गजल समीक्षा १ - सराब गजलसङ्ग्रह (२०८१)

 

समीक्षक रमेश प्रभात
नेपालीगजल.कम 

सराब गजलसङ्ग्रह (२०८१)
कृष्णजी, के गजल भनेको सराब र शबाब मात्रै हो त ?

पाठकवृन्द, यतिबेला मेरो हातमा गजलकार कृष्ण काश्यपको ‘सराब’ गजलसङ्ग्रह (२०८१) छ । यो उनको दोस्रो गजलकृति हो र यसभित्र ९५ वटा गजलहरु समाविष्ट छन् । यसमा समाविष्ट चारवटा गजल मात्र पाँच सेरका छन् भने बाँकी ९१ वटा गजल चार चार सेरका छन् । यसरी हेर्दा तिनमा गजलको सिद्धान्त कति लागू भयो ? भनेर प्रश्न उठाउन सकिन्छ । जे भए पनि स्रष्टा पब्लिकेशन, झापाले यो कृति प्रकाशन गरेर नेपाली गजलको भण्डार भर्ने काम गरेकोमा त्यसलाई नमन गर्छु म ।

पाठकवृन्द, गजलकार कृष्ण काश्यपले आफ्नो कृतिको पछिल्लो आवरणमै ‘सराबी सेरहरु’ भनेर कृतिभित्रबाट पाँचवटा सेरहरु साभार गरेका रहेछन् । यो उनको कृतिप्रतिको लगाब मात्र होइन, कृतिको शीर्षकका बारेमा पुष्टि पनि हो । आवरण हेरेपछि मलाई के कृति सराबकै बारेको हो त ? भन्ने कुतुहल जागेको थियो । सर्सर्ती कृति पढेँ । कृतिभित्रका जम्मा ९५ वटा गजलमध्ये पहिलो गजल र छब्बीसौँ गजल पूरै सराबका विषयमा केन्द्रित रहेछन्, यसर्थ ती दुई गजल सराब विषयक मुसलसल गजल हुन् भन्ने निष्कर्ष हो मेरो । बाँकी गजलमा पनि कतै न कतै सराबका बारेमा चर्चा गरिएको रहेछ । त्यसको पुष्टि यसरी गर्न चाहन्छु म :

पाठकवृन्द, हेरौँ है त ‘सराब’ गजलसङ्ग्रह पहिलो गजल :

“पिउनेलाई बानी हुन्छ नपिउनेलाई कुलत हुन्छ
पिएपछि मात्रै मलाई जिउन ठुलो मद्दत हुन्छ ।

मूलबाटो नै सबै मेरो भन्ने गरी चाहिँदैन
थोरै घाँटी भिजे पनि यो ज्यानलाई राहत हुन्छ

छुटाइदिएँ मानिसको भीडबाट आफूलाई
सराबको बोतलसँग मात्रै मेरो सङ्गत हुन्छ

हिजो आज मदिरामा पानी मिसाउँदिनँ
किनभने मदिराको पनि आफ्नै इज्जत हुन्छ ।” (पृ. १)

अनि नि पाठकवृन्द, उनी उनको छब्बीसौँ गजलमा पनि पूरै सराबमा केन्द्रित भएका छन् । हेरौँ न त त्यो गजल पनि :
“बेहोसीमा पुग्नु अघि मदिरा नि तेजाब हुन्छ
पिलाइदिने उनी भए तेजाब नि गुलाब हुन्छ

दिउँसो बुझ्न सकिएन भने साँझ साथ देऊ
सबले पढ्न सक्ने ऊ यौटा खुल्ला किताब हुन्छ

आफैँसँग डराएर लुकी लुकी हिँड्ने मान्छे
खुल्लमखुल्ला महफिलमा पूरै बेनकाब हुन्छ

हेराइमा भ्रम हुनेले फूलमा पनि काँडा देख्छ
पिउने मान्छे मात्रै कहाँ यहाँनेर खराब हुन्छ ।” (पृ. २६)

