको छ

अब त आउँ छौ होला नि धेरै भयो नभेटेको
आज सम्मको समय यहि सोचेर गएको छ

पीर परेको छँदै छैन जिन्दगि यसै गयो भनेर
गए पनि के भयो त तिमीलाई सम्झेर गएको छ

~ मणि भट्टराई ~
Mani Bhattarai

 

चुडामणि भट्टराई

पाँचथर

हाल: भर्जिनिया, अमेरिका

संलग्नता: नेपालीगजल.कम

उमेश बिश्वकर्मा सागर

बाले छोरालाइ बारम्बार सम्झाए पछि 

अब को सम्झाई देला बा अस्ताए पछि 


बहुलाएछ भनेर ढुक्क हुनु तिमि त्यो बेला 

तिमीलाई देखेर यी ओठ मुस्कुराए पछि 


बाँच्ने मर्नेको ठेगाना राखेको हुँदैन उसले 

आकाशमा पाईलटले जहाज उडाए पछि 


मेरा आफ्नाहरु सबै आगो भएर निस्किए 

मैले कागजको ठुलो घर छुट्टै बनाए पछि


तिमि मेरी हौ भनि म कसरि ठान्नु निष्ठुरी 

मलाई छोडी पराईको हात समाए पछि 


~ उमेश कुमार बिश्वकर्मा "सागर" ~

Umesh Kumar Bishwokarma Sagar 


आचार्य प्रभा

समस्या सँग जुध्न सक्ने पो मान्छे त 

लडे पछि उठ्न सक्ने पो मान्छे त 


गरिबको दुख माथि कोहि नहाँस्नु 

दुख पिडामा दुख्न सक्ने पो मान्छे त 


~ आचार्य प्रभा ~

Aacharya Prabha

शेखर अस्तित्व

के रैछ कुन्नि मेरो मुटु सँग करार तिम्रो 

किन यो मनले गरि रहन्छ विचार तिम्रो 


अरु कसैलाई देख्न इनले रुचाउदैनन् 

नयनहरुको छ प्यास एउटै मुहार तिम्रो  


यो रातो टिका त्यो जुन ताराको छैन खाँचो 

अधरले चुमि सजाई दिउँला निधार तिम्रो 


पवन छ आँचल नदी छ पायल चुरा छ झरना 

समस्त सृष्टि मलाई लाग्छ श्रुङ्गार तिम्रो 


~ शेखर अस्तित्व ~

Shekhar Astitwa

पदम गौतम

हिड्छ मान्छे घाम खोज्दै, भेट्छ तारा जिन्दगीमा 
निभ्छ तारा झार्छ मान्छे, अश्रुधारा जिन्दगीमा

भाग्छ मान्छे भ्रान्ति भित्र, जिन्दगी यो चक्र ठान्दै 
भ्रान्ति लाई प्यार गर्दै खान्छ चारा जिन्दगीमा


~ पदम गौतम ~
Padam Gautam

 

पदम गौतम

अनाम मण्डली

एकलासको फूल (२०६०)

बिक्रम तिमिल्सिना

साथि हुँ म भनाउँछ छिर्के मात्र लगाउँछ 

न अर्काको हुन दिन्छ न त आफ्नो बनाउँछ 


चर्छन भन्ने जानेको छ दाम्लो ले नै बानेको छ 

मेरो मालिक भेडा बन्छ उसले दाना खनाउँछ 


लम्पसार परि पुरै जिउ सुम्पिदिन्छन र त 

एउटा ब्वाँसो आउँछ र गाईलाई कनाउँछ 


~ बिक्रम तिमिल्सिना ~

Bikram Timsina

सनत कुमार वस्ती

पत्थरैको छ दिल, रुन्छ कि तैपनी

प्यारको दर्दले, छुन्छ कि तैपनी


मनमा मैलो छ, रोएर पो हुन्छ के ?

आशुको धारले, धुन्छ कि तैपनी


यार तिम्रो कुरै, सुन्न मान्दैन उ !

हुन्छ बिन्ती गरौ, सुन्छ कि तैपनी


बुझ्न त इ कुरा, केही बुझ्दैन उ !

भन्दिनु मनमनै, गुन्छ कि तैपनी 


कोशीसैमा सनतको बित्यो जिन्दगी!

