जैनेन्द्र जीवन

पक्रिएर हावालाई थुनामा राख्न खोज्दैछन्,
पन्छाएर देउतालाई कुनामा राख्न खोज्दैछन्

कुनै कमी छैन पाखण्डहरुको यो दुनियाँमा
समुन्द्रका छाललाई दुनामा राख्न खोज्दैछन्,

संख्या नै सबै थोक हो भनि साबित गर्न
शुन्यलाई शुन्यले गुनामा राख्न खोज्दैछन्

भित्र मुटुका तरँग र ढुकढुकीहरुलाई
बाहिर वस्त्रका तुनामा राख्न खोज्दैछन्

खुम्च्याएर उज्यालो त्यो सारा आशलाई
अँध्यारो कतै कुनामा राख्न खोज्दैछन्।

~ जैनेन्द्र जीवन ~
Jainendra Jeevan


जैनेन्द्र जीवन

पोखरा

सपनाहरुको पालोपहरा (२०३८)