पाठकवृन्द, यी त भए पूरै सराबमा केन्द्रित गजलहरु । यी दुई गजलले सराबका पक्षमा आफूलाई मुखरित गरेका छन् भने उनका अन्य गजलका केही सेरमा सराबका पक्षमा बोलेका छन् । ती कतै आफैँ सराबी भएर, कतै बाबुलाई सराबी बनाएर र कतै सराबलाई आफ्नो जीवनको ध्यानसँग पनि तुलना गरिएका छन् । हेरौँ कृतिभित्रका अन्य केही सराबी सेरहरु र तिनको प्रयोगको सन्दर्भ पनि :

१. सराबको बोतललाई पुस्तकसँग तुलना गरिएको उदाहरण :
“सराबको बोतलले सजिएको छ पुस्तकालय
यो उसको मनपर्ने विषयको अध्ययन हुन सक्छ ।” (पृ. ७)

२. पिउँदिन भन्ने बाचा गरे पनि साँझ परेपछि रक्सीको तलतल लाग्ने सन्दर्भ :
“अब नपिउँ भन्ने कुरा दिनै बारम्बार हुन्छ
तर पनि किन मलाई साँझ पर्ने हतार हुन्छ ।” (पृ. १६)

३. एउटा सराबी काम नपरी नउठ्ने कुराको खुलासा :
“कि भट्टीमा हुन्छु कि त घाटमा हुन्छु सधैँ
म उठ्दिनँ उठ्नै पर्ने कुनै जरुरत बाहेक ।” (पृ. १७)

४. एक जना सराबमा भुल्नेलाई भट्टी पसल नै सबथोक भएको कुराको पुष्टि :
“हाँस्ने, रुने, नाच्ने, गाउने, पीर–व्यथा भुलाउने
साइँलीको भट्टी पसल मेरो लागि मन्दिर भयो ।” (पृ. ३२)

५. दुःखमा साथ दिने रक्सीलाई छुटाउन चाहेको कुरा :
“दुःखमा त साथ दियो यो रक्सीले मलाई
तर अब रक्सीलाई छुटाई दिएँ पीरबाट ।” (पृ. ३६)

६. आफन्तले मरेको ठानेर छाडे पनि आफू रक्सी पिएर बाँचेको वर्तमानको चित्रण :
“मर्‍यो भनी छोडी गए आफ्ना भन्नेहरुले नै
आजसम्म रक्सी पिएँ र बचाएँ आफूलाई ।” (पृ. ४३)

७. मदिराको प्याला बोकेर खोलामा हाम फाल्दा पनि सकुशल पारि पुगेको अचम्म लाग्दो घटनाको मार्मिक चित्रण :
“मदिराको प्याला बोकी खहरेमा हामफाल्दा
अचम्मै पो माने सबै मैले खोलो तरेपछि ।” (पृ. ४५)

८. पिउने मान्छे सद्दे र बाँकी सबैलाई हावा देख्ने सराबीको धारणा :
“सबै मान्छे हावा रै छन् पिउने भन्दा बाहेकका
भन्ने लाग्यो हिजोको गफ रेकर्ड गरेपछि ।” (पृ. ४५)

९. एउटा सराबीलाई बेहोसीमा पुर्‍याउन कि त सराब कि त प्रेमिका चाहिने विचार :
“बेहोसीमा पुर्‍याउनु यदि छ भने मलाई
कि त तिमी कि त मद्यपान हुनुपर्छ ।” (पृ. ४९)

१०. पुरानो रक्सीको महत्व हुने कुराको चित्रण :
“अघिल्लै युगको चट्टान र मलाई हेरेर होला
रक्सी बनाउनेले सुरुमै पुराना बनाउँछन् ।” (पृ. ६६)

११. कसैले भरेर दिएको सराबको गिलास बाटोबाटै हराएको अवस्थाको चित्रण :
“म कहाँ आइपुगेन कसरी बाटैमा हरायो
तिमीले भरेको गिलास कस्ले गिरफ्तार गर्‍यो ।” (पृ. ७०)

१२. सराब पिएर मातेको बेला एक्लै हराउन चाहनेको विचार :
“आधीबाटो सम्म छोड्नु घर कहिल्यै नपुर्‍याउनु
हराउन चाहन्छु म मैले पिएँ भने कतै ।” (पृ. ७४)

