केशवराज आमोदी

बेँसी उस्तै गाउँ उस्तै सहर उस्तै मान्दै छु म
अमृत पिए पनि मीठो जहर उस्तै मान्दै छु म

उकाली र ओरालीझैँ जिन्दगी यो बिते पनि
आन्दोलनका तीता–मिठा कहर उस्तै मान्दै छु म

सक्कली र नक्कलीको रुप उस्तै भएपछि
सडक र सदनको ठहर उस्तै मान्दै छु म

जिन्दगीको सङ्घर्षको राजमार्ग चुनेपछि
गाँस, बास, कपासको रहर उस्तै मान्दै छु म

नयाँ नेपाल बनाउन आजैदेखि जुट्दा
गरिबीको तरङ्गमा लहर उस्तै मान्दै छु म

नेता, मन्त्री, सांसदको भ्रष्टाचारी कथा सुन्दा
तास खेल्दा नहर र दहर उस्तै मान्दै छु म

जनजिन्दगीको कथा गजलमा लेखे पनि
छैन रस लय मात्रै बहर उस्तै मान्दै छु म

~ केशवराज आमोदी ~
Kesaabraj Aamodi



केशवराज भट्टराई
ठेगाना : रत्ननगर, चितवन
माता / पिता: दमयन्तीदेवी र कमलाकान्त भट्टराई
शिक्षा : स्नातक
पेशा: अध्यापन सेवाबाट निवृत्त

प्रकाशित कृति:
-हिमाल रुन्छ उपन्यास(२०४८)
-काव्य, गजल, मुक्तकसङ्ग्रह

पुरस्कार/सम्मान:
- वाल्मीकि साहित्य सम्मान (२०६०)
- मातृभूमि साहित्य सम्मान (२०६६)