डबलबहादुर महतारा

घृणा–विद्वेष नराख्नू जातको आधारमा

नबिगार्नू  सद्भाव   थातको   आधारमा


मेरर भोलि जानुछ सबैले  यो  ठाउँबाट

नगर्नू लुट्पाट कसैले रातको आधारमा


मान्छे सबै यौटै हुन्, यौटै भएर बस्नुछ

नछुट्याउनू विभेद भातको आधारमा


जरा–काण्ड नभए, जल–जमिन नरहे

रुख  पनि  टिक्दैन पातको  आधारमा


त्यागौँ सबै अहङ्कार, धुत्र्याइँको भावना

समाज अब चल्दैन  मातको  आधारमा


~ डबलबहादुर महतारा ~

Dabal Bahadur Mahatara




नाम : डबलबहादुर महतारा

आमा : कैली महतारा

बुवा : झाउँरे महतारा 

ठेगाना : अदानचुली - १ कल्खे, हुम्ला

हाल : गुलरिया - २, बर्दिया

शिक्षा : स्नातकोत्तर 

जन्ममिति : २०३८ साल असोज ७ गते

प्रकाशित कृति :

-मुक्तियुद्ध, खण्डकाव्य (२०६६)

-हृदयको संसारभित्र, गजलसङ्ग्रह (२०६७)

-जुग जगाउँदाखेरि, संस्मरण (२०७८)

-आधुनिक नेपाली व्याकरण, सम्पूर्ण नियम : सबैका लागि (२०८०)

-विभिन्न सञ्चार माध्यमहरूमा गीत, कविता, निबन्ध, कथा, गजल, हाइकु, मुक्तक, एकाङ्कीलगायत लेखहरू प्रकाशित ।


थप गजलहरु:


गजल-१

एक टुक्रा जमिन  छैन  सुकुम्वासीको

जिन्दगीको एकिन छैन सुकुम्वासीको


हाँसो, खुसी, आशा सबै लुटिएका छन्

सोचे  जस्तो  दिन  छैन  सुकुम्वासीको


उजाड छ जिउने आधार भत्काइदिएपछि

जीवन–जगत  रङ्गिन  छैन  सुकुम्वासीको


झेल्नुपर्छ  समस्या,  लड्नुपर्छ  सधैँ

सत्तामाथि अधीन छैन सुकुम्वासीको


खोज्ने बेला भएको  छ, अधिकार  यहाँ

अरू जस्तै किन छैन सुकुम्बासीको ??


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-२


सत्ताको खोलमा अपराध हुन्छ

मासुको झोलमा अपराध हुन्छ


मान्छे मारे पनि कानुन लाग्दैन

तराजुको तौलमा अपराध हुन्छ


बुझ्दैनन् गाइने ¥यापमा  डुबेर

मादल र ढोलमा अपराध हुन्छ


भुक्छन् मात्र, टोक्दैनन् कहिल्यै

भुस्याहा, टोलमा  अपराध  हुन्छ


सुनपानी  छर्केर अपराधीहरूलाई

राजनीतिको मोलमा अपराध हुन्छ


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-३


खनिएका बाटाहरू अधुरा छन् यहाँ

झुपडीका घाम किन मधुरा छन् यहाँ


कैले आउँछ वसन्त, कैले  ल्याउँछ  बर्षा

उजाड–उजाड, मरुभूमि चुचुरा छन् यहाँ


बुवाले नै छोराको गास खोसिदिएपछि

ओढार जस्तै कुप्रिएका पुर्पुरा छन् यहाँ


पहाडले नबुझ्दिँदा मौनताको भाषा

उदाएका जुन पनि टुहुरा  छन्  यहाँ


बिन्ती हजुर नभत्काइदेऊ सुन्दर मेरो स्वर्ग

अमर भई जिउने  सपना  अपुरा  छन्  यहाँ


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-४

बाढी, पहिरो, डुबान गरिबको समस्या

दुःख, कष्ट र थकान गरिबको समस्या


खान्छ आरामले धनी महलमा बसेर

घर छोडेर मुग्लान गरिबको समस्या


जस्लाई घरिना छान्यो उसैले रित्याउँछ

कस्ले गर्दिन्छ उठान गरिबको समस्या ??


हाँसिरहेछ खित्का छोडेर यो दुनिया

तर, खुलेन बिहान गरिबको समस्या


किन थन्कियौ ? तिमी सिंहदरबारभित्र

निस्क गर्नलाई निदान गरिबको समस्या


~ डबलबहादुर महतारा ~

Dabal Bahadur Mahatara