टीका खड्का 'राष्ट्रप्रेमी'

हेर्नुस घाम र झरी सहेका ढुंगा 

यिनै त हुन् जिन्दगी बुझेका ढुंगा 


ए दुनियाँ भो हल्ला नगर तँ यसरि 

बिँउझिन सक्छन मस्त सुतेका ढुंगा 


भेटेका ढुंगा देउता बनाएँ 

पर्खाल बनाउँदैछु किनेका ढुंगा 


किनारा लागेका जति त देश मै छन् 

कुन देश पुगे कुन्नि बगेका ढुंगा 


बाटो मै थाकेर बसेका रैछन 

विशाल दुनियाँ हेर्न हिँडेका ढुंगा 


कसरि मानौं ढुंगा सबै कठोर छन् 

हर ठाउँ देखिन्छन फुटेका ढुंगा 


~ टीका खड्का 'राष्ट्रप्रेमी' ~ 

Tika Khadka 'Rastrapremi

राज भट्टराई

हुन खोज्छ मान्छे सफल जिन्दगीमा 

हुनु पर्ने हो नि असल जिन्दगीमा 


~ राज भट्टराई ~

Raaj Bhattarai 

शेखर बस्नेत

 म अदालतलाई जानकारी गराउन सक्छु

दोष बोकेर कठघरामा आउन सक्छु


पौरख गरेर पनि खान नपाए देखि  

बन्दुक जान्दछु गोली चलाउन सक्छु 


कोहि खोइ प्रेममा ज्यान दिन सक्लान 

म मुस्कुराउदै प्रेमिका झुण्डाउन सक्छु 


~ शेखर बस्नेत ~

Shekhar Basnet

Okhaldhunga

सानु कार्की

उत्सबहरुमा लगाउदा लगाउदा टिका पनि 

अचेल मान्छेको मुखमा पर्न छोड्यो कनिका पनि 


कृष्णले हजारौं सँग प्रेम किन गरे यहाँ 

अलिकति दोषी त हुँदी हुन् राधिका पनि 


काटेर फ्याल्नेहरुलाई नै सँधै छाडी दिई रहने छु

अरु भन्दा फरक छ मेरो घृणा गर्ने तरिका पनि  


~ सानु कार्की ~

Sanu Karki


ईन्दु अधिकारी

 कसरि भनुँ म बिद्रोह गर्ने मन छ 

आँखा भित्र आँसुको मौन आन्दोलन छ 


बच्चा जस्तो तिम्रो याद दिलमा खेल्न खोज्छ

लाग्छ म भित्र घर छ आँगन छ  


हाँस्ने अभिनय गरेको धेरै भयो आमा 

अब हजुरको काख मा रुने मन छ 


~ ईन्दु अधिकारी ~ 

Indu Adhikari

आँचल कुमार शर्मा

कुवा हुन्थ्यो र जल कन्चन हुने गर्थ्यो कुनै बेला
कुवामै जूनको मापन हुने गर्थ्यो कुनै बेला

डराए झैँ लजाए झैँ उनी सामु हुँदाखेरि
मुटुमा जोडको धड्कन हुने गर्थ्यो कुनै बेला

प्रशंसाको अगरबत्ती जलाएको थिएँ ज्यादै
उनी देवी भजन कीर्तन हुने गर्थ्यो कुनै बेला

म राधा हूँ हजुर कृष्ण भनेको बोली गुञ्जिन्छ
जहाँ जान्थ्यौँ त्यो वृन्दावन हुने गर्थ्यो कुनै बेला

~ आँचल कुमार शर्मा ~ 
Aanchal Kumar Sharma

आँचल कुमार शर्मा

अभि क्षेत्री समर्पण

कत्रो रहेछ र पोखरी आखिर आँखामा 

जति बगे पनि रित्तिदैन पीर आँखामा 

जहाँ हेर्न निषेध छ त्यहिँ पुग्यो नजर 

हलचल मच्चियो फेरो स्थिर आँखामा 

उस्तै देख्छु आकृति हरेक अनुहारमा 

झुण्डिए छ क्यारे तिम्रै तस्बिर आँखामा 


~ अभि क्षेत्री समर्पण ~ 

Avi Chhettri Samarpan