फेरी कोशिश गरौ, हुन्छ कि तैपनी 


~ सनत कुमार वस्ती ~

Sanat Kumar Wasti

सानु शर्मा

बग्ने आँट मेरो, मलाई बीच धाराको रहर
जिन्दगी चाहिँ गरिरहन्छ किनाराको रहर

आफैँ नै बुझिदेओस् मलाई उसले ठान्छु
गरिरहन्छ ऊ चाहिँ सधैँ इशाराको रहर

जीवनको पल्लैछेउ पुग्ने अठोट हो मेरो
नत्र किन गर्थेँ र म अफ्ठ्याराको रहर

अनगिन्ति जङ्घारहरू एक्लै तरिरह्यो
गरेन मेरो मनले कहिल्यै सहाराको रहर

मनको मनमा के छ के छ, बुझेरै नसकिने
किन गर्छ यति बिघ्न अँध्याराको रहर

~ सानु शर्मा ~

Sanu Sharma


सानु शर्मा

अस्ट्रेलिया


केही शेरहरु 

काँडालाई सोधी हेर शित किन फुलमै जम्छ 

सुन्दरताको अनुरागी मान्छे मात्रै कहाँ हो र 

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

भेट्न सक्छौ भने यदि नदुखेको ठाउँ,

चोट दिन चाहनेहरुलाई स्वागतछ !

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

ढुङ्गा सम्झेर तिरस्कार गर्दा नबिर्सनू,

मेरो पनि भाग्यमा मन्दिर हुन सक्छ ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

तिमी दुखाएर नथाक्ने, यो सहेर नथाक्ने

अटेरी छ यो मन पनि दुरुस्तै तिमी जस्तै ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

तिमी अझै धडकी रहेछौ म भित्र,

प्रमाण अरु के दिउँ, जिउँदैछु म ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

