सरस्वती पौडेल

भएन हतार, भएन केही तनाव, यो पनि ठिकै भो
यो वर्ष पनि आएन प्रेमप्रस्ताव, यो पनि ठिकै भो।

खुसीकै लागि भाचिन्थेँ कयौं फूलका जिन्दगीहरु,
कमसेकम जोगियो एउटा गुलाब, यो पनि ठिकै भो।

घर बिग्रीदो हो, मन बिथोलिदो हो,भट्टी जादो हुँ ,
अरे!चाख्नै परेन ज्यानले सराब, यो पनि ठिकै भो ।

लेखिदो हो प्रेमका पत्र,पढिदो हो कयौं किताबहरु,
आखिरमा च्यात्नै परेन ती किताब, यो पनि ठिकै भो।

एकै छिन मजा बनेर पनि, मजाक बन्दो हो जिन्दगी ,
गर्नै परेन यस्ता अगणित हिसाब, यो पनि ठिकै भो।

~ सरस्वती पौडेल ~
Saraswati Paudel


सरस्वती पौडेल
भरतपुर ५, चितवन


थप गजलहरु 

१. गजल

आज बिहानै समाचार आयो भन्डरा बाट
सम्झेर तिमी आउने भए आउ पोखरा बाट।

सुख्खा छु, रुखो छु भनेको पनि वर्षौं भयो,
भिजाईदिन्छु एक नहरले मन को गरा बाट ।

हुन देउ ,आजाद हुन देउ प्रेमको आँकुरालाई,
कोहि अझै रोइरहेछ यहाँ प्रेमकै पिँजरा बाट ।

हिजो मसाल उठाएर शहर उज्यालो बनायो
आज त्यै टुकि निभ्यो त्यो गाउँको टहरा बाट ।

एक तिमी मुस्कुराउ फूलको बाग बाट यसैगरी
अर्को आमा मुस्कुराउछिन घरको ओसरा बाट।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

२.  गजल

लाग्छ अझै मैले लेखेको चिट्ठी शहर पुगेको छैन
गाउँमा अस्पताल पुगेको छ, डाक्टर पुगेको छैन

उ त्यो तुईनमा झुन्डिएको देशको भविष्य हो बाबु
कोहि बिद्यालय पुगेको छैन, कोहि घर पुगेको छैन

~ सरस्वती पौडेल ~
Saraswati Paudel