रमेश प्रभात

सकिएन फूलैफूलको हार चढाउन,
मन्दिरमा फूलको सट्टा झार चढाउन ।

डराएरै काटेको हुँ वर्षौं वर्ष मैले,
जान्दिनँ म खुकुरीमा धार चढाउन ।

हिजोआज जति बेला थाकेजस्तो लाग्छ,
गाह्रो हुन्छ शिरमाथि भार चढाउन ।

साइकलमै बित्यो मेरो सिङ्गो जिन्दगानी,
कहाँ सक्छु तिमीलाई कार चढाउन ?

जति दुस्मन बने पनि आफ्ना छोराछोरी,
सक्दिन भो घरभित्र बार चढाउन ।


~ रमेश प्रभात ~
Ramesh Prabhat

 


रमेशकुमार श्रेष्ठ
जन्ममिति : असार ६ गते
आमा / बाबु : पुनिमाया / हर्कबहादुर श्रेष्ठ
जन्मस्थान : साविक पुर्कोट गाविस वार्ड नं. ३, खरीपानी गाउँ, तनहुँ जिल्ला, गंडकी अंचल
स्थायी ठेगाना: भरतपुर-१५, मंगलपुर, चितवन
हालको बसोवास : भरतपुर -१०, स्वस्तिक टोल, मनकामना चोक, चितवन
सम्पर्क नं. : 9855048091, इमेल : rameshprabhat29@gmail.com
शिक्षा: एम् फ़िल् / एम् ए / एम् एड् (नेपाली) (त्रिभुवन विश्वविद्यालय)
सम्प्रति : उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन

साहित्य विधा : बालसाहित्य, कविता, गीत, गजल, मुक्तक, हाइकु, लघुकथा र समीक्षा 
लेखन आरम्भ: वि.सं. २०४४ बाट
पहिलो प्रकाशित रचना र मिति : 'शहीदको पत्र' कविता, सन् १९९१ जनवरी १ (मातृभूमि साप्ताहिक) 
प्रकाशित कृति सूची
- प्रायश्चित्त (बाल चित्रकथा २०५२)
- सत्तालिप्सा (हाइकु संग्रह २०५४)
- शब्दहरू अविराम यात्रामा (संयुक्त कविता संग्रह २०५७) - अलिकति फरक कुरा (निसमालोचना २०८०) ।

सम्मान/पुरस्कार
- आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी सम्मान, २०७१ ।
- - अभिव्यन्जना साहित्य सम्मान, २०७२ ।
- मोतीराम गजल प्रतिभा सम्मान, २०७७ ।
- डिल्लीराम धनसरा राष्ट्रिय स्मृति सम्मान, २०८० ।
- चिसाप कृष्ण कृष्णा पुरस्कार, २०८० ।


साहित्यिक संलग्नता
- आजीवन सदस्य : चितवन साहित्य परिषद्
- आजीवन सदस्य : साहित्य सङ्गम, चितवन
- संस्थापक तथा पूर्व अध्यक्ष : अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन
- - पूर्व अध्यक्ष : गजल मञ्च, चितवन
- - पूर्व सचिव : साहित्य सङ्गम, चितवन
- - - सल्लाहकार : नेवा समाज, भरतपुर, चितवन ।

सम्पादन
- - साप्ताहिक नारायणी खबरपत्रिका ।
- - कुञ्जिनी, सुसेली, सौदामिनी, अभिव्यञ्जना, चरैवेति साहित्यिक पत्रिका ।
- - वागीश्वरी चितवन कविता विशेषाङ्क ।
- - चितवनका कवि र कविता ।

संलग्नता: नेपालीगजल.कम 
 

थप गजलहरु 

१. गजल
भिजाउँदा चामल यदि भात हुने भए,
सुखी हुन्थेँ सहयोगी हात हुने भए !

यो मनमा पीडा दिई जान्छ सधैं दिन,
मलम पट्टी लगाई दिने रात हुने भए !

छिट्टै आउँछु भनी वाचा गरिन् छुट्नुअघि,
छुट्ने बेला भनेजस्तै बात हुने भए !

कल्पनामा सुखी हुन्थेँ म पनि त सधैं,
सोचेजस्तै खुसीहरू खात हुने भए !

सपनीमा के-के देख्छु विपनीमा छैन,
'प्रभात' नै मेरा लागि मात हुने भए !

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

२.  गजल
   शीतको थोपा उठाएर घैला भर्छु भन्थिन् उनी,
   जिन्दगीमा यस्तै केही नयाँ गर्छु भन्थिन् उनी ।

   मलाई भेट्दा नयाँ विचार फुर्छ भन्ने गर्थिन् सधैं,
   प्रेमीलाई काम लाग्ने विचार छर्छु भन्थिन् उनी ।

   यो समाज उस्तै छ नि, नयाँ केही भा'को छैन,
   मेरो लागि परे हदै तल झर्छु भन्थिन्  उनी ।

   उनको र मेरो मिल्ने विचार मात्रै थियो यौटा,
   थाहा छैन किन तिम्रै भागमा पर्छु भन्थिन् उनी ?