आफूसँग थिए सोच संयमित थिए,

उनीछेउ के पुगेथे, आवारा भए ।


~ सानु शर्मा ~

Sanu Sharma

सुर्य चापागाईं

तिमी जुन हौ कि जुनेली तिमी हौ
कतै पुर्णिमा कि उजेली तिमी हौ

भयो बाग प्यारो तिमी आउनाले
जसै तिमी आयौ जुरेली तिमी हौ

तिमी हाँस्दछौ मन्जरी पालुवामा
बसन्ती छाटा कि चमेली तिमी हौ

तिमी बग्दछौ गीत झैं यी नयनमा
नदीको निलो नागबेली तिमी हौ


~ सुर्य चापागाईं ~

Surya Chapagain

राधा कँडेल

बैगुनी छ मनमा राख्छौ अझै कति 

दुर भैसक्यो डाक्छौ अझै कति 


आसमान पर्नु पर्दैन जालमा 

चुक्छ त्यो निशाना ताक्छौ अझै कति  


~ राधा कँडेल ~

Radha Kadel 

केशब शर्मा

 बाँधु भन्छु फेर समाई, अन्तै भाग्छ जिन्दगी यो 

आफु दिन्छ थोरै तर, धेरै माग्छ जिन्दगी यो 


तालमेल नमिलेको, यन्त्र जस्तो भएको छ 

निशाना म अन्तै ताक्छु, घुँडा ताक्छ  जिन्दगी यो


सम्झनालाई थोरै पल, बिर्सन लाइ सिंगो युग 

जे बिर्सुं म भन्छु त्यहि, सम्झाई राख्छ जिन्दगी यो


~ केशब शर्मा ~

Keshab Sharma

शारदा सजल

हजार बार सम्झना पुर्याईदेन बनचरी 

अमुल्य प्यार सम्झना पुर्याईदेन बनचरी


सदैब गर्छ बन्दना झुकेर प्राण मुर्तिमा 

छ एक यार सम्झना पुर्याईदेन बनचरी


~ शारदा सजल ~

Sarada Sajal 

प्रमोद थापा

जब चल्दैन गुजारा तमाम सपना बेचेर 

बटुको किन्ने सोच पलाउँछ आँखा बेचेर 


जुन रक्सिले बाको कलेजो खायो बा खायो 

छोराले खान्छ त्यै रक्सि मृगौला बेचेर 


हामि यसलाई पनि ठुलो उपलब्धि ठान्छौं 

दश धुर घडेरी किन्यो डाँडा पाखा बेचेर 


पानीले आधा देश डुबाए पछि थाहा भयो 

समुद्र पो किनिएको रहेछ खोला बेचेर 


~ प्रमोद थापा ~

Pramod Thapa

रबिका भण्डारी

बिहानी शीतका थोपा बनि झर्ने कहानी छ 

सँधै चिसा परेली यी र त्यै भिज्ने सिरानी छ 


बगाई आँसुका धारा यहि माटो भिजाएर 

लगाएँ प्रितको बाली बटुल्दा त्यै खरानी छ  


~ रबिका भण्डारी ~

Rabika Bhandari 

भरत पौडेल

सत्य हो बहकाउ समाचार छ 

यार छोड चर्चामा अखबार छ 


सबको पत्ता छ हातमा तर खोल्दैन 

अहो यो अँध्यारो कति इमान्दार छ 


मान्छे चिन्नलाई त्यहिँ लैजानु पर्छ 

जहाँ अवसर छ अनि अन्धकार छ 


तिमि जितमा यति हर्षित देखियौ 

आहा यो मेरो हार कति शानदार छ 


~ भरत पौडेल ~

Bharat Paudel

सबिता बराल

सँधै जित्ने कहाँ होला सँधै आफ्नो पला हुन्न 

तयारी हारको गर्नु भने झैं फैसला हुन्न 


सबै हाँस्दा सधै हाँस्दा खुसिको अर्थ छोपिन्छ 

न रोए साथ सारंगी त्यहाँ मिठो गला हुन्न 


घुमाई बारुले कम्मर तिमीले नृत्य जो गर्छौ  

नढाके आँगनी जम्मै त्यहाँ राम्रो कला हुन्न 


~ सबिता बराल ~

Sabita Baral

विनोद अनुज

एउटा गजल छ लेख्नु शब्दै रहेन बाँकी 

त्यो शब्दकोश तिम्रो आँखै रहेन बाँकी 


झुम्का थिएन पहिले मात्रै थियो रहर यो 

जैले कमाई ल्याएँ कानै रहेन बाँकी


चिट्ठी हजार लेख्दै च्यात्दै गएँ म सारा 

लेख्ने अठोट छ ऐले पानै रहेन बाँकी


~ विनोद अनुज ~

Binod Anuj


विनोद परिवर्तित

दुश्मन अगाडी राखें छेउ छाउ मित्र राखें 

शंकाको दयारामा आफ्नै चरित्र राखें 


आगोको राप बाटै यो दिल झिकेछ उसले 

आगै उपर म जसको रंगिन चित्र राखें 


स्वार्थी र मतलबीको अनुभब बटुल्न मन छ 

जति हो इमान सस्तो गोदाम भित्र राखें 


अरुले शिखर चडेको देखेर बुझ्नु पर्छ 

मैले बिनोद नाउँ चै कस्तो बिचित्र राखें 


~ विनोद परिवर्तित ~

Binod Pariwarit 

तपेन्द्र घोडासैनी

लुकाएछन् बडा गार्हो अवस्थामा लुकाएछन् 

मणिलाई पनि एकदम अँध्यारामा लुकाएछन् 


अचेल आँशुहरु पोखी पखाल्ने सोचमा हुन्छन 

कसैलाई कुनै बेला परेलामा लुकाएछन


ओढेको के थियो घुम्टो बहुत आस्चर्यमा पर्छु 

यहाँ कसले हिरा मोती पछ्यौरामा लुकाएछन्


