दीपक समीप

तिमी गएदेखि ममा उमङ्ग, दम भएन
देब्रे छाती दुखिराख्न कति कम भएन

सुखदु:ख बिसाउने हाम्रो चौतारी थ्यो
तिमी बिना मलाई कहीँ रमझम भएन

उ बेला तामा, तुलसीले सबै बकाउथ्यो
आजभोलि त कसम पनि कसम भएन

यो समृद्ध शहरमा म जन्मजात गरीब हुँ
सायद धन नभएकैले ममा अहम भएन

देशमा भर्खरै दु:ख प्रतियोगिता भयो
म हुँदाहुँदै यहाँ कोहि पनि प्रथम भएन ।

~ दीपक समीप  ~
Dipak Samip

दीपक श्रेष्ठ  'समीप ' 

पोखरा 

प्रकाशित कृति: भुगोल भित्र नकोरिएको देश (गजल संग्रह) (२०६२)  

थप गजलहरु  

बाँझो खेतमा बिउ छरेर के फाइदा
घाटाको ब्यापार गरेर के फाईदा

पढ्नको गार्होले एक थरि भन्छन
पाईन्न जागिर पढेर के फाईदा

शहरका घरबेटी सबै उस्तै हुन्
डेराबाट डेरा सरेर के फाईदा


~ दीपक समीप  ~

Dipak Samip