अप्ठ्यारो यो जिन्दगीको खोला तर्न गार्हो रै'छ
अञ्जुलीमा आँसुको थोपा भर्न गार्हो रै'छ
आँखाबाट सपनाहरु पग्लिएर झरेपछि
उल्लासको बस्तीमा बसाइँ सर्न गार्हो रै'छ
निष्ठुरी भई मालीले नै फूलको घाँटी रेटे पछि
आफ्ना भन्नेहरू सँग विश्वास गर्न गार्हो रै'छ
जता ततै आशंकाको दाउपेच चले पछि
मुटु भित्र आस्थाको बीउ छर्न गार्हो रै'छ
ओत दिने छानो पनि अनायास ढले पछि
सुरक्षाको टेको सँग भर पर्न गार्हो रै'छ
पासो लागी मर्नेहरू खै कसरी मर्छन कुन्नि
आफन्तलाई बिर्सिएर चट्ट मर्न गार्हो रै'छ
~ विवस पोखरेल ~
Bibas Pokharel
विवस पोखरेल
विराटनगर