लिए फोटाहरु सारा अचेल धुँवा नियाल्छन रे 

हतारैमा लिएका हुन् अँगेनामा लुकाएछन्


~ तपेन्द्र घोडासैनी ~

Tapendra Ghodasaini

बिवस बलभद्र कोईराला

काँचको पो रैछ मुटु फुटे पछि चाल पाएँ 

तिम्रो मायाँ मल्हम थियो छुटे पछि चाल पाएँ 


अर्थ हुन्न फुल्नुको बिना सुबास हाँगा माथि 

भन्थ्यौ तिमि हाँगा बाट छुटे पछि चाल पाएँ 


जति बाँड्यो उति बढ्छ भन्थ्यौ तिमि मायाँ 

रित्तिएछ आफु तिमीले लुटे पछि चाल पाएँ


जिउँदै मार्यो पिरतीले भन्थे केहि पागलहरु 

आफ्नै छाती पोल्दा पिट्दा जुटे पछि चाल पाएँ


~ बिवस बलभद्र कोईराला ~

Biwas Balabhadra Koirala 

महेन्द्र चन्द महासागर

कसैको अघि खुट्टा बजार्नुस उपहास हुन्छ 

गर्भमा भने त्यै हिर्काई खास हुन्छ 


काटेर फालेको हाँगो केही दिन सम्म हरियो थियो 

नमरुन्जेल सम्म सबैलाइ बाँच्ने आस हुन्छ 


यो कस्तो विश्वास गर्न सिकायौ तिमीले 

आफैं मरेको खबरमा पनि बिश्वास हुन्छ 


रगतमा पौडिन छोडेर मेरो बस्तीमा आउ 

तिमिलाई रातै मन परे यता गुरास हुन्छ 


~ महेन्द्र चन्द महासागर ~ 

Mahendra Chand Mahasagar 

शान्ती शर्मा

म औंला गनेर कति पर्खनु हो 

यी आँखा भरेर कति पर्खनु हो 


रुझेका परेली सँधै साँझ बिहानी 

रुखो याद चढेर कति पर्खनु हो 


ठुंगीरन्छ फक्रेर यो फूल थुंगाले 

सयौं पिर खपेर कति पर्खनु हो  


पुराना कुराका तरानाहरुमा 

म एक्लै गमेर कति पर्खनु हो


भन्यो कोईलीले बिहानै बिहानै 

गयो बैंश खेर कति पर्खनु हो 


~ शान्ति शर्मा ~

Shanti sharma 

माधब खतिवडा

बुढाहरुलाई जीवनको सार सिकाउनुस 

बच्चाहरुलाई सानै देखि प्यार सिकाउनुस 


युवाहरु बिग्रन सक्छन बरालिन सक्छन 

उनिहरुलाई बेलैमा घरबार सिकाउनुस 


धोका दिनेहरु छन् धोका खानेहरु छन् 

तिनीहरुलाई जीवन जिउने आधार सिकाउनुस


सम्बन्ध भन्नु एउटा विश्वास न हो 

त्यहि कुरा यहाँ बारम्बार सिकाउनुस


पूर्ण ज्ञान दिने भए नानीहरुलाई 

जित संग संगै हार सिकाउनुस


~ माधब खतिवडा ~

Madhabh khatiwoda 

बलराम दाहाल

अहो दिब्य दाना छ बालाहरुमा 

संगेल्दै छु डोका र डालाहरुमा 


झरेका थिए ति सयौं पुष्प गुच्छा 

बटुल्दै बुनेको छु मालाहरुमा   


~ बलराम दाहाल ~

Balram Dahal



अनाम मण्डली

तारा पल्लवी

यी नयन सँग सात्क्षात्कार बडो मुस्किलले हुन्छ 

र त मेरो गाउँमा प्यार बडो मुस्किलले हुन्छ 


तपाईं गुड्नु हुन्छ उड्नु हुन्छ कहाँ कहाँ सम्म 

यो गाउँ हो गाउँमा सवार बडो मुस्किलले हुन्छ 


ढुटो सजिलै बिक्ने हजुरको शहरमा 

मेरो चामलको ब्यापार बडो मुस्किलले हुन्छ 


रक्सिको प्रचारमा सारा शहर नै रंगिएको छ 

यहाँ ओखतिको प्रचार बडो मुस्किलले हुन्छ 


~ तारा पल्लवी ~

Tara Pallawi


अस्मिता पौडेल

लाग्छ सिध्याउन कै लागि मनमा आएजस्तो

प्रेम जस्तो बनेर तरवार गर्धनमा  आएजस्तो


जे देखाइन्छ त्यो नहुन सक्छ भ्रममा नपर्नुस 

जस्तो सामान हुँदैन विज्ञापनमा आएजस्तो


कुराकानी छोटिदैँ जाँदा लम्बिदै गए यादहरु 

क्षणिक बनेनन् जोगी आँगनमा आए जस्तो


~ अस्मिता पौडेल ~

Asmita Paudel

गोपी दवाडी

म खोज्दै थें उसको नजिक हुने तरिका 

जबर्जस्ति सिकाई रक्सि पिउने तरिका 


कि बागमती या कर्णाली कोशी झर्ने हो 

जे भए नि नेपालीको रुने तरिका 


मजा लाग्छ सम्झिदा नि आमाको त्यो धुन 

केवल सुख होईन खुशी हुने तरिका 


~ गोपी दवाडी ~

Gopi Dawadi

गुरु प्रसाद मैनाली

बोल्दिनौ जालिम रिसाई हिडी रह्यौ आखाँ तरी 

जिन्दगीको हौसला मेरो सबै बर्बाद भो 


छैन केहि चाहना प्रेमको धोको पुग्यो 

मतलबी संसारको रित  क्यै क्यै थाहा भयो 


हिड्दछु बाटो समाती प्रेमको माला जपी 

मुख लुकाई झ्यालमा हाँस्नु पर्दैन भो 


~गुरु प्रसाद मैनाली ~

Guru Prasad Mainali 

 

