राम अविरल बिष्ट

भरियाको पसिना पुछी दिने मन छ 

मलाई पिपल बनेर उभिन मन छ 


देशको सिमाना नाघ्ने बेलामा 

नदीहरु भन्दै थिए रोकिन मन छ 


च्यात्ने हरुलाई पनि पछुतो होस् 

मलाई रुपियाँ बनेर च्यातिन मन छ 


म प्रेमी हुँ मलाई अझै प्रेम गर्न मन छ 

जस्तो भाँचिएको खुट्टालाई दौडिन मन छ 


***


अध्याँरो हुन्छ बेलुकि, लगी दिनुहोस

गाउमा फर्किदा टुकि, लगी दिनुहोस


बा आमालाई मेरो खबर भए पुग्छ

बहिनि छ यो पटुकि, लगी दिनुहोस


सात समुन्द्र पारि पुगे मेरा मान्छेहरु

देशमै छुट्यो ढुकढुकि, लगी दिनुहोस


त्यो सानो नातिको मुख हेर्ने रहर छ

आश्रममै पो मर्छुकि, लगी दिनुहोस


घरमा खुशि छैन भन्दै रुदै थिए नानिहरु

रङ्गिचङ्गि बेलुन फुकि, लगी दिनुहोस 


***


बाटो काट्यौँ बाटोले - आगन काट्यो

अनि देश काट्ने औलाले रिबन काट्यो


खै कस्तो आन्दोलनको तयारि हुदै छ

अभ्यास हो भन्दै उस्ले गर्धन काट्यो


लाग्छ, बुहारिेको चलखेल सुरु भयो

छोराले पहिलो पटक बचन काट्यो


जवानी सरकार,सरकार भन्दै काट्नेछ

माटो खाएर भर्खर बच्चपन काट्यो !


तरबार जस्तै रहेछ तिम्रो बोली पनि 

कतै सम्बन्ध काट्यो कतै मन काट्यो


~ राम अबिरल बिष्ट ~

Ram Abiral Bista