१३. घरको मुली भएको बाबुले रक्सी पिउनका लागि घरको अन्न भट्टीमा लगेर बेच्ने, तर आमाले बालबच्चाका लागि जसरी पनि भातको जोहो गर्नुपर्ने दारुण अवस्थाको चित्रण :
“भएको अन्न भट्टीमा पुर्‍याउने गर्छ बाउले
जसरी पनि आमाले भात चैँ बसाल्नु पर्छ ।” (पृ. ८१)

१४. एउटा सराबीका लागि सराब नै सिर्जनाको साधन र भट्टी पसल सिर्जनास्थल भएको अलग विचारको प्रस्तुति :
“छिनो भन्नु मार्तोल भन्नु सराब हो मेरा लागि
भट्टीभित्र आफूलाई बनाउने भएको छु ।” (पृ. ८४)

१५. रक्सी पिउन छाडेको घोषणा गरे पनि त्यो आफ्नै लागि बनेको धारणा राख्दै पुनः सुरु गर्ने सन्दर्भ :
“भन्दाखेरी अहिले म पिउने काम छोडिसकेँ
फेरि यसो सम्झ्यो यो मेरै लागि बनेको हो ।” (पृ. ८७)

१६. मान्छे बन्न चाहनेलाई यो समाजले उखु निचोरेर रक्सी बनाएजस्तै बनाउन सक्ने सुझाव र व्यङ्ग्य प्रहार :
“मान्छे बन्ने यो दौडमा नलाग है बाबु तिमी
बनाउलान् रक्सी फेरि उखु निचोरेर यहाँ ।” (पृ. ८९)

१७. हतारमा रक्सी पिउनेसँग डराउनुपर्ने तर आनन्दले पिउनेसँग डराउन नपर्ने सराबी दर्शन :
“नडराउनु त्योसँग जो पिउँछ आनन्दले
जो केबल थप्छ मात्रै अब होसियार हुनु ।” (पृ. ९१)

यसरी सर्सर्ती अध्ययन गर्दा ‘सराब’ गजलसङ्ग्रहका पहिलो र छब्बीसौँ गजलका पूराका पूरा चारै सेर र अन्य गजलबाट साभार गरिएका यी सत्रवटा गरी जम्मा पच्चीसवटा सेर त सराबका बारेमा मात्रै रहेछन् । कृतिभित्रको कूल २८० सेरमा पच्चीस सेर एउटै विषयमा रचिनु भनेको करिब दश प्रतिशत स्थान ओट्नु हो । यसले के देखाउँछ ? यसर्थ यो ‘सराब’ गजलसङ्ग्रह खासमा सराबकै विषयमा लेखिएको कृति हो भन्ने निष्कर्ष हो मेरो पनि ।

पाठकवृन्द, सराबका बारेमा तपाईंचाहिँ के ठान्नुहुन्छ ? म त यसका बारेमा तटस्थ छु, तर पनि लेखकलाई एउटा प्रश्न भने राख्न चाहन्छु, “कृष्णजी, के गजल भनेको सराब र शबाब मात्रै हो त ?” के मैले बढे बोलेँ र ? बढी बोलेको भए माफ पाऊँ ल ।

अनि अन्त्यमा लेखकलाई सम्बोधन गर्दै यत्तिचाहिँ भन्छु : कृष्णजी, म यहाँलाई यहँको कृतिको अपार सफलताको कामना गर्छु । झापादेखि सम्झेर कृति पठाउनु भएछ । नत्र त कहाँ पढ्न पाइन्थ्यो र ? कलम रोक्नुअघि यहाँको एउटा सेर सापटी लिँदै आगामी कृतिमा सामाजिक विषयवस्तुको यस्तै मार्मिक सेरहरु पढ्न पाऊँ ल :

“मैले जम्मा एकचोटी काँध लाएँ बुवालाई
कैले झरेँ याद छैन म बुवाको काँधबाट ।” (पृ. ९०)

नेपाली गजल डट कमको यस गजल समीक्षा खण्डको सम्पादन गजलकार तथा समीक्षक रमेश प्रभातले गर्नु हुन्छ। उहाँ वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा उपप्राध्यापकको रुपमा सेवारत हुनुहुन्छ।