गुरु प्रसाद मैनाली

* चर्चित कथाकार गुरु प्रसाद मैनालीको गजल पनि प्रकाशित छ। माथिको गजल पत्रिका शारदा: बर्ष १, अंक १२, बि.सं. २०६४ पुष, गजल विशेषांकमा प्रकाशित हो |

धर्मोगत शर्मा तुफान

छातीमा पिडा साँची रहेछु 

अरुको अगाडी हाँसी रहेछु 


अभाबको कालो सुरुङ्ग भित्र 

निस्किने बाटो तलासी रहेछु 


निर्धाहरुको सपना उनेर 

गजलको माला गाँसी रहेछु 


खबरदार फेरी धोका होला 

शब्दको भाले म बासि रहेछु 


~ धर्मोगत शर्मा तुफान ~

Dharmogat Sharma Tufan


धर्मोगत शर्मा तुफान

तुफानका गजलहरु (२०४२)

देशको माटो दुख्ने गर्छ  (२०४९) 

दीपक कुमार खड्का

सोध्दै थिएँ पुगुन्जेल छुरा मेरो हाडमा 

के लेखेको भनन औंलाले ढाडमा 


~ डा. दीपक कुमार खड्का ~

 Dr. Dipak Kumar Khadka

रबिन्द्र रिजाल

बस्दछ यसरी छाप कसैको

नसोच्नु कहिल्यै पाप कसैको।

 

म बाटो तर्की घुमेर आएँ

भैदियोस भनेर मिलाप कसैको।

 

लेखियुन गजल यस्तरी लाग्दछ

याद कसैको होस् आलाप कसैको।

 

हेरि बस्दछन हाँगा पात फूललाई

मनोमानी कसैको सन्ताप कसैको।

 

रिझाएर हैन बिझाएर जितिन्

र भनिन् थिएन करकाप कसैको।

 

रुखै मुनि झर्ने भए फल सँधै

ईनाममा किन होस् नाप कसैको।

 

म भन्न सक्छु यस्तै सयौं शेर अरु

तर किन उरालौं रक्तचाप कसैको।


~ रबिन्द्र रिजाल ~

 Rabindra Rijal

करुण थापा

जति चले तीर सबै यहि छातीले छेक्दै आएँ 

एउटा फूल टिप्नलाई सयौं काँडा टेक्दै आएँ 


तिम्रो मायाँ अमृत भन्दा कम्ति कहाँ रहेछ र 

जति जति घाऊ लाग्यो त्यै मायाँले सेक्दै आएँ 


~ करुण थापा ~  

Karun Thapa


ऋतु सुबेदी

 पुतलीले प्रेमको शक्ति यसरि देखाई दिन्छ 

आफु जल्छ र दियो पनि निभाई दिन्छ 


वजनको यति धेरै घमण्ड गरि रहनु पर्दैन 

आखिर ढुंगालाई आफ्नै वजनले डुबाई दिन्छ 


तिमि संगको युद्ध हो यो छ अलिक फरक 

जुन हर्दा पनि खुशीले मन बेचैन बनाई दिन्छ 


सक्छौ भने बलियो साथ देउ प्रिय 

यो सिन्दुर त पसिनाले पनि बगाई दिन्छ 


~ ऋतु सुबेदी ~

Ritu Subedi

गोपी नाथ लोहनी

अहो ! कस्तो सिताराको झलक् देखिन्छ त्यो मुख्मा,

सदा-काल हेर्न क्या तागत् रवाफ् यस्तै छ त्यो मुख्मा ।।


सुनी वाणी मधुर् तिन्को यही पर्ने छ भान् मन्मा

मृतक्लाई जियाऊने सुधा खानी छ त्यो मुख्मा ।।


कमल् जस्तो सफा रोगन् विना दाग्को भई फेरि,

शशीको दाग झै बीचमा अमोल् कोठी छ तयो मुख्मा ।।


गजल् गीत विध्न निक्लन्छन् इमन् जर्वारीया माहां,

कसै निक्नुन्न नाथ् भन्ने कउन् कारण् छ त्यो मुख्मां ।।


~ गोपी नाथ लोहनी 'नाथ' ~

Gopi Nath Lohoni 'Naath'

 


