मिलन मार्शक

राजा हुने मन भैदिन्छ रानी देखेर

मनको प्यास मेटिदैन पानी देखेर


अक्सर  फकिर  पनि जल्ने गर्छ

अर्काको कर्मको आम्दानी देखेर 


दिनहुँ काउकुती लगाउछ मलाई 

बैशले उन्मुक्त तिम्रो जवानी देखेर 


रमाईलो लाग्छ कैले दिक्क लाग्छ

कुरा फेरीरहने उनको बानी देखेर 


मेरा दस पुस्ता पनि नपुगुन भन्छु  

तिम्रो जवानी बेच्ने राजधानी देखेर

~ मिलन मार्शक ~

Milan Marshak



मिलन मार्शक

डोटी


थप गजलहरु:


गजल-१

खुसीको भेल आउने  एक  बृहत नदी दिँदै छु 

नफ्याक्नु  चिनो  सम्झेर मैले जिन्दगी ‌दिँदै छु


पिडा छन् मनभरी खुब रोएको छु  भित्रभित्रै 

बाहिर बाहिर देखाउन भएपनि हाँसी  दिदै छु 


प्रस्ताव गर्नेहरुको के कुरा, ताँती लागेका  छन् 

सबैलाई छोडेर तिमीलाई पालो अगाडि दिँदै छु 


रगत तात्छ, आँखा देख्दिन, कान सुन्दिन , प्रिया 

तिम्रो यति ठूलो गल्तीलाई नि आज माफी दिँदै छु 


ए ! फूल चलन चल्ती  यस्तै  छ, मलाई  माफ गर्नु 

आज मेरो प्रेम फूलाउनलाई तिमीलाई चुँडी दिँदै छु


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-२

हिजो कस्ता थिए के थिए  के भैसकेछ्न

मलाई तँ भन्नेहरु तपाई भन्ने भैसकेछ्न


झुट बोलेर तिमिले झुटलाई झुट बनायौ

हेर्दाहेर्दै झुटहरु पनि सद्दे भैसकेछन


मेरो दु:खमा रुदैनन खुसीमा खुसी हुन्छन

कोहि कोहि यसरी पनि मान्छे भैसकेछन।


नराम्रोले कहिलेकाही राम्रो पनि हुदोरहेछ 

बेइज्जत पछि गाउँलेहरु सभ्य भैसकेछ्न


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-३

फूल तिम्रो हातमा पत्थर तिम्रो हातमा छ

मार्ने बचाउने कुरा ईश्वर तिम्रो हातमा छ


खुल्ला छाड या ताला लगाऊ तिम्रो खुसी 

जिन्दगीको चाबी अक्सर तिम्रो हातमा छ


भलै कैयौँ रहर होलान मैले पूरा गर्नुपर्ने

पूरा गर्नुपर्ने एउटा रहर तिम्रो हातमा छ


सुम्पिएँ सारा खुसी  बिर्सिएँ अतितलाई 

सजाउने वा भत्काउने घर तिम्रो हातमा छ


जता लगेपनि हुन्छ जे गरेपनि हुन्छ सरकार

नदी तिम्रो हातमा छ बगर तिम्रो हातमा छ


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-४

गाउँमा पनि शहरमा पनि नपत्याए हेर

जिन्दगी कट्छ भरमा पनि नपत्याए हेर


औलाले चिमोटेको घाउ कोट्याईरहन्छु

छ मिठास असरमा पनि नपत्याए हेर


नदीको  जिन्दगी  मात्र  जिन्दगी  हैन

जिन्दगी छ बगरमा पनि नपत्याए हेर


खोजी गरिरहेछौ कुनै सुनसान ठाउँको

सुनसान हुन्छ घरमा पनि नपत्याएर हेर


दिललाई पत्थर बनाईसके भन्दै रहेछौ

हुन्छ दिल पत्थरमा पनि नपत्याए हेर


 ~ मिलन मार्शक ~

Milan Marshak