पूर्ण भण्डारी 'पङ्कज'

अचेल तिमी र जून उस्तै उस्तै लाग्छ ।

हल्दी पितल र सुन उस्तै उस्तै लाग्छ ।।


जून आकार बदल्छ र तिमी विचार ।

र त दोष र गुण उस्तै उस्तै लाग्छ ।।


जून आकाशमा छ र छौ धर्तीमा तिमी ।

तिम्रो खुसी र मनसुन उस्तै उस्तै  लाग्छ ।।


चिन्न नसके रङ्ग र ढङ्ग देखिन्छ उस्तै ।

हेर्नु कमेरो र चून उस्तै उस्तै लाग्छ ।


बग्ने त आखिर तरल नै हो बगिरहन्छ ।

नबुझेसि पानी र खुन उस्तै उस्तै लाग्छ ।।


~ पूर्ण भण्डारी 'पङ्कज' ~ 

Purna Bhandari 'Pankaj' 




डा. पूर्ण भण्डारी 'पङ्कज'

सल्यान

सङ्कल्पका शिखा (२०५७)