गोपीनाथ लोहनी 'नाथ'

मोती मण्डली


पुस्तक: सङ्गीतचन्द्रोदय

रचनाकारहरु: मोतीराम भट्ट , लक्ष्मी दत्त पन्त 'इन्दु', गोपीनाथ लोहोनी 'नाथ', नरदेव सर्म्मा 'सुधा', मियां अंजद हुसेन 'अञ्जान', गजब, रत्नलाल 'रत्न'

प्रकाशित संस्करण मिती: वि. सं. १९६९ र अन्य धेरै

शम्भु प्रसाद ढुंगेल

कटारी तिमी घस्दछ्यौ मुख लुकाई

म बस्छु हरे ? चित्तलाई फसाई ।।

तिमी नैन सर् मार्दछ्यौ झल्मलाई,

म मन्लाई बस्छु निशाना बनाई ।।

तिमी चन्द्रमा जित्तछ्यौ चंचमाई,

म बस्छू चकोर्झै भई मन मुलाई ।।

तिमी छौ सुधाले भरेकी तलाऊ,

म प्यासो भई बस्तछू तड्फडाई ।।

तिमी ठाट् गरी बस्दछ्यौ झ्याल खोली,

म आश लिई हिंड्दछु मन् डुलाई ।।

कहाँ छाति तिम्रो छ पत्थर सरीको,

नरं चित्त बस्छु म हर्दम् नुहाई ।।

हरे ! कर्म सारै अभागी हुनाले,

प्रिय ! गर्दिनौ याद कत्ती मलाई ।।


~ आँशुकवि शम्भु प्रसाद ढुंगेल ~ 

Shambhu Prasad Dhungel

एस डी कृष्ण शर्मा

यहि बाटो कान्तिपुर जान्छ बबरमहल जान्छ!

ओहो! म चढेको बस पो विमानस्थल जान्छ!


तपाईंको पो पजेरो हुइकिएला  सडक  बने,

मेरो त घरको आँगन जान्छ ओखल जान्छ!


चौका फ्याँकेर छक्का हान्ने दाउ खेर गयो,

उसको हातको पत्तीमा सधैं नहल दल जान्छ!


बाउको गरिबी बिचरा छोरोलाई  के थाहा,

बच्चा न हो उठ्ने बित्तिकै  पसल  जान्छ!


~ एस डी कृष्ण शर्मा ~ 

SD Krishna Sharma


रोहित कुँवर

पर्दैन भो मरे नि भन्थ्यो असर मलाई

सोध्दैछ फ़ेरि उसले मेरै खबर मलाई 


~ रोहित कुँवर ~ 

Rohit Kunwar



एम पी केयरलेस

 उही गल्लिमा उनको पुरानो घर आयो 

लाग्यो अब उनलाई सम्झिने अवसर आयो 


बेश्यालय जस्तै छ यो मन पनि 

एक रहर गयो अर्को रहर आयो 


दुश्मन खोज्दै हिँडेको थिएँ म 

अब के गर्नु आफ्नै प्रतिबिम्ब नजर आयो 


अलपत्र पत्र बाटोमा भेटें खुसि लाग्यो 

लेख्ने मान्छे सन्चै छ भन्ने खबर आयो 


~ एम पी केयरलेस ~

MP Careless

अम्बिका भट्टराई अनुरागी

टाँक छैन बुझ्नु होस् कपडामा टाँकघर छैन 

यी भोकाहरुको खानु बाहेक अरु रहर छैन 


प्रिय तिमी यो शहर छोडेर गए देखि 

आँखा ओभानो छैन गुलाबी अधर छैन 


न सम्झनु भन्नु पनि सम्झिने बहाना हो 

थाहा छ तिमिलाई नसम्झेको मसँग कुनै प्रहर छैन  


~ अम्बिका भट्टराई अनुरागी ~

Ambika Bhattarai Anuragi

अजय बैरागी

घरिघरि डाक्टर साबको कामकाज मनपर्दैन
दीलमा देश दुख्या छ छात्तिको ईलाज मनपर्दैन

छोरो पाईलट बन्छु भने देखि झन् ऐठन बढ्यो
बाको घटना पछि आमा लाई जहाज मन पर्दैन

फुलको शौन्दर्य चन्द्रमा को चहक कृपा उसैको हो
भैगो उसको निम्ति कमसल अन्दाज मन पर्दैन

बिभेद बिभेद चल्यो घाटमा पुगेको लासमा पनि
अन्तिम चोटी मुर्दा लाई चिसो समाज मन पर्दैन


