हिउँदमा खहरेको सुकाई उस्तै उस्तै हुन्छ,
ठेस लाग्दा सबैलाई दुखाई उस्तै उस्तै हुन्छ !!
जुनै देश र सहरको दानापानी खाएपनि,
संसारका कुकुरको भुकाई उस्तै उस्तै हुन्छ !!
भूगोलको तलमाथि त्यो त एउटा बाहाना हो,
धानबाला जतापनि झुकाई उस्तै उस्तै हुन्छ !!
हाम्रो मन हावा होला सोच बिचार गर्नै पर्छ,
सबै रङ्ग बेलुनको फुकाई उस्तै उस्तै हुन्छ !!
ठुलाठुला मान्छेकानै गहकिला पीडा हुन्छन,
ती सबैको लगभग लुकाई उस्तै उस्तै हुन्छ !!
मन खत्री (सागर )
२०७७-३-१२