पिंगल छन्दमा गजल

मिलन नाविक

छन्दको मूल ग्रन्थ छन्दःसूत्रम् (छन्दशास्त्र) हो | आचार्य पिंगल मुनिले अनुमानित ई.पु.४०० - ई.पु. २०० मा यसको रचना गरेका हुन्। त्यस पछि पनि छन्दको बिषयमा थुप्रै किताबहरु लेखिए पनि पिंगलकै नामबाट छन्दलाई पिंगल छन्द पनि भन्ने गरिन्छ।

नेपाली साहित्यमा छन्दको प्रयोग निकै पहिले देखि प्रयोग भएको हो । शार्दूलविक्रीडित छन्दमा रहेको "एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी" भन्ने आदिकविबाट लिखित रामायणमा भएको श्लोक नेपाली जनजिब्रोमा पहिले देखि नै बसेको हो। नेपाली गजलमा पनि बहर संग सँगै यदा कदा छन्दको प्रयोग देखिन्छ |

छन्द दुई प्रकारका हुन्छन: बर्णिक र मात्रिक। मात्रिक छन्दले प्रत्येक लाईनमा हुने मात्राको कुल संख्यामा ध्यान दिन्छ। बर्णिक छन्दले मात्राको संख्याको साथ साथै कुन क्रममा ह्रश्व वा दिर्घ लेख्ने त्यो पनि ध्यान दिन्छ । नेपाली साहित्यमा बार्णिक छन्दको बढी प्रयोग भएको देखिन्छ।

सामान्यतया तिन वटा बर्ण मिलेर गण बन्छ । गण/बर्णहरु जोडेर बर्णिक छन्द बन्छ ।

यमाताराजभानसलगा
यगण - यमाता 122
मगण - मातारा 222
तगण - ताराज 221
रगण - राजभा 212
जगण - जभान 121
भगण - भानस 211
नगण - नसल 111
सगण - सलगा 112
aaa

मात्रा कसरि गणना गर्ने ? 

ह्रश्व, लघु 1,।:अ, उ, इ, ऋ, कँ (चन्द्रबिन्दु), कृ 

11 कर कृप

111 प्रकृति

112 गँगटा


दीर्घ, गुरु, 2, ऽ: आ ऊ ई - ए, ऐ, ओ, औ, अं (अनुसार, शीरबिन्दु ), अः (विसर्ग) 

2 तै जी गी ले का ए रा कं

22 रोऍं मात्रा आफैँ आधी भन्दा प्रात: कक्षा पत्नी कन्या

21 कंश रक्ष दु:ख


(1) क्या - आधि क को हिसाब हुदैन, या गुरु (2) हो

(2) बन्द = ब (२), द (१)

(3) क्र / कर्म / हलन्त 

21 - बक्र, कर्म

221 - राजन्

121 - प्रसाद

(4) संयुक्त व्यंजन (श्र क्ष त्र ज्ञ)

21 - कक्ष 

(5) मत्स्य = म (१) त्स् (१) य (१)

* छन्दमा पाउ (चार लाईनको ) अन्तिम अक्षर ह्रश्व भएपनि दिर्घ मान्न सकिन्छ |

*गजलमा ध्वनीलाई महत्व दिईन्छ भने छन्दमा अक्षरलाई।  जस्तो “रहर” को मात्रा गजलमा गणना गर्दा “र” को १ र “हर” को २ हुन्छ। यसैलाई छन्दमा र-ह-र छुट्टा छुट्टै १११ गणना गरिन्छ।  छन्द मा “र” लाई आधि अक्षरको रुपमा गणना गर्ने हो भने हलन्त दिनु पर्छ।


प्रमुख नेपाली छन्दहरु
नेपाली वा संस्कृत छन्दहरुको प्रयोग गरेर गजलको काफिया र रदिफको संरचना नबिगारी गजल लेख्न सकिन्छ। 

भुजंगप्रयात (१२ बर्ण): चार ओटा यगण मिलेर यो छन्द बन्छ । यो छन्द बहरको "मुतकारिब मुसम्मन सालिम" सँग मिल्छ | नेपाली गजलमा सबै भन्दा बढी प्रयोग गरिएको छन्द वा बहर भनौँ यही नै हो। 

122,122,122,122

तिमीले चुमेको, अधरको निशानी 
यही प्रेम हो या रहरको निशानी ?
नभेटुन् मलाई, छु मेट्दै पखाल्दै
तिमी सम्म पुग्ने, सफरको निशानी 

* स्रग्विणी (१२ वर्ण): चार वटा रगण मिलेर यो छन्द बन्छ। यो छन्द बहरको "मुतदारिक मुसम्मन सालिम" सँग मिल्छ | 212,212,212,212

* पञ्चचामर छन्द (१६ वर्ण, ८ वर्णमा यति): पञ्चचामर छन्द 'ज र ज र ज + गुरु' गणबाट बन्दछ । यो गजलमा प्रचलित बहर "बहरे हजज मुसम्मन मकबुज" सँग मिल्दछ । मुफाइलुन्  (१२१२) रुक्नको चारपटक आवृत्ति हुँदा यो बहर बन्दछ ।
1212,1212 / 1212,1212

माधवमालती (१६ बर्ण): चार वोटा २१२२ मिलेर यो छन्द बन्छ। यो छन्द बहरको "बहरे रमल" सँग मिल्छ | 2122,2122,2122,2122

अनुष्टुप छन्द (८ /१६ वर्ण): यो संस्कृत साहित्यमा सबभन्दा बढी प्रयोग लचिलो भएको छन्द हो। यसमा हरेको पदको पाँचौँ, छैठौँ, र सातौँ शब्दमा लघु गुरुको नियम लाग्छ। अरु स्वतन्त्र छन्।
xxxx 122x / xxxx 121x

इन्द्रवज्रा छन्द (११ वर्ण): 221,221,121,22

आशा, रहर मै छु समेटिएको 
हूँ एक् कहानी म नलेखिएको
हाँगाहरूमै पनि बस्न सक्थ्यो
ऊ फूल मै हो किन भेटिएको 

शार्दूलविक्रीडित (१९ बर्ण , ७ र १२ मा यति): 222, 112, 121,112, 221,221,2
मन्दाक्रान्ता (१७ वर्ण, चौथो , दशौँ र सत्रौँ अक्षरमा विश्राम): 222, 211, 111, 221, 221, 22
शिखरिणी (१७ वर्ण): 122,222,111,112,211,12
तोटक (१२ वर्ण) 112,112,112,112
* शालिनी (११ बर्ण ): 222,221,221,22
द्रुतविलम्बित (१२ वर्ण) 111,211,211,212
वंशस्थ (१२ वर्ण) 121, 221, 121, 212
* मालिनी (१५ बर्ण ): 111,111,222,122,122