~ अजय राई बैरागी ~
Ajay Rai Bairagi

असिम सागर

ताज न हो एकछिन मात्र शिरमा सजिने  भनेको 

मान्छेको प्रेम हो मान्छेले बर्षौं सम्झिने भनेको 


जमिन बिर्सिनेहरुलाई गएर यो शेर सुनाई दिनु 

भकारी भरि भएर हो अनाज पोखिने भनेको 


~ असिम सागर ~

 Asim Sagar

फत्तेमान श्रेष्ठ 

Fatteman Shrestha

अनुराग खतिवडा

रुँदै रित्तिने छैन होला म जस्तै 

भए एउटा मैन होला म जस्तै 


मुमाको बलात्कारको मुख साक्षी 

यहि देशको ऐन होला म जस्तै 


~ अनुराग खतिवडा ~ 

Anurag Khatiwoda

पवन लामिछाने

 बाफ ठानोस् या ठोस के फरक पर्छ ?

दुनियाँले जे सोचोस् के फरक पर्छ ?


हिजो एउटा लगाइदियौ भोग्दै छु अझै 

लगाइदेऊ अर्को दोष के फरक पर्छ ?


देखुन्जेलको संसार हो यो भोगुन्जेलको 

जिन्दगानी ढले ढलोस् के फरक पर्छ?


नजिक आए देखाइदिन्छु दिलको घाउहरु 

पर जालाउ दुई चार कोस के फरक पर्छ ?


~ पवन लामिछाने ~

Pawan Lamichhane


पवन लामिछाने

हाल: टेक्सास, अमेरिका

दीपक जडित

यति सजिलै बद्लिएर जाने यो जीवनमा लय कहाँ?

जबरदस्ती बदल्न पनि ल्याउन सकिन्छ प्रलय कहाँ ?


रुन चाहीँ त खोजेकै हो मेरो मनले पनि अलिकति,

सुन, ए! आँसु तर तिमीसँग खेल्ने मेरो समय कहाँ?


अर्कै थिएँ म, बदल्दैछौ; फेरि पैले झैं खोज्यौ भने,

म भित्र घरि घरिलाई परिवर्तनको विषय कहाँ?


दुखाई रहने केही क्षेत्र भत्कियोस् भन्छु यो मुटुको,

मनको खेतमा त्यति सजिलै आउने रहेछ भूक्षय कहाँ?


सकुँ बदल्न केही न केही यै कामनाले दु:खी बनिरहें,

स्वयं बद्लिएँ अनि सुखमा छु दु:ख फर्कने भय कहाँ?


जो रंगहरू भन्दा माथि थियो त्यो बुद्ध मैले कालो देखें, 

शरण खोजुँला कुनैदिन तर त्यो क्षण मेरो आश्रय कहाँ?


मैले आफैंलाई जित्नु पर्नेछ मेरो युद्धमा तिम्रो दरकार छैन,

तिमीसँग त प्रेम छ प्रेममा विजय कहाँ पराजय कहाँ?


समयको थप्पडले निभाएपछि माटोको भाँडो रह्यो दीपक,

अब माटोसँग, माटोको भाँडोसँग मैले खोजेको विनय कहाँ?


~ दीपक जडित ~

Dipak Jadit

अन्जान यात्री

न मृत्युलाई अँगाल्न सक्छु न आफुलाई सह्माल्न सक्छु 

गुलाफ जस्ता छन् याद मनमा न राख्न सक्छु न फाल्न सक्छु 


सियो बनेर पसेको मान्छे के होला फाली बनेर जाँदा 

हृदय विदारक मुटुको घाउ न हेर्न सक्छु न टाल्न सक्छु 


खुशीको आँशु बहेको हेर्ने रहरहरूमा रुँदैछ आँखा 

म आफुलाई बगर बनाई नदी र सागर नियाल्न सक्छु 


हजार आँखाहरू हुँदा हुन् प्रिया ती तिम्रा सफरहरूमा 

तिमी मेरी हौ यो कल्पना मै म सारा जीवन छिचाल्न सक्छु


~ अन्जान यात्री ~

Anjan Yatri

अन्जान यात्री

शेखर बिकल्प

 मनमा निकै तनाब भयो 

जब उनको दबाब भयो 


काँडा रोज्ने धेरै हुँदा 

अपमानित गुलाब भयो 


तराजुमा तौलिएर 

पिरतीको हिसाब भयो 


उ जिन्दगी पियो गयो 

मेरो हातमा किताब भयो 


म पिउन्न भन्दा भन्दै 

आखिर साथि सराब भयो 


~ शेखर बिकल्प ~

Shekhar Bikalp

टीका खड्का 'राष्ट्रप्रेमी'

