रासा

दुःखको ठेला ठेलेर कतिञ्जेल बाँच्नु 

रोगको तोरी पेलेर कतिञ्जेल बाँच्नु 


जिन्दगी यौटा पाएको समस्याकै भारी

मृत्युको खेल खेलेर कतिञ्जेल बाँच्नु 


के मात्र खाने होला है यस्तो महङ्गीमा

भोकको रोटी बेलेर कतिञ्जेल बाँच्नु 


यात्रामा एक्लो पर्दा नि आँट छोडिएन

कुण्ठाको साथ झेलेर कतिञ्जेल बाँच्नु 


सुन्दर चित्र हेरेमा चित्त सफा हुन्छ

छायाको रङ छेलेर कतिञ्जेल बाँच्नु 


~ रासा ~

Rasa 


रासा

काठमाडौँ 

रात निदाएको रातमा (२०५८)