नबुझ्दै जिन्दगीलाई यही हो भन्न मिल्दैन !
बलेको तेल हो या हो सलेदो, भन्न मिल्दैन ॥
कतै स्वर्गीय पन बोकी जिएको हुन्छु ए साथी!
तिमी ठेगान सोध्दै छौ? कहाँको भन्न मिल्दैन ॥
सुकेको खर भए पीडा, फिलिङ्गो हर्ष हो मानौँ ।
खुशी आखिर खुशी नै हो स-सानो भन्न मिल्दैन ॥
हिलो होला ममा केही, न छोऊ भो न हल्लाऊ!
कुवा सङ्लिन्छ छिनभरमै धमिलो भन्न मिल्दैन ॥
मिलौँ पानी र अमला झैँ झिकौँ हाम्रो मधुर स्वाद ।
मधुरता हुन्छ हामीमा कि आफ्नो भन्न मिल्दैन ॥
~ गौतम मनिष ~
Gautam Manish