बिद्या निर्दोष पहाडी

यहाँ खेतको खोजीमा खेताला लाग्छ 

र डेराको खोजिमा डेरावाला लाग्छ 


हामीले भने संजीवनी बुटी सम्झीयौं 

जुन भासणले यो देशमा पखाला लाग्छ 


आज हजुरको घाँटीको मालालाई के बुझौं 

राष्ट्रिय दिवसमा सालिकमा माला लाग्छ 


आउनुस हजुरले पनि कुल्चेर जानुस 

ज जसलाई यो छाती रंगशाला लाग्छ 


~ बिद्या निर्दोष पहाडी ~

Bidhya Nirdosh Pahadi

विनायक अधिकारी

सुत्नु अघि र उठ्नु अघि ओखती चाहिन्छ 

उनलाई श्रीमान अनि मलाई श्रीमती चाहिन्छ


तपाईहरुले गलत बुझ्नु हुन्छ मलाई थाहा छ 

अनुहार हेरेरै भन्न सक्छु कसलाई कति चाहिन्छ  


~ विनायक अधिकारी  ~

Binayak Adhikari


सिद्धि विनायक अधिकारी

Australia

उपेन्द्रबहादुर 'जिगर'

 दिल फगत् मैले चढाए थेँ नजर होला भनी

यो दरदले त्यो दर्दमा क्यै असर होला भनी ।


निर्दयी झैँ झन् हृदय टुकडा गर्यौस तरवारले

थाहा थिएन दर्दले तडपी हृदय रोला भनी।


एक म छु कि जुल्म सब हाँसी हाँसी सहिरहेछु

एक तिमी छौ कि दया गरछौ दगा होला भनी ।


एक म छु कि नजरको आँसु पनी साँचिरहेछु

एक तिमी माया बगाउने विरहको खोला बनी ।


फूलको काँढा पनि भमराको निम्ति चिज छ

छैन दृष्टि यो नजरमा विरहले छोला भनी ।


आँसु तक हुन्न निगाह हेर मेरो दुर्भाग्य यो

आँसुको जलले ‘जिगर’को विरह क्यै धोला भनी ।


~ उपेन्द्रबहादुर 'जिगर' ~

Upendra Bahadur Jigar



उपेन्द्रबहादुर 'जिगर'

‘एक सय एक गजल’ (वि.सं. १९९६)

बहादुर सिंह बराल

गोर्खाली नाउँ हेर बद्नाम होई नजाओस 

पुर्खा को यो फुलबारी मसान होई नजाओस 


कौन जातिको हामि कस्तो भई रहनु पर्छ 

बिर्सेर आफ्नो गौरब अन्जान होई नजाओस 


बराल छ यस्तो जाली मित्र लाई दिन्छ गालि 

गोर्खाली चाल छाडी बदनाम होई नजाओस 


~ बहादुर सिंह बराल ~

Bahadur Singh Baral

 

बहादुर सिंह बराल

जन्म: १८९० अप्रिल २७ हिमान्चल प्रदेश, भारत 

बरालको आँसु (गीत, गजल, र भजन संग्रह, सन् १९३४)

मनको बिर्ह (सन् १९३८, वि.सं. १९९५)


पुस्तक: बरालको आँसु (गीत, गजल, र भजन संग्रह)

रचनाकारहरु: बहादुरसिंह बराल, दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शम्शेरसिंह, दिलिप, मित्रसेन

प्रकाशित संस्करण मिती: सन् १९३२, १९३३, १९३५, १९३६, १९३८

वि.सं. २०५० संस्करण (पुत्र खड्ग जीत बराल, पुर्व आइजिपी, द्वारा प्रकाशित)

वि.सं. २०६९ संस्करण (डा. खगेन्द्र प्रसाद लुइटेल द्वारा: सम्पादित)


पुस्तक: मनको बिर्ह

रचनाकारहरु: बहादुरसिंह बराल, मित्रसेन

प्रकाशित मिती: सन् १९३८ (वि.सं. १९९५)

सदाब हलवाई

चमन चमन सुमनहरु फुलाउँदै अघि बढौं 

उठौं तरुण मनहरु हँसाउदै अघि बढौ 


महानगर या उपमहानगर गली शहर शहर 

यो देशलाई स्वर्ग झैं सजाउँदै अघि बढौं 


~ सदाब हलवाई ~ 

Sadab Halwai

Nepalganj

मुना बोहोरा

तिमि भन्छौ सिन्दुर चुरा गाजल ल्याउने 

म भन्दैछु जिन्दगिमा फेरबदल ल्याउने 


के कमि छ के कुरा गर्नु छ ए जमाना 

के जरुरि पर्यो म जस्तो पागल ल्याउने 


सम्पति देखाएर अन्तिम कोशिस गरि हेरौं  

मुर्दा घरका लासहरुमा हलचल ल्याउने 


~ मुना बोहोरा ~ 

Muna Bohora


हरि गिरी

सिमाना बनायो आफ्नै परिधि बनायो 

उसले घर घेरेर आफैंलाई कैदी बनायो 


बिग्रेको कुरा कति मिठो हुने रहेछ 

साथिले बिग्रेको दुध बाट रसबरी बनायो 


दुखमा सबै भन्दा बाँसले दिने रहेछ 

फेदले लास बोक्यो टुप्पोले मुरली बनायो 


जिन्दगि के हो भनि सोधिएको प्रश्न पत्र 

उत्तर कर्ता ले जला एर सबै खरानी बनायो

 

लडाकुले शत्रुको खुट्टा भाँचेको बन्दुकलाइ 

आफ्नो खुट्टा भाँचीए पछि बैसाखी बनायो 


~ हरि गिरी ~

Hari Giri