फूल हो काँडा भनि जनाउँछन् र जान्छन्
आउनेहरु जिन्दगी बनाउँछन् र जान्छन्
मेरा आफन्त जस्तै बनेका छन् तिम्रा यादहरु
आउछन् निकैबेर जलाउँछन् र जान्छन
घर बगायो बाबु मरे र आमाले छाडिन
पत्रकार त्यहि कुरा चलाउँछन् र जान्छन
के दूश्मनी थियो सदियौं देखि लाससँग
मलामी आएर आगो सल्काउँछन् र जान्छन
~ देवेन्द्र आचार्य ~
Devendra Aacharya

डा.देवेन्द्र आचार्य
कोहलपुर नगरपालिका -२,
मनकामना चोक
बाँके
नेपाली गजल, गीत लेखनमा सक्रिय डा.देवेन्द्र आचार्य पेशाले चिकित्सक हुन् ।
थप गजलहरु:
सफरमा आगो र पानी थियो
बचेको यही जिन्दगानी थियो
सपना आउन डराइरहेछन्
गोली र राइफलको सिरानी थियो
रात र दिनलाई मिलाउन खोजे
गोधुली थियो र बिहानी थियो
म वषौँ पछि घर आएको छु
आउदाँ सबथोक खरानी थियो
गजल-२
मेरो चेहेरामा कतै हाँसो छैन
ऐनासँग पनि कुनै गुनासो छैन
जल्ने दुनियाँ हो जल्नदेऊ मित्र
यो समयलाई पनि त चासो छैन
परदेशी छोरो घर फर्केको छ
आँशुको शिवाह नासो छैन
बरु मारिदेउ तिम्रो नजरले
छुरी या जहरको खाँचो छैन
गजल-३
मनमा आइरहेछ कोइ हेर
मलाई नै थाहा छैन खोइ हेर
मेरो चोट तिमीलाई महशुस हुनेछ
पैला आँशु ननिकालेर रोइ हेर
वर्षौदेखि ऐना पुछिरहेछौ
एकपटक मनलाई धोइ हेर
गुलामीको पनि एउटा हद हुन्छ
बरु आफनै पाउलाई छोइ हेर
गजल-४
गोली थियो हतियार थिएन
युद्ध लड्नुको कुनै सार थिएन
आफन्तहरुकै विरुद्धमा हो
धाँवा बोल्ने अधिकार थिएन
मन तोडेर गएकि हौँ तिमी
तिम्रा विरुद्ध कुनै प्रतिकार थिएन
बारम्बार झुक्काउछ ऐनाले पनि
किन आफ्नै चेहेरासँग प्यार थिएन
बन्न त म एउटा डाक्टर बनेको छु
तिमीलाई बचाउने उपचार थिएन
गजल-५
बा र आमालाई जिन्दगीको साँधमा राखेर
उ हिँड्दैछ देशलाई काँधमा राखेर
सरकार मलाई अलिकति राहत देऊ
म आएको छु घरखेत बाँधमा राखेर
ती नानीहरुलाई देशले कहाँ उभ्याउला
आज नक्शा कोर्दैछन कलम हातमा राखेर
तिमीले नै हिर्कायौ मेरी आमाको आयूलाई
मैले ओखती छोडेको थिए काँचमा राखेर
लैजा उज्यालोको हदभन्दा नजिक लैजा
जिन्दगी तँलाई भोग्नु छैन रातमा राखेर
~ देवेन्द्र आचार्य ~
Devendra Aacharya