कमल अर्याल

नदीको नि जुनदिन ,हतारो सकिन्छ 
किनाराहरूको ,उज्यालो सकिन्छ 

म बेहोसमा छु , गुनासो नगर्नु 
गुनासाहरूको , गुनासो सकिन्छ 

मलाई नसोध्नु ,कहाँको सफर हो 
न यात्रा सकिन्छ, न बाटो सकिन्छ 

पीडा बिर्सिएर ,तिमी मुस्कुराउ
पुगी टाकुरामा ,उकालो सकिन्छ 

खुशीले नभन्नु , खुकुरी मित्र पाएँ
जहाँ काटिएर , अचानो सकिन्छ 

~ कमल अर्याल ~
Kamal Aryal 


नाम : कमलप्रसाद अर्याल (Kamal Prasad Aryal)
साहित्यिक नाम : कमल अर्याल
माता / पिता : बालकुमारी / रामप्रसाद अर्याल
जन्मस्थान : अमराई, मैदी, धादिङ (हालको ज्वालामुखी गाउँपालिका ३, धादिङ)
स्थायी ठेगाना : रत्ननगर नगरपालिका ३, चितवन
सम्पर्क: ९८४१४३९७४०, इमेल kamalaryal2016@gmail.com

शैक्षिक योग्यता : स्नातक
पेसा : व्यवसाय
संलग्नता :
– कोषाध्यक्ष, वाल्मीकि साहित्य सदन, चितवन
– सदस्य, वाङ्मय परिषद्, रत्ननगर, चितवन
– अध्यक्ष, काव्यकुञ्ज साहित्य प्रतिष्ठान, रत्ननगर, चितवन
– आजीवन सदस्य, हाम्रो मझेरी साहित्य प्रतिष्ठान
– आजीवन सदस्य, पल्लव साहित्य प्रतिष्ठान
– आजीवन सदस्य, गजलमञ्च चितवन
– आजीवन सदस्य, कालीगण्डकी साहित्य समाज, चितवन
– सदस्य, चितवन साहित्य परिषद्, चितवन
– जिल्ला सदस्य, नेपाली लेखक संघ, चितवन
– जिल्ला सदस्य, विश्व हिन्दु महासंघ, चितवन
 
पहिलो रचना : गरीबको आँसु (गद्य कविता)
पहिलो गजल रचना : रिसाउँदा (वि.सं. २०५३)
लेखनको विधा : कविता, कथा, नियात्रा
सर्वप्रिय उपविधा : गजल
प्रकाशित कृतिहरू :
– इ–प्रतिनिधि नेपाली गजलहरू (संयुक्त गजलसंग्रह÷२०७०)
– हैसियत २ (संयुक्त गजलसंग्रह÷२०७१)
– तिमी आउनुअघि (गजलसंग्रह÷२०७१)
– अक्षरहरूको पिरामिड (संयुक्त गजलसंग्रह÷२०७२)
– तिमी आएपछि (गजलसंग्रह÷२०७३)
– शब्दशिविर (संयुक्त गजलसंग्रह÷२०७४)
– लौरो (गजलसंग्रह÷२०७५)
– उत्तरकी अप्सरा (यात्रासाहित्य÷२०७५)
– राष्ट्रिय बहरमाला (संयुक्त गजलसंग्रह÷२०७७)
सम्पादन :
– सम्पादक, सम्प्रेषण साहित्यिक पत्रिका (सामुहिक सम्पादन)
– प्रधान सम्पादक, निकुञ्ज साहित्यिक पत्रिका (सामुहिक सम्पादन)
सम्मान÷पुरस्कार :
– गजलरत्न पुरस्कार, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर, चितवन (तिमी आउनुअघि गजलसंग्रहका लागि)
– सिर्जन साहित्य सम्मान, सिर्जन साहित्य प्रतिष्ठान गैँडाकोट
– साहित्य सम्मान, नमस्ते साहित्य परिषद्, ओखलढुङ्गा
– वाल्मीकि साहित्य सम्मान २०७६, रत्ननगर, चितवन
– स्रष्टा सम्मान २०७६, रत्ननगर नगरपालिका, चितवन ।
– द्वारिका नेपाल गजल स्मृति पुरस्कार २०८०, गजलमञ्च, चितवन ।
विशेष अभिरुचिको क्षेत्र : लेखन तथा भ्रमण
गजलमा गरेको योगदान : गजलका नव सर्जक तथा स्थापित गजलकारहरूलाई एकै मञ्चमा राखेर गजलको उत्थानमा प्रभावकारी भूमिका निर्वाह गरेको ।
साहित्य बारे धारणा : साहित्य मन बहलाउने माध्यम हो । यो जीवन यात्राको प्रमुख साथी पनि हो ।


गजल बारे धारणा : गजल गेयात्मक उपविधा हो । यसको वैशिष्ट्य सङ्गीतका माध्यमबाट अझ बढी खुल्छ । मुलामय भाषाशैलीमा प्रकटित हुने गजललाई प्रतीकात्मकता र ध्वन्यात्मकाले अझ स्तरीय बनाउन मदत गर्दछ । सरलता र सहजता गजलका प्राण हुन् । अर्थ तथा संरचनाको विचलनले गजलको स्तरीयतालाई बढाउँछ ।