  प्रेम नदी तर्नलाई सजिलो छैन थाहा छ,
  जिद्दी गर्दै तिमीसँगै पारि तर्छु भन्थिन् उनी ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

३. गजल
कपासबाट धागो भयौ तिमी हेर्दा हेर्दै,
छिटाबाट छाँगो भयौ तिमी हेर्दा हेर्दै ।

हराभरा वृक्ष थियौ दिन्थ्यौ पूरै छायाँ,
रित्तो रित्तो हाँगो भयौ तिमी हेर्दा हेर्दै ।

प्रेम फूल फुलाएर बस्थ्यौ डालीभरि,
कस्तो क्रुर टाँगो भयौ तिमी हेर्दा हेर्दै ।

मीठा मीठा कुरा गर्दै थियौ अघिसम्म,
किन बल्दो आगो भयौ तिमी हेर्दा हेर्दै ।

भरिपूर्ण थियो धर्ती तिमी पनि उस्तै,
'प्रभात'मै पाँगो भयौ तिमी हेर्दा हेर्दै ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

४. गजल
म पनि त कहीँकतै रानो बनेको थेँ,
चोट अति सहेँ र अचानो बनेको थेँ ।

लटरम्म फुले अरु झरिझुत्त भए,
फुल्न फल्न नजान्ने म गानो बनेको थेँ ।

के गरेर माथि पुगे सँगै हिँड्नेहरू ?
एकै ठाउँ रोकिँदा म सानो बनेको थेँ ।

तिमीमाथि गिध्देदृष्टि लगाइनँ कत्ति,
नदेखेझैँ गर्दाखेरि कानो बनेको थेँ ।

'प्रभात'मै नाप्न जोख्न जानिएन माया,
तिमी मुरी हुँदा मचाहिँ मानो बनेको थेँ ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

५. गजल
छ यो भेषमा के सबेरै सबेरै ?
भयो देशमा के सबेरै सबेरै ?

हिजो आज नौलो सुनेको छु केही,
र यो शेषमा के सबेरै सबेरै ?

छ जाली फटाहा गरी राज बस्दो,
गयो रेसमा के सबेरै सबेरै ?

धुरीमा बसी गिध्द खोज्दै छ केही,
न यो ठेसमा के सबेरै सबेरै ?

नयाँ के गरूँ भन्छ मेरो हितैषी ?
ल यो बेसमा के सबेरै सबेरै ?

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

६. गजल
विश्वभरि कोरोनाले मर्नु मरे कति ?
हुनेले नै नहुनेलाई हर्नु हरे कति ?

यस्तो बेला मानवता जाग्नु पर्ने हैन ?
लुट्नु ठग्नु यी मान्छेले गर्नु गरे कति ?

रोगभन्दा भोक ठूलो बन्दै गएको छ,
समस्या नै समस्यामा पर्नु परे कति ?

रोगसँग डराएर कति लुकी बस्नु ?
दुर्गतिमा पर्दै तल झर्नु झरे कति ?

एकजुट भई लडे जितिन्छ यो रोग,
मिलीजुली जङ्घारमा तर्नु तरे कति ?

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

७. गजल
समयले कस्तो कस्तो बनाउँछ ?
हेर मलाई तिमी जस्तो बनाउँछ ।

माथि भएको घमण्ड छोडिदेऊ,
गिराउँछ, साह्रै सस्तो बनाउँछ ।

को अडिन्छ शिखरमा जीवनभर ?
झर्नु रहेछ तल खस्तो बनाउँछ ।

चाहना त थियो लेप लगाउने,
अहिले खरानी घस्तो बनाउँछ ।

तिमी पनि मजस्तै गरिब थियौ,
देखेँ आज महल पस्तो बनाउँछ ।

समयको सदुपयोग गर्न नसक्दा,
बेहाल छु म हो यस्तो बनाउँछ ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

८. गजल
तिमी आयौ खुसी ल्यायौ रमाएको थिएँ पूरै,
नभागून् यी खुसी भन्दै समाएको थिएँ पूरै।

रुखासुक्खा थियो छाती मरुस्थलै बनेको थ्यो,
साँचेको थेँ र छातीमा जमाएको थिएँ पूरै।

थिएँ एक्लो जहाँ जाँदा जसो गर्दा चलेकै थ्यो,
तिमीलाई भनी मैले कमाएको थिएँ पूरै।

तिमीलाई खुसी राख्ने मनैदेखिन् थियो चाह,
तिमी जाँदा सबै चाहा थमाएको थिएँ पूरै ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

९.  गजल
आँखाबाट पस्यौ तिमी,
मुटुभित्र बस्यौ तिमी ।

एकान्तमा बसेको थेँ,
अँगालोमा कस्यौ तिमी ।

तिमीलाई सम्झी रुँदा,
आँसु बनी खस्यौ तिमी ।

मबाट के टाढा भयौ,
अन्तै कतै फस्यौ तिमी ।

देवी ठानी पूजा गरेँ,
सर्पले झैँ डस्यौ तिमी ।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

१०.  गजल
आफ्नो उमेर छ जवानी छैन भन्छिन् उनी,
रित्तो जीवन छ कहानी छैन भन्छिन् उनी ।

हिजो आज मान्छे देख्दा डर मात्रै मान्छिन्,
सँगै बस्ने मन छ बानी छैन भन्छिन् उनी ।

सपना देख्नलाई सुन्दर मन पनि चाहिन्छ,
अँध्यारो मात्र छ बिहानी छैन भन्छिन् उनी ।

साँच्चै विचार मथ्न सक्ने भए कस्तो हुन्थ्यो ?
पुरानो ठेकी छ मदानी छैन भन्छिन् उनी ।

सरकार विकासको कुरा गरेर थाक्दैन,
घरमा धारो छ पानी छैन भन्छिन् उनी  ।

~ रमेश प्रभात ~
Ramesh Prabhat