तिमी नहुनुको पनि त असर लाग्दैन
बरु उज्याला मान्छेहरुसँग डर लाग्छ
म अन्धो हुँ अँध्यारोसँग डर लाग्दैन
बनाउन त त्यो महल मात्रै बनाएछौ
बा-आमा बिनाको घर, घर लाग्दैन
तिमी खास लाग्नुमा पनि केही अर्थ छ
म त पानी हुँ यार पानीमा तर लाग्दैन
भो ! नखोल्नुस् विश्वासका पोकाहरू
मलाई, म बाहेक कसैको भर लाग्दैन
हेर्नुस्, म दुखेर पनि एकदमै खुशी छु
दुख्नु र नदुख्नुमा कुनै अन्तर लाग्दैन
~ कपिल अन्जान ~
Kapil Anjan
कपिल अन्जान
कोहलपुर, बाँके
संलग्नता: नेपालीगजल.कम
थप गजलहरु:
गजल-१न त देखाउन मिल्ने कुनै खोट लाग्यो
धोका दिएर भन्छौ कहाँ चोट लाग्यो
लाग्छ हरेक दिन कसैले साटिरहेछ
यो उमेर यो रहर यो समय नोट लाग्यो
म त्यहीँ ढुङ्गा हुँ ओरालोमा फालिएको
उकालोमा पुगेपछि मात्रै ओट लाग्यो
प्रिय म सकिएको हुँ ती चुम्बनहरुले
तिमीलाई भने मेरो माया चुरोट लाग्यो
जहाँको त्यहीँ छन् ताली पिट्नेहरू
देश बनाउँछु भन्ने मान्छे भोट लाग्यो
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल-२
तिमीले बन्देज लगाएको सबथोकमा हो
म चिच्चाएको पनि त यही चोकमा हो
वृद्धआश्रममा लैजानुअघि यो ख्याल गर्नु
नौ महिना बसेकै आमाको कोखमा हो
बदला होइन, आउ पेटभरी खाएर जाऊ
तिमीले उपदेश दिएको मलाई भोकमा हो
यत्ति सानो कुरालाई मनमा लिएर बसेछौ
मैले माया गर्दिन भनेको यार झोकमा हो
~ कपिल अन्जान ~
Kapil Anjan