अजय बैरागी

घरिघरि डाक्टर साबको कामकाज मनपर्दैन
दीलमा देश दुख्या छ छात्तिको ईलाज मनपर्दैन

छोरो पाईलट बन्छु भने देखि झन् ऐठन बढ्यो
बाको घटना पछि आमा लाई जहाज मन पर्दैन

फुलको शौन्दर्य चन्द्रमा को चहक कृपा उसैको हो
भैगो उसको निम्ति कमसल अन्दाज मन पर्दैन

बिभेद बिभेद चल्यो घाटमा पुगेको लासमा पनि
अन्तिम चोटी मुर्दा लाई चिसो समाज मन पर्दैन


~ अजय राई बैरागी ~
Ajay Rai Bairagi

असिम सागर

ताज न हो एकछिन मात्र शिरमा सजिने  भनेको 

मान्छेको प्रेम हो मान्छेले बर्षौं सम्झिने भनेको 


जमिन बिर्सिनेहरुलाई गएर यो शेर सुनाई दिनु 

भकारी भरि भएर हो अनाज पोखिने भनेको 


~ असिम सागर ~

 Asim Sagar

फत्तेमान श्रेष्ठ 

Fatteman Shrestha

अनुराग खतिवडा

रुँदै रित्तिने छैन होला म जस्तै 

भए एउटा मैन होला म जस्तै 


मुमाको बलात्कारको मुख साक्षी 

यहि देशको ऐन होला म जस्तै 


~ अनुराग खतिवडा ~ 

Anurag Khatiwoda

पवन लामिछाने

 बाफ ठानोस् या ठोस के फरक पर्छ ?

दुनियाँले जे सोचोस् के फरक पर्छ ?


हिजो एउटा लगाइदियौ भोग्दै छु अझै 

लगाइदेऊ अर्को दोष के फरक पर्छ ?


देखुन्जेलको संसार हो यो भोगुन्जेलको 

जिन्दगानी ढले ढलोस् के फरक पर्छ?


नजिक आए देखाइदिन्छु दिलको घाउहरु 

पर जालाउ दुई चार कोस के फरक पर्छ ?


~ पवन लामिछाने ~

Pawan Lamichhane


पवन लामिछाने

हाल: टेक्सास, अमेरिका

दीपक जडित

यति सजिलै बद्लिएर जाने यो जीवनमा लय कहाँ?

जबरदस्ती बदल्न पनि ल्याउन सकिन्छ प्रलय कहाँ ?


रुन चाहीँ त खोजेकै हो मेरो मनले पनि अलिकति,

सुन, ए! आँसु तर तिमीसँग खेल्ने मेरो समय कहाँ?


अर्कै थिएँ म, बदल्दैछौ; फेरि पैले झैं खोज्यौ भने,

म भित्र घरि घरिलाई परिवर्तनको विषय कहाँ?


दुखाई रहने केही क्षेत्र भत्कियोस् भन्छु यो मुटुको,

मनको खेतमा त्यति सजिलै आउने रहेछ भूक्षय कहाँ?


सकुँ बदल्न केही न केही यै कामनाले दु:खी बनिरहें,

स्वयं बद्लिएँ अनि सुखमा छु दु:ख फर्कने भय कहाँ?


जो रंगहरू भन्दा माथि थियो त्यो बुद्ध मैले कालो देखें, 

शरण खोजुँला कुनैदिन तर त्यो क्षण मेरो आश्रय कहाँ?


मैले आफैंलाई जित्नु पर्नेछ मेरो युद्धमा तिम्रो दरकार छैन,

तिमीसँग त प्रेम छ प्रेममा विजय कहाँ पराजय कहाँ?


समयको थप्पडले निभाएपछि माटोको भाँडो रह्यो दीपक,

अब माटोसँग, माटोको भाँडोसँग मैले खोजेको विनय कहाँ?


~ दीपक जडित ~

Dipak Jadit

अन्जान यात्री

न मृत्युलाई अँगाल्न सक्छु न आफुलाई सह्माल्न सक्छु 

गुलाफ जस्ता छन् याद मनमा न राख्न सक्छु न फाल्न सक्छु 


सियो बनेर पसेको मान्छे के होला फाली बनेर जाँदा 

हृदय विदारक मुटुको घाउ न हेर्न सक्छु न टाल्न सक्छु 


खुशीको आँशु बहेको हेर्ने रहरहरूमा रुँदैछ आँखा 

म आफुलाई बगर बनाई नदी र सागर नियाल्न सक्छु 


हजार आँखाहरू हुँदा हुन् प्रिया ती तिम्रा सफरहरूमा 

तिमी मेरी हौ यो कल्पना मै म सारा जीवन छिचाल्न सक्छु


~ अन्जान यात्री ~

Anjan Yatri

अन्जान यात्री

शेखर बिकल्प

 मनमा निकै तनाब भयो 

जब उनको दबाब भयो 


काँडा रोज्ने धेरै हुँदा 

अपमानित गुलाब भयो 


तराजुमा तौलिएर 

पिरतीको हिसाब भयो 


उ जिन्दगी पियो गयो 

मेरो हातमा किताब भयो 


म पिउन्न भन्दा भन्दै 

आखिर साथि सराब भयो 


~ शेखर बिकल्प ~

Shekhar Bikalp