खराब यो बानी सबैमा सर्छ, नराम्रो कर्म गरिसके'सि।
तरबार छुरा भालाको चोट,उपचार हुन्छ, छुट्दैन दाग
मन चाहि एकै वचनले मर्छ, नराम्रो कर्म गरिसके'सि।
सबैका एउटै विचार हुन्नन्,सारा विचार स्वीकार्य हुन्नन्
अहम्'ले जहिल्यै नकाम गर्छ, नराम्रो कर्म गरिसके'सि।
ईर्ष्याको बाटो नलाग, लागे आफन्त पिर्छ चेत नजागे
परिणाम कालो कसरी टर्छ? नराम्रो कर्म गरिसके'सि।
“उषा”झैँ नरम रोशनी छर्न, नमान्नू शरम उपकार गर्न
दुर्दशा दिएर, भलाइ हर्छ नराम्रो कर्म गरिसके'सी।
~ उषा तिवारी ~
Usha Tiwari
नाम : उषा तिवारी (विष्णुदेवी तिवारी) ठेगाना: भरतपुर महानगरपालिका -३, नारायणगढ, चितवन आबद्धता: *भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान चितवन कलासंस्कृति संयोजक, *अध्यक्ष - प्रगतिशील लेखक सङ्घ चितवन, *सचिव- साहित्य सङ्गम चितवन। *सह-सचिव - छन्द काव्य प्रतिष्ठान नेपाल। |
थप गजलहरु
गजल १
नलेखिनुपर्ने कुरा लेखिएछन्।
रोक्दै-रोक्दै औंला पूरा लेखिएछन्।
आइलाग्ने माथि जाइलाग्नै पर्ने
जवाफमा भाला छुरा लेखिएछन्।
मर्नुपर्ने थियो हर श्वासमा उसले
काँप्दै थिए पाखुरा लेखिएछन्।
स्वतन्त्रता हर्ने बन्धनमा बाध्ने
सिन्दुर र पोते चुरा लेखिएछन्।
हिँड्दा -हिँड्दै भेटें विभत्स विजोग
सडकमा सुतेका टुहुरा लेखिएछन्।
हुने रैछ साथी मनैको नजाती
मनकै डम्फुसँगै मुजुरा लेखिएछन्
उषा उषा हुन्न सधैं जिन्दगानी
सम्साँझै सुन्दरी र सुरा लेखिएछन्।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गज़ल -२
म सिक्दैछु बाँच्ने कला के रहेछ।
नबोलेर हाँस्ने कला के रहेछ।
सिकायो बुझायो पढायो उसैले
नजाने नि नाच्ने कला के रहेछ।
यता अल्मलाइ उता अल्मलाइ
मनोभाव जाँच्ने कला के रहेछ।
दबाएर आशा लगाएर पाखा
मनै भित्र साँच्ने कला के रहेछ।
उषा हैन कम्जोर यो बुझ्नुपर्ने
उसै चित्त भाँच्ने कला के रहेछ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गज़ल -३
ऊ आफ्नै गतिमा उडिजाने गर्छ
मनमौजी पन्छी जहाँतहीँ चर्छ
नखोजे पिंजरा नथापे क्यै पासो
अनयासै उस्को स्वतन्त्रता मर्छ
नयाँ जिन्दगीको अध्याय लेख्न
छिचोल्दै क्षितिज ऊ उडान भर्छ
आफ्ना पराया को हुन् चिन्नलाई
केहीबेर चारो चरेको जस्तै गर्छ।
उषा झैं उज्यालो बाँडेर ज्योति
स्वाधीनताको महासागर तर्छ।
~ उषा तिवारी ~
Usha Tiwari
Usha Tiwari