• सम्पादकीयः सिर्जना र बहस

मेरो शिशु अक्षरयात्रामा एकजना रोचक मित्र केही वर्षदेखि सहयात्री हुनुहुन्छ । पढ्दै गर्दा अस्तित्वको जरा हल्लाउने शक्तिशाली गजलमार्फत मैले उहाँलाई चिनेको हुँ । उहाँको हरेक गजल पढेर मलाई लाग्थ्यो, यही नै गजल विधाको सर्वोच्च नमुना हो । भाषिक अभिव्यक्तिको यति तीक्ष्ण, तिख्खर र मनोहारी सौन्दर्य सायदै अन्य सिर्जनामा भेट्न सकिएला । तर उहाँकै प्रत्येक उत्तरवर्ती सिर्जनाले मलाई गलत साबित गरिदिन्थ्यो र त्यो सर्वोच्चताको विस्तार हुँदै जान्थ्यो । मलाई लाग्थ्यो, उहाँ गजलकै लागि जन्मिनुभएको हो या त गजल विधा खासमा उहाँकै लागि जन्मिएको हो । त्यो कलम एउटा आदर्शका रूपमा मनमस्तिष्कमा स्थायी भयो । अक्कलझुक्कल सामाजिक सञ्जालमा गजलबारे दुईचार शब्द बोले पनि उहाँ गजलमाथि हुने रौँचिरा बहस र पाण्डित्यप्रदर्शनमा कहिल्यै सहभागी हुनुभएन । कहिलेकाहीं म आफैले सञ्जालमा प्रकाशन गर्ने गजलमा उहाँको नजर नपरे हुन्थ्यो भन्ने लाग्थ्यो, एक प्रकारको लघुताभाष र लाजले । र पनि त्यसमा आउने उहाँको छोटो तर सकारात्मक टिप्पणीले मन कपास हुन्थ्यो । बहसप्रतिको उहाँको उदासीनताले केही पाठक र शुभचिन्तकलाई कहिलेकाहीं लाग्थ्यो, सायद उहाँ गजलको सर्वाङ्ग शल्यक्रिया गर्ने सामर्थ्य राख्नुहुन्न या सैद्धान्तिक जोड़घटाउमा उहाँको गणितज्ञान पर्याप्त छैन । मलाई पनि लाग्थ्यो उहाँ अलि बढ़ी सरिक भइदिए हुने छलफलहरूमा, तर मेरो ब्रह्मले उहाँको प्रखर सिर्जनशीलतामाथि कहिल्यै प्रश्न उठाएन । त्यसै पनि उहाँका हरेक गजल आफैमा हजार प्रश्नको उत्तर हुन्थ्यो । ज्ञान आफैमा पग्लेर शिलाजीत बग्थ्यो ती सिर्जनामा ।

समय बित्दै गयो र बिस्तारै गजलमाथिका बहस, वादविवाद र छलफलमा उहाँको उपस्थिति बाक्लिँदै गयो । उहाँका तर्कहरू यतिसम्म जादूमयी र अकाट्य हुन्थे कि बहसको एउटा थ्रेडको लागि ती पूर्णविराम नै हुन्थे । तिनमाथि प्रतिवादका लागि ठूलै अध्ययन, अनुभव र सहजज्ञान चाहिन्थ्यो, जुन धेरैमा थिएन । धेरैले थाहा पाए, अद्भुत सृजनाशक्तिसँगसँगै उहाँमा असीमित तर्कशैली र घनीभूत सैद्धान्तिक ज्ञान पनि रहेछ । समयको एउटा कालखण्डमा गजलमाथिको बहस उहाँकै केन्द्रीयतामा अघि बढ्यो । उहाँका रूचि, लगान, अध्ययन, तर्ककौशल र प्रस्तुतिमा प्रौढ़ताको विकास हुँदै गयो । भीड़मा एक्लै पनि चिनिनसक्ने उहाँ धेरै सङ्गठनमा आबद्ध हुनुभयो ।

तर मैले सोचेजस्तो भएन । जुन क्षण र जुन प्रहरबाट मैले उहाँलाई बहसतिर छिप्पिँदै गरेको भेट्न थालेको थिएँ त्यही बिन्दुबाट उहाँको गजल वाचन गर्ने अवसर पातलो हुँदै गयो । यतिन्जेल मेरो आफ्नै ज्ञान, अनुभव, चेतना र अपेक्षा हुर्किसकेकाले हो या उहाँभित्रको सिर्जनशीलताको धार भुत्ते हुँदै गएर हो, बिरलै आउने गजलले पनि खासै छाप राख्न सकेनन् । सायद उहाँ आफैलाई पनि आफ्नो बौद्धिक छवि र रचनाबीच तारतम्य या तादात्म्यबोध नभएर होला, उहाँको सिर्जना क्रमश: अल्पविराम, अर्द्धविराम र पूर्णविरामको दिशामा अघि बढ्यो । र, यसरी एउटा सर्जकको अन्त्येष्टिमा म मूक मलामी बनेर उभिइरहेँ ।

यो भोगाइले मलाई एउटा अनुभव दिलायो । सिर्जनशीलता जिउँदो भइन्जेल मान्छे सिर्जनाकर्ममैं रमाउँदो रहेछ । उसका सिर्जनाहरू उसका तर्क, ज्ञान, बौद्धिकता र क्षमताका संयुक्त प्याकेज हुने रहेछन् । बहस त उसका सिर्जनाले पो गर्दा रहेछन् । सिद्धान्त त उसका रचनाले बनाउँदा रहेछन् । बाटो नयाँ होस् या पुरानो, कोर्ने काम सिर्जनाकै रहेछ । तर जब ऊभित्रको सिर्जनशीलता सकिँदै जान्छ, बिस्तारै ऊ बहस र समीक्षातिर सोझिँदै जाँदो रहेछ । मैदानमा टिकिरहने लालसाको पूर्तिका निम्ति ऊ यस्तो लेख्नुपर्छ भन्ने ठोस र जीर्ण मान्यता बोकेर सङ्गठन गर्नतिर लाग्दो रहेछ । जसरी जीवनमा अन्य कुनै योग्यता र क्षमता नभएपछि मान्छे राजनीतितिर लाग्छ ।

 

मभित्र उहाँलाई लिएर आज पनि एउटा प्रश्न बाँकी छ, उहाँ सिर्जनशीलताको रस सकिएर यो शुष्क बहसतिर लाग्नुभो या बहसको शुष्कताले उहाँको सिर्जनशीलतालाई सुकाउँदै लग्यो ?