लक्ष्मी दत्त पन्त 'इन्दु'

अघीदेखी गडेको प्रेम रहेको क्यै न क्यै होला

न बोले भित्र मन्मा तुस् पसेको क्यै न क्यै होला ।।


जुलुमी तेस नयन् तीर्को सही पीर् खान्छ चोट जस्ले ।

मजा प्रेम्‌को पनि तेस्ले लिएको क्यै न क्यै होला ।


विना बाँच चिठी मेरो गरिन सव् साफ धुज्जा धूज्जा,

भन्ने, कुरा लगाएको कसैले क्यै न क्यै हेला ।।


सधै फिक्री र दुःख पीर्ले फुटी घाऊ छ छातीमा,

लगाऊ प्रीतिको मल्हम् भनी आस् क्यै न क्यै होला ।।


निशाना यै छ एक् मेरो अघी कैल्हे नबिर्सिने,

बखत् बाजी हुँदा रस् वस् गरेको क्यै न क्यै होला ।।


भनेको छैन सब मैले खुलासा ल मन् खोली,

बरु कोही अरु देखी सुनेको क्यै न क्यै होला ।।


कडा ताप्को परी राप्मा कमल्-मुख कोपिलीएको,

झलक्कै इन्दु देखिंदा फुलेको क्यै न क्यै होला ।। 


~ लक्ष्मी दत्त पन्त 'इन्दु' ~

Laxmi Dutta Panta 'Indu'

लक्ष्मीदत्त शर्मा पन्त

मोती मण्डली


पुस्तक: सङ्गीतचन्द्रोदय

रचनाकारहरु: मोतीराम भट्ट , लक्ष्मी दत्त पन्त 'इन्दु', गोपीनाथ लोहोनी 'नाथ', नरदेव सर्म्मा 'सुधा', मियां अंजद हुसेन 'अञ्जान', गजब, रत्नलाल 'रत्न'

प्रकाशित संस्करण मिती: वि. सं. १९६९ र अन्य धेरै