हेर्नुस घाम र झरी सहेका ढुंगा 

यिनै त हुन् जिन्दगी बुझेका ढुंगा 


ए दुनियाँ भो हल्ला नगर तँ यसरि 

बिँउझिन सक्छन मस्त सुतेका ढुंगा 


भेटेका ढुंगा देउता बनाएँ 

पर्खाल बनाउँदैछु किनेका ढुंगा 


किनारा लागेका जति त देश मै छन् 

कुन देश पुगे कुन्नि बगेका ढुंगा 


बाटो मै थाकेर बसेका रैछन 

विशाल दुनियाँ हेर्न हिँडेका ढुंगा 


कसरि मानौं ढुंगा सबै कठोर छन् 

हर ठाउँ देखिन्छन फुटेका ढुंगा 


~ टीका खड्का 'राष्ट्रप्रेमी' ~ 

Tika Khadka 'Rastrapremi

राज भट्टराई

हुन खोज्छ मान्छे सफल जिन्दगीमा 

हुनु पर्ने हो नि असल जिन्दगीमा 


~ राज भट्टराई ~

Raaj Bhattarai 

शेखर बस्नेत

 म अदालतलाई जानकारी गराउन सक्छु

दोष बोकेर कठघरामा आउन सक्छु


पौरख गरेर पनि खान नपाए देखि  

बन्दुक जान्दछु गोली चलाउन सक्छु 


कोहि खोइ प्रेममा ज्यान दिन सक्लान 

म मुस्कुराउदै प्रेमिका झुण्डाउन सक्छु 


~ शेखर बस्नेत ~

Shekhar Basnet

Okhaldhunga

सानु कार्की

उत्सबहरुमा लगाउदा लगाउदा टिका पनि 

अचेल मान्छेको मुखमा पर्न छोड्यो कनिका पनि 


कृष्णले हजारौं सँग प्रेम किन गरे यहाँ 

अलिकति दोषी त हुँदी हुन् राधिका पनि 


काटेर फ्याल्नेहरुलाई नै सँधै छाडी दिई रहने छु

अरु भन्दा फरक छ मेरो घृणा गर्ने तरिका पनि  


~ सानु कार्की ~

Sanu Karki


ईन्दु अधिकारी

 कसरि भनुँ म बिद्रोह गर्ने मन छ 

आँखा भित्र आँसुको मौन आन्दोलन छ 


बच्चा जस्तो तिम्रो याद दिलमा खेल्न खोज्छ

लाग्छ म भित्र घर छ आँगन छ  


हाँस्ने अभिनय गरेको धेरै भयो आमा 

अब हजुरको काख मा रुने मन छ 


~ ईन्दु अधिकारी ~ 

Indu Adhikari

आँचल कुमार शर्मा

कुवा हुन्थ्यो र जल कन्चन हुने गर्थ्यो कुनै बेला
कुवामै जूनको मापन हुने गर्थ्यो कुनै बेला

डराए झैँ लजाए झैँ उनी सामु हुँदाखेरि
मुटुमा जोडको धड्कन हुने गर्थ्यो कुनै बेला

प्रशंसाको अगरबत्ती जलाएको थिएँ ज्यादै
उनी देवी भजन कीर्तन हुने गर्थ्यो कुनै बेला

म राधा हूँ हजुर कृष्ण भनेको बोली गुञ्जिन्छ
जहाँ जान्थ्यौँ त्यो वृन्दावन हुने गर्थ्यो कुनै बेला

~ आँचल कुमार शर्मा ~ 
Aanchal Kumar Sharma

आँचल कुमार शर्मा

अभि क्षेत्री समर्पण

कत्रो रहेछ र पोखरी आखिर आँखामा 

जति बगे पनि रित्तिदैन पीर आँखामा 

जहाँ हेर्न निषेध छ त्यहिँ पुग्यो नजर 

हलचल मच्चियो फेरो स्थिर आँखामा 

उस्तै देख्छु आकृति हरेक अनुहारमा 

झुण्डिए छ क्यारे तिम्रै तस्बिर आँखामा 


~ अभि क्षेत्री समर्पण ~ 

Avi Chhettri Samarpan