खेम बगर

हामी सँगै हिडेको छाया झैँ भयो
फूल पनि अहिले काँडा झैँ भयो

यो देशको एउटा बेरङ्गिन चित्र
आँखामै बस्यो आँखा झैँ भयो

तिमी थियौ र पूरा थियो जिन्दगी
तिमी गएपछि आधा झैँ भयो

दुख,पीडा,अभावले तला थपिरहे
सुख भनेको भुइँतला झैँ भयो

न छुन मिल्ने , न सधैं हेर्न मिल्ने
हाम्रो सम्बन्ध जून तारा झैँ भयो

कहिल्यै पुगेन तिम्रो दिलको बगैंचामा
जिन्दगी बार्दलीको गमला झैँ भयो

बारम्बार बिउझाउन खोजिरह्यो नदी
ओहो"बगर" भने मुर्दा झैँ भयो


~ खेम बगर ~
Khem Bagar



खेम बगर

अछाम, 

हाल-नेपालगन्ज, बाँके



थप गजलहरू

गजल-१
 
आफुले आफैंलाई जितेको छैन
भन्न त भनें तिम्लाई सम्झेको छैन

आफ्नै रफ्तारमा चल ए जिन्दगी
घडी अझै पनि रोकिएको छैन

बन्द कोठामा थुनिएको हावा हुँ
म तिम्रो अधर सम्म पुगेको छैन

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-२

हेर्नुहोस् शतप्रतिशत यस्तो पनि हुन्छ
कालो, सेतो, रातो रगत यस्तो पनि हुन्छ

आफू सुन्दर हुनुको महसुस गर्न सकेनन्
फूलहरूको हैसियत यस्तो पनि हुन्छ

तिमी बाहेक अरु हेर्न मान्दैनन् आँखा
यो आँखाको लत यस्तो पनि हुन्छ

बोल्दा पनि बोल्दैनन् सम्झिन्न पनि होला
ओहो कसैको नफरत यस्तो पनि हुन्छ

यो सिङ्गो नदी पिएरै रित्याउन सक्ने
बगरको हिम्मत यस्तो पनि हुन्छ

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-३

आफूले आफैंलाई धोका दिन्न भनेको
अब जिन्दगी बनाउछु भिन्न भनेको

आखिर त्यहीँ छाया रहेछ जिन्दगी
उज्यालो आएपछि देखिन्न भनेको

तिमी बिना पनि बाँचिरहेको छु अझै
तिमी बिना एकछिन बाँचिन्न भनेको

लाग्दैन बाडुल्की अचेल,सम्झिन कोही
सायद बिर्सियो होला बिर्सिन्न भनेको

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-४

दुनियाँका सारा खुसी लिन पाएँ
बारम्बार तिम्रै हातले मेटिन पाएँ

उदारोमा पनि बिक्री भएन म
र त तिम्रै दिलमा थन्किन पाएँ

फेरि फूल जस्तै मुस्कुराउने छु
फेरि तिम्रो शिरमा सजिन पाएँ

अन्धकारको जुनकीरी हु म
अध्यारो आएपछि देखिन पाएँ

पाउजु बनेको छ यो जिन्दगी
एकछिन तिम्रो खुट्टामा बेरिन पाएँ

बर्षौ पछि आफैंलाई ऐनामा देखेँ
बर्षौ पछि आफैंलाई सम्झिन पाएँ

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल-५ 

तिम्रो ओठमा फुलेका राता फूलहरूले
बोक्छ्न आगोका ज्वाला राता फूलहरूले

फकीरको उपमा पाएका रहेछ्न्
हामीले बाटोमा छोडेका राता फूलहरूले

प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्
आफैं जलेका राता राता फूलहरूले

फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्
हामीसँगै हिडेका राता फूलहरूले

फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्
नाथे रंग उडेका राता फूलहरूले

सपनाहरूलाई काँडा बनाउने रहेछ्न्
आँखामा जमेका राता फूलहरूले

अझैसम्म प्यास मेट्न पाएका छैनन्
बगरमा झरेका राता फूलहरूले

~ खेम बगर ~
Khem Bagar