हेर्नुस घाम र झरी सहेका ढुंगा
यिनै त हुन् जिन्दगी बुझेका ढुंगा
ए दुनियाँ भो हल्ला नगर तँ यसरि
बिँउझिन सक्छन मस्त सुतेका ढुंगा
भेटेका ढुंगा देउता बनाएँ
पर्खाल बनाउँदैछु किनेका ढुंगा
किनारा लागेका जति त देश मै छन्
कुन देश पुगे कुन्नि बगेका ढुंगा
बाटो मै थाकेर बसेका रैछन
विशाल दुनियाँ हेर्न हिँडेका ढुंगा
कसरि मानौं ढुंगा सबै कठोर छन्
हर ठाउँ देखिन्छन फुटेका ढुंगा
~ टीका खड्का 'राष्ट्रप्रेमी' ~
Tika Khadka